कञ्चनपुरको वेदकोटमा भत्कियो एमालेको गढ, कांग्रेस विजयी

धनगढी । एमालेको गढ मानिएको कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । ०७४ सालमा एउटा वडामा मात्र सीमित भएको कांग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हो ।

नगरपालिकाको मेयरमा कांग्रेसका भोजराज बोहरा विजयी भएका छन् । उनले ८०७८ मत प्राप्त गर्दै विजयी हासिल गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सुशीला सिंहले ४७४० मत प्राप्त गरिन् ।

माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३८९८ र राप्रपाका बमबहादुर बमले १७५१ मत पाए ।

उपमेयरमा पनि कांग्रेसकै तुलशी जोशी विजयी भएकी छिन् । उनले ७२५४ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५७२७ मत र गठबन्धनबाट माओवादीकी हिरा जैशीले ३६५२ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा बोहरा र जोशी एमालेका अशोक चन्द र सुशीला सिंहसँग पराजित भएका थिए ।

यस्तै, गत निर्वाचनमा एक वडा मात्रै जितेको नेकपा माओवादी केन्द्रले यसपटक २ वडामा जितेको छ । नेकपा एकीकृत समाजवादीले पनि १ वडामा जित हाँसिल गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *