गण्डकीका १० पालिका प्रमुखः जोसँग हिजो हारे, उसैलाई आज हराए

पोखरा । गण्डकी प्रदेशमा दोहोर्याएर उम्मेदवारी दिएकामध्ये केही प्रतिस्पर्धा रोचक आएको छ।

गण्डकी प्रदेशभरि ४२ जना प्रमुखमा उम्मेदवार दोहोरिएकोमा १० पालिका प्रमुखले हिजो आफूलाई हराएकै उम्मेदवारलाई आज आफैले हराएर विजयी भएका छन्। अघिल्लो चुनावमा गोखराको गोरखा नगरपालिकामा माओवादीका कृष्ण रानालाई भारी मतले हराएर विजयी भएका कांग्रेसका राजनराज पन्त भारी मतले उनै रानासँग पराजित भएका छन्।

धार्चे गाउँपालिकामा तत्कालीन नयाँ शक्ति (हाल माओवादी केन्द्र)का उम्मेदवार लक्ष्मण गुरुङलाई निकै कम मतान्तरले पराजित गरेका कांग्रेसका सन्तबहादुर गुरुङ भारी मतले उनै गुरुङसँग पराजित भएका छन्। गुरुङ नयाँ शक्तिबाट चुनाव लड्दा दोश्रो भएका थिए। उनी माओवादी छिरेपछि माओवादी तेश्रोबाट सिधै पहिलो पार्टी बनेको हो।

गण्डकी गाउँपालिकामा माओवादीकै दीपक तिमिल्सीनालाई हराएर अध्यक्ष बनेका कांग्रेसका होमबहादुर रानाले आफ्नो विरासत अहिले जोगाउन सकेनन् र उनै तिमिल्सीनासँग नराम्रोसँग पराजित भएका छन्। गोरखाकै पालुङटार नगरपालिकामा माओवादीका विवश चिन्तनलाई मेयरमा हराएर चुनाव जितेका कांग्रेसका दीपकबाबू कँडेल अहिले उनै चिन्तनसँग पराजित भए।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेको गढ भत्काएर एक मात्रै पालिका प्रमुख जितेका कांग्रेसका युवराज कुवँर अहिले पराजित भएका छन्। संयोग कस्तो पर्यो भने, हिजो युवराजले हराएकै एमाले उम्मेदवार विष्णु केसीले भारी मतका साथ अहिले कुवँरलाई हराइदिए। तनहुँको म्याग्दे गाउँपालिकामा एमालेका श्रीप्रसाद श्रेष्ठलाई हराएर चुनाव जितेकी कांग्रेसकी माया राना अहिले उनै श्रेष्ठसँग अध्यक्षमै पराजित भइन्।

स्याङजाको पुतलीबजारमा कांग्रेसका तुलसी रेग्मीलाई चुनाव हराएर मेयर बनेकी एमालेकी सीमा क्षेत्री उनै रेग्मीसँग यो चुनावमा नराम्रोसँग पराजय व्यहोर्न पुगिन्। म्याग्दीको मालिकामा एमालेका बेगप्रसाद गर्बुजालाई हराएर अध्यक्ष बनेका कांग्रेसका श्रीप्रसाद रोका अहिले उनै गर्बुजासँग पराजित भए।

बागलुङ नगरपालिकामा कांग्रेसका बसन्त श्रेष्ठलाई हराएर मेयरमा निर्वाचित एमालेका जनकराज पौडेल अहिले उनै श्रेष्ठसँग हारेका छन्। पर्वतको फलेबास नगरपालिकामा कांग्रेसका गंगाधर तिवारीलाई हराएर मेयर बनेका एमालेका पदमपाणी शर्मा अहिले उनै तिवारीसँग पराजित भए।

यो चुनावमा थप केही रोचक अरू नतिजा पनि आएको छ। बागलुङको जैमिनी नगरपालिकामा कांग्रेसकै उम्मेदवारसँग पराजित भएका जनमोर्चाका नरबहादुर पुन अहिले कांग्रेससँगै मिलेर मेयरमा निर्वाचित भएका छन्। गोरखाको अजिरकोट गाउँपालिकामा पहिले चुनाव हारेका माओवादीका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले अहिले सेटै चुनाव जितेका छन्।

भीमसेन थापा गाउँपालिकामा पनि पहिले अध्यक्षमा पराजित माओवादीका लोकप्रसाद बन्जारा अहिले विजयी भएका छन्। लमजुङको दोर्दी गाउँपालिकामा यसअघि अध्यक्ष चुनाव लडेर पराजित भएका कांग्रेसका विच्छबहादुर घले अहिले उपाध्यक्षमा भारी मतका साथ विजयी भएका छन्।

कास्कीको मादी गाउँपालिकामा कांग्रेसका देवीजंग गुरुङ पहिले भारी मतले पराजीत भएर अहिले भारी मतले चुनाव जिते। तनहुँको देवघाटमा माओवादीका पहिले अध्यक्ष उम्मेदवार भएर पराजित भुवनसिंह गुरुङ अहिले कांग्रेससँग मिलेर उपाध्यक्षमा चुनाव जिते। नवलपुरको देवचुली नगरपालिकामा यसअघि उम्मेदवारी दिएर पराजित एमालेका हरिप्रसाद न्यौपाने अहिले चुनाव जिते।

यसअघि, मध्यविन्दु नगरपालिकामा मेयरमा पराजित एमाले उम्मेदवार भीमलाल अधिकारीले अहिले मेयरमै चुनाव जितेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *