कहाँ जान्छन् निर्वाचनमा प्रयोग भएका मतपेटिका ?

आगामी प्रदेश तथा संसदीय चुनावका लागि मतपेटिका किन्नु नपर्ने

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा गर्ने भनिएको संसदीय निर्वाचनका लागि मतपेटिका किन्नु नपर्ने गरी तयारी गरिसकेको जनाएको छ । आयोगले प्रत्येकजसो निर्वाचनमा ‘ड्यामेज’ भएका बाहेक काम लाग्ने सबै मतपेटिकाहरू अर्को निर्वाचनमा प्रयोग गर्दै आएको पनि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मकालु खबरलाई बताए ।

‘यो निर्वाचनमा करिब ३० हजार मेतपेटिका प्रयोग भएको छ,’ उनले भने, ‘यी सबै पहिले नै प्रयोग भएका मतपेटिका हुन् । २०७४ मै प्रयोग भएकै मतपेटिका हुन् ।’

यो स्थानीय निर्वाचनमा २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको थियो । यी मतदान केन्द्रमा ५ सयसम्म मतदाताका लागि एउटा मतपेटिका र ५ सयभन्दा बढी मतदाता भएका केन्द्रका लागि २ वा सोभन्दा बढी मतपेटिका प्रयोग भएको उनले बताए । मतपत्रको ‘साइज’का आधारमा पनि कति मतपेटिका लाग्ने भन्ने कुराको भरपर्ने उनले बताए ।

‘स्थानीय तह अनुसार मतपत्रको संख्या पनि साना/ठूला हुने गरेका छन्,’ उनले भने, ‘मत पत्र ठूलो छ भने बढी संख्यामा मतपेटिका चाहिन्छ, साना भने कम मतपेटिका लाग्छ ।’

२०७४ को निर्वाचनपछि आयोगले जम्मा २५ हजार थान मतपेटिका किनेर प्रयोग नगरी (जगेडा) राखेको प्रमुख आयुक्त थपलियाले बताए ।

‘कहिलेकाहीँ मतपत्र कुनै कारणवश ठूलो संख्यामा अपुग भएको अवस्थामा प्रयोगमा ल्याउनका लागि २५ हजार मतपेटिका किनिएको हो,’ उनले भने, ‘आगामी संसदीय निर्वाचनमा एउटा मतदान केन्द्रका लागि कम्तीमा ४ ओटा मतपेटिका चाहिन्छ ।’

संघीय संसदअन्तर्गन प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ एउटा मतपेटिका प्रयोग गरिन्छ । त्यस्तै, प्रदेशतर्फ प्रत्यक्षका लागि १ र समानुपातिका लागि १ गरी ४ एउटा केन्द्रमा कम्तीमा ४ ओटा मतपेटिका आवश्यक हुन्छन् ।

‘संसदीय निर्वाचनका लागि बढी मत पेटिका चाहिन्छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘तर आयोगसँग पर्याप्त मतपेटिका रहेकोले अब अरू किन्नुपर्ने आवश्यकता छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + ten =