प्रदेश १ को अंकगणित : खुम्चिएको एमाले, तंग्रिएकाे कांग्रेस, चौका हान्ने माओवादी

विराटनगर । प्रदेश १ का धेरै जिल्लाको मत गणना सकिँदै गर्दा परिणम रोचक बन्दै गएको छ ।

यसअघि एमालेले जितेका पालिकामा कांग्रेसले बाजी मारेको छ भने कांग्रेसले जितेका पालिकाहरूमा एमाले तथा अन्य दलहरूले किल्ला गाडेका छन् । १३७ पालिकाहरू मध्ये सबैभन्दा धेरै पालिकाको प्रमुख नेपाली कांग्रेसले विजय हाँसिल गरेको छ । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले ३८ पालिकाको प्रमुख जित्दा नेकपा एमालेले १९ र नेकपा माओवादी केन्द्रले १२ पालिकाको प्रमुख प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक–एक पालिकामा विजयी भएका छन् । प्रदेश १ मा दुईवटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो परिणामअनुसार ६४ पालिकामा अहिले पनि मत गणना जारी रहेको र केही पालिकामा मत परिणाम घोषणा अन्तिम तयारी भइरहेको आयोगले जनाएको छ ।

कांग्रेसलाई मौकामा चौका
नेपाली कांग्रेसले ताप्लेजुङको फुङलिङ नगरपालिका, मिक्वाखोला, मेरिङदेन र सिरिजङ्गा गाउँपालिका जितेको छ । पाँचथरको कुम्मायक, तुम्मेवा, फालेलुङ, फाल्गुनन्द, याङ्बरक र हिलिहाङ गाउँपापलिका विजयी भयो । इलामको चुलाचुली र सन्दकपुरमा कांग्रेसले विजय हाँसिल गरेको छ ।

संखुवासभाको चिचिला, पाँचखपन, सभापोखरी, सिलिचोङ र मकालु गाउँपालिका निर्वाचित भयो । त्यस्तै भोजपुरको अरुण र टेम्केमयुँ गाउँपालिका र भोजपुर नगरपालिका कांग्रेसले कब्जा गरेको छ । तेह्रथुमको आठराई र फेदाप गाउँपालिका तथा लालीगुराँस नगरपालिका कांग्रेसले जितेको छ । धनकुटाको छथर जोरपाटी, साँगुरीगढी गाउँपालिका सहित पाख्रिबास र महालक्षी नगरपालिकामा कांग्रेसले कब्जा गरेको छ ।

यी सबै पालिका यस अघि नेकपा एमालेले विजय हाँसिल गरेको पालिका हुन् । सोलुखुम्बुको ४ वटा पालिका पनि कांग्रेसले जितेको छ । नेचा सल्यान, महाकुलुङ, लिखुपिके र सोताङ गाउँपालिका सोलुखुम्बुमा कांग्रेसले जित हाँसिल गर्दा खोटाङको ४ वटा पालिका कोपिलासगढी, बराहपोखरी, रावाबेशी र साकेला गाउँपालिकामा कांग्रेस विजयी भयो । ओखलढुंगाको चम्पादेबी र शिद्धिचरण नगरपालिका नगरपालिका पनि कांग्रेसले जितेको छ । मोरङको एउटा मिक्लाजुङ गाउँपालिकामा पनि कांग्रेसले खाता खोलेको छ ।

गुमेको एमाले
नेकपा एमाले २०७४ सालको निर्वाचन भन्दा केही खम्चिएको छ । ताप्लेजुङका ३ वटा पालिका आठराई त्रिवेणी, पाथिभरा याङ्बरक र सिदिङ्वा गाउँपालिका जितेको छ । नेकपा एमालेले पाँचथरमा एउटा पालिकामा पनि विजय हाँसिल गर्न सकेको छैन । इलामको माङ्सेबुङमा जित हाँसिल गर्दा संखुवासभाको भोटखोला र माढी नगरपालिकामा विजयी भएको छ ।

भोजपुरको हतुवागढी र पौवादुङ्मा गाउँपालिका र षडानन्द नगरपालिकामा एमालेलले आफ्नो ठाउँ सुरक्षित राखेको छ । तेह्रथुमको छथर र मेन्छेयाम गाउँपालिका र म्याङ्लुङ नगरपालिकामा एमालेले विजय हाँसिल गर्दा धनकुटाको दुई पालिका धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकामा पनि सुरक्षित राखेको छ ।

सोलुखुम्बुको खुम्बुपासाङल्यामु गाउँपालिका र माम्य दुधकोशी गाउँपालिका, खोटाङको ऐसेलुखर्क र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमालेले जित्यो । ओखलढुंगाको मोलुङ गाउँपालिकामा मात्र एमालेको उपस्थिति देखियो ।

ठाउँ पाएको माओवादी
माओवादीले अघिल्ला चुनाव भन्दा गठबन्धन गरेर केही ठाउँ पाएको छ । ताप्लेजुङको फक्तालुङ, मावाखोला, पाँचथरको मिक्लाजुङ गाउँपालिका जितेको छ । त्यस्तै भोजपुरको आमचोक र रामप्रसाद राई गाउँपालिका पनि जितेको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका, खोटाङको खोटेहाङ जन्तेढुंगा गाउँपालिकामा पनि विजय हाँसिल गरेको छ । ओखलढुंगाको विशंखुगढी, उदयपुरको तप्ली, रौतामाई र लिम्चुङबुङ गाउँपालिका माओवादी केन्द्रले जितेको हो ।

प्रदेश १ का दुई पालिकामा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । ती पालिकाहरूमा भोजपुरको साल्पा छिलिछो गाउँपालिका र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका रहेका छन् । स्वतन्त्र चुनाव जित्ने दुबै उम्मेदवारले चुनाव चिन्ह धारा लिएर निर्वाचनमा भाग लिएका थिए । त्यस्तै प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले उदयपुगढी गाउँपालिका र जनता समाजवादी पार्टीले ओखलढुंगाको जिरिखिम्ती गाउँपालिकामा प्रमुख पद जितेको छन् ।

कसको पल्ला भारी
प्रदेश १ का धेरै पालिका अझै गण्ना हुँदै गरेको अबस्थामा छ । ६४ पालिकाहरू अहिले पनि अन्तिम परिणामको खोजीमा छन् । प्रदेश १ को पाँचथरको फिदिम नगरपालिका, इलामको इलाम, सुर्योदय र माई नगरपालिका, जोगमाई, देउमाई, फाकफोथुम र रोङ गाउँपालिकाको अझै परिणाम सार्बजनि गरिएको छैन । संखुवासभाको खाँदबारी, चैनपुर र धर्मदेवी नगरपालिका, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा पनि परिणाम सार्बजनिक भएको छैन । त्यस्तै खोटाङको दिक्तेल रुपाकोट नगरपालिका र हलेसी तुवाचङ नगरपालिका, ओखलढुंगाको लिखु र सुनकोसी गाउँपालिका, उदयपुरको कटारी, चौदण्डीगढी, त्रियुगा र वेलका नगरपालिकाको पनि परिणाम आउन बाँकी छ ।

झापा, मोरङ र सुनसरीका पालिकाहरूमा अझै परिणामहरू आएको छैन । मोरङको एउटा पालिकाको परिणाम सार्बजनिक भएसँगै १६ पालिकामा अझै मत गणना जारी छ । जसमा नेकपा एमाले १० पालिकामा अगाडी छ भने नेपाली कांग्रेस ६ वटा पालिकामा अग्रता काम गर्दै आएको छ । सुनसरीको दुई उपमहानगरपालिका इटहरी र धरान सहित ७ वटा पालिका नेपाली कांग्रेसले अग्रता कायम राख्दा नेकपा एमालेले ४ पालिका र जसपाले १ पालिकामा आफ्नो अग्रता कायम राखेका छन् ।

झापाको १५ पालिका माध्ये ७ वटामा नेकपा एमाले, ६ वटामा नेपाली कांग्रेस र २ वटा पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अग्रसता कायम राखेका छन् ।

प्रतिक्रिया

One thought on “प्रदेश १ को अंकगणित : खुम्चिएको एमाले, तंग्रिएकाे कांग्रेस, चौका हान्ने माओवादी

  1. माओवादीलाई खास किन जिताउने हो ?
    येसले जनतलाई सास्ती मात्र दिन्छ !
    यो पनि पार्टी हो जस्तो लाग्छ मलाई त ।
    तपाई हरुलाई कस्तो लाग्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *