भरतपुर : भुइँकटहरले मत बढाउँदा रेनु र विजयमध्ये कसलाई फाइदा ?

चितवन । भरतपुर महानगरपालिकामा हालसम्म ४ वटा वडाको मतगणना सकिएको छ । यतिबेला भरतपुर ५ को मतगणना भइरहेको छ ।
हालसम्मको मतगणनाले गठबन्धनबाट भरतपुरको मेयरमा उठेकी रेनु दाहाललाई अग्रता दिलाएको छ । नेपाली कांग्रेसबाट असन्तुष्ट बनेर स्वतन्त्रबाट भुइँकटहर चुनाव चिन्ह लिएर भरतपुरको मेयरमा उठेका जगन्नाथ पौडेलले पछिल्लो समय मत बढाइरहेका छन् ।
भरतपुर ४ बाट उनको मत क्रमशः बढ्न थालेको देखिन्छ । उनी निकट एक नेताले वडा नं ५, ६ मा भुइँकटहरमा मत अझ बढ्ने दावी गरेका छन् । वडा नं ५ को गणना भइरहँदा राप्रपा र एमालेको तालमेलबाट मेयरको उमेदवार बनेका विजय सुवेदीभन्दा रेनु दाहाल अगाडि छिन् ।
यो समाचार तयार पार्दासम्म १८ हजार ५८३ मत गनेर सकिँदा रेनुले ६ हजार २०२.मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ६ हजार ११५ मत ल्याएका छन् । उपमेयरकी उमेदवार चित्रसेन अधिकारीले ७ हजार ५५८ मत ल्याउँदा हिमला गुरुङले ५ हजार १० मत ल्याएकी छन् । बागी उमेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत पाएका छन् ।
भरतपुर महानगरमा वडा नं १ बाट गणना सुरु गर्न थालिएको हो । ३२७७ मतगणना हुँदा यस वडामा नेपाली कांग्रेसका उम्मेदवार केशव महर्जन विजयी भए। उनी १३९७ मतसहित निर्वाचित भए । २०७४ मा पनि यस वडा नेपाली कांग्रेसले नै जितेको वडा हो ।
यो वडामा एमालेका शुक्रकुमार श्रेष्ठले १३१३ मत ल्याए । यस वडाबाट मेयरमा रेनु दाहालले १२०८ मत ल्याइन । जुन मत विजय सुवेदीको भन्दा १२१ मत बढी हो । अर्थात् सुवेदीले सो वडाबाट १०८७ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेले यस वडाबाट ४३० मतमात्र ल्याए ।
भरतपुर २ मा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी भए । एमालेका कृष्ण केसीलाई ४७ मतान्तरले उनले पराजित गरे । केसीले २०५८ मत ल्याउँदा रानाभाटले २१०५ मत ल्याए । वडा सदस्यको सबै पदमा भने एमाले विजयी भयो ।
२ वटा वडा गरेर महानगरपालिकाको ८०८५ मत गणना गर्दा रेनु दाहालले २९१८ र एमालेका विजय सुवेदीले २९१५ मत प्राप्त गरे। यहाँसम्म आइपुग्द स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मत बढाएर ९२४ बनाए ।
वडा नम्बर १ र २ मा कांग्रेसका उम्मेद्वारहरु वडाध्यक्षमा विजयी भएका थिए । ७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर–१ म कांग्रेस नै विजयी भएको थियो । अघिल्लो पटक एमालेले जितेको भरतपुर–२ मा यो पटक नेपाली कांग्रेसले जित्यो
भरतपुर वडा नम्बर ३ सम्म आइपुग्दा ११ हजार ३२८ मत गणना भएको छ । वडा नं ३ को गणना सकिँदासम्म मेयर पदमा एमालेका उम्मेद्वार सुवेदीले तीन हजार ९४४ मत ल्याए । सत्तारुढ गठबन्धनबाट उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेनु दाहालको तीन हजार ८९४ मत आएको छ । स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलको एक हजार ५७२ मत ल्याए ।
वडा नं. ३ सम्मको गणना आइपुग्दा पौडेलले आफ्नो मत बढाइरहेका छन् । पछिल्लो गणनाअनुसार सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता बढे पनि उनी ढुक्क हुन सकेकी छनैनन् ।
भरतपुरमा एक लाख ८५ हजार मतदाता रहेकोमा एक लाख २७ हजारले मतदान गरेका छन् । धेरै मत अझै गन्न बाँकी नै छ । तर भुईँकटहरमा मत बढिरहँदा विजय र रेनु दुबैलाई सकस भइरहेको छ ।
भरतपुर ४ मा नेपाली कांग्रेसले जितेको छ । अघिल्लो पटक एमालेले थोरै भोटले जितेको वडामा अहिले कांग्रेसले अत्याधिक मतले जित्यो । कांग्रेसका अर्पण पोखरेलले २ हजार ५ सय ३० भोट ल्याएर एमालेका भानुभक्त सापकोटालाई हराए । सापकोटाले १ हजार ६ सय ३३ भोट ल्याए ।
अघिल्लो चुनावमा यस वडामा नेपाली कांग्रेसका उपेन्द्र सापकोटालाई एमालेका हरिप्रसाद आचार्यले ७ भोटले पराजित गरेका थिए ।
यस वडामा जगन्नाथ पौडेलले मत बढाए । पौडेलले यो वडाबाट १ हजार २ सय १६ भोट ल्याए । ४ नम्बरको गणना सकिँदा उनले आफ्नो मत २ हजार ७ सय ८८ बनाए । पौडेलको भोट अब क्रमशः बढ्दै जाने उनी निकट एक नेता बताउँछन् ।
जगन्नाथले मत बढाइरहँदा मेयरका प्रतिस्पर्धी रेनु र विजयलाई थप सकस भएको दुबैतर्फका नेताहरुको भनाइ छ । जगन्नाथले मत बढारहँदा रेनु र विजयमध्ये फाइदा कसलाई भयो भन्ने विषयमा नेताहरु भन्न सकेका छैनन्, तर रेनुमा आउने धेरै भोट नै जगन्नाथले काटेको देखिन्छ ।
एमालेका एक नेताका अनुसार भुईँकटहरलाई जाने भोट कति विजय सुवेदीले पनि पाउने थिए, तर भुइँकटहरलाई मत गइरहँदा एमालेलाई पनि घाटा भएको छ । ती नेताले भन्यो, ‘एमालेलाई आउने केही भोट भुइँकटहरले गइरहेको अनुभव हामीलाई भएको छ ।’ उनले एमालेका उमेदवार विजयलाई सकस भए पनि जित्ने दावी गरे । उनले भने, ‘वडा नं ९, १०, ११, १२ को गणना गर्दा विजय रेनुभन्दा धेरै मतले अगाडि नै हुन्छन् ।’
चार वडामा अहिले विजयलाई परेका मत २०७४ मा एमालेकै देवी ज्ञवालीको भन्दा कम हो । चार वटा वडामा गणना गर्दा त्यतिबेला ज्ञवालीले झन्डै एक हजार मतले लिड गरेका थिए । त्यतिबेला पनि उमेदवार रेनु दाहाल नै थिइन्, अनि कांग्रेस र माओवादी केन्द्रकै गठबन्धन थियो । ज्ञवालीको तुलनामा अहिले विजयको भोट कम आइरहेको छ, तर त्यतिबेला अहिलेको जस्तो भोट काट्ने उमेदवार थिएनन् ।
जगन्नाथले भोट बढाइरहँदा रेनुलाई पनि डर छ । एमालेले जगन्नाथले भोट काट्ने क्रमलाई आफ्नो जितको आधार बनाएको छैन । राप्रपा र एमालेकै भोटले विजय सुवेदीको जित्ने आधार देखाइएको छ । तर सबै एमालेको भोट राप्रपालाई नगएको र राप्रपाको पनि भोट एमालेलाई नगएको देखिन्छ । उपमेयर हिमला गुरुङको मत विजय सुवेदीको भन्दा निकै कम छ, यसले पनि एमालेका मतदाताले हिमलालाई भोट खसालेको देखिन्छ ।
यता नकेपा माओवादी केन्द्रका एक नेताका अनुसार रेनु दाहालको जित हुने बताए । उनले माओवादीको गढ भनिएको वडा नं ६, १३, २६ र २५ को गणना हुन बाँकी रहेको छ । ती वडाको मतगणना भएपछि रेनुको जित्ने आधार बलियो हुने माओवादीका ती नेता बताउँछन् । उनले भने, ‘जगन्नाथले भोट काटेर केही हुँदैन, हाम्रो भोट जति काट्छन् भन्ने थियो, त्यति नकाटेको देखियो । जसका कारण रेनु दाहालको जित पक्का हुने देखिएको छ ।’









