गण्डकीका २१ पालिकामा महिलाले उपाध्यक्ष पनि पाएनन्, ३ पालिकामा प्रमुख

पोखरा । अघिल्लो निर्वाचनबाट गण्डकी प्रदेशका ६ पालिकामा महिला प्रमुख निर्वाचित भएका थिए । हुप्सेकोट, पुतलीबजार, दुधपोखरी, धवलागिरी, म्याग्दे र कावासोतीको प्रमुख महिला थिए । यसपालिको स्थानीय तह निर्वाचनबाट गण्डकी प्रदेशभित्र महिला नेतृत्व निकै खुम्चिएको छ ।

अहिले पालिका प्रमुखमा ३ जना मात्रै महिला निर्वाचित भए । नवलपुरको हुप्सेकोट गाउँपालिकामा कांग्रेसबाट लक्ष्मी पाण्डे, पर्वतको मोदी गाउँपालिकामा एमालेबाट हिरादेवी शर्मा र बागलुङको बडिगाढ गाउँपालिका अध्यक्षमा कांग्रेसकै गण्डकी थापा अध्यक्षमा चुनाव जितेका हुन् । प्रदेशभरीमा ४१ जना महिलाले पालिका प्रमुखमा उम्मेदवारी दिएका थिए ।

गण्डकीका ८५ मध्ये २१ वटा स्थानीय पालिकामा महिलाले उपप्रमुख समेत गुमाएका छन् । ति पालिकाहरूमा प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका छन् । अधिकांश गठबन्धन गरिएका पालिकाहरूमा यस्तो नतिजा आएको छ । गोरखा, स्याङजा, नवलपुर र कास्कीका सबै पालिकामा महिला उपस्थिति छ ।

नवलपुरको हुप्सेकोटमा अध्यक्ष महिला हुँदा उपाध्यक्ष पुरुष छन् भने अरु सबै पालिकामा पुरुष प्रमुख र महिला उपप्रमुख छन् । सबैभन्दा बढी महिलाको उपप्रमुख खोसिएको बागलुङमा हो । ढोरपाटन, गलकोट, ताराखोला, निसिखोला, काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र बरेङमा प्रमुख उपप्रमुख नै पुरुष छन् । बडिगाढमा महिला प्रमुख र पुरुष उपप्रमुख हुँदा तमानखोलामा पुरुष प्रमुख र महिला उपप्रमुख छन् । मनाङका कुनैपनि पालिकामा अध्यक्ष वा उपाध्यक्ष महिला छैनन् । तनहुँका ३, लमजुङका ३, पर्वत, म्याग्दी र मुस्ताङका १÷१ पालिकाको नेतृत्वमा महिला शून्य छन् ।

प्रमुख र उपप्रमुख मात्रै होइन, वडाध्यक्षमा पनि महिलाको उपस्थिति निकै न्यून छ । यहाँका ७५९ वडामध्ये १८ वडामा मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् । गण्डकीका केही गाउँपालिका यस्ता पनि छन्, जहाँ महिला र दलित महिला सदस्य पद खाली भएको छ । हिमाली जिल्लाका २७ वडामा दलित महिला सदस्य र एउटा वडामा महिला सदस्यको पद रिक्त भएको छ । गोरखाको चुमनुब्री १, ४, ५, ६ र ७ नम्बर वडामा दलित महिला सदस्य छैनन् ।

मनाङको नार्पाभूमी १ मा महिला र दलित महिला सदस्य छैनन् । दलित महिला सदस्य त यो गाउँपालिकाको कुनैपनि वडामा छैनन् । मनाङ ङिस्याङको १, २, ७ र ८ नम्बर वडामा पनि दलित महिला सदस्य छैनन् । नासोंको २, ३, ६ र ७ मा दलित महिला सदस्य छैनन् ।

मुस्ताङको लोमान्थाङमा दलित महिला सदस्य निल भएका छन् भने लो घेकर दामोदर कुण्ड गाउँपालिकाको २ नम्बर वडाबाहेक अरु वडामा दलित महिला सदस्य छैनन् । महिलाहरूलाई राजनीतिमा कम चासो हुने र राजनीति गर्नेलाई पनि पुरुषले नेतृत्वमा रोक्ने गरेका कारण समस्या भएको सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *