डिलासैनीको अध्यक्षमा स्वतन्त्र विजयी, तीन वडाध्यक्ष पनि जित्यो

धनगढी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका लोकेन्द्र राना (शीतल) लाई पछि पार्दै उनी अध्यक्षमा विजयी भएका हुन् ।

जोशीले ३ हजार १८९ मत प्राप्त गरे भने रानाले २ हजार ६५१ मत प्राप्त गरे । यो मत सङ्ख्या हेर्दा जोशीले ५ सय ३८ मतान्तर ले विजयी भएका छन् ।

यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । उनले ३ हजार ८७३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका लिलावती जोशीले २ हजार ७७९ मत पाइन् ।

यस्तै डिलासैनीका सात वडा मध्ये तीनवटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने एमाले र कांग्रेस दुई/दुई वडामा विजयी भएका छन् । वडा नं १ मा कांग्रेसका कृष्णकुमार धामी, वडा नं २ मा एमालेका नवराज घरडी,वडा नं ३ मा एमालेका रघुवीर बोहरा, वडा नं ४ मा स्वतन्त्रका हरिदत्त पन्त, वडा नं ५ स्वतन्त्रका यज्ञराज भट्ट, वडा नं ६ मा कांग्रेसका उत्तरबहादुर बोहरा र वडा नं ७ मा स्वतन्त्रका प्रकाशमणि भट्ट विजयी भएका छन् ।

पालिका अध्यक्षमा निर्वाचित जोशी एमालेबाट विद्रोह गरेर स्वतन्त्रबाट चुनावी मैदानमा उत्रेका थिए । एमालेको युवा संगठन राष्ट्रिय युवा संघको सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका जोशीले पार्टीका सबै संगठनबाट राजीनामा गरेर चुनावी मैदानमा होमिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *