मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएँ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीभारतीय जनता पार्टीका अध्यक्षलाई नेपाल भ्रमणका लागि निम्तो दिएको बताएका छन् ।

भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भ्रमणका क्रममा दुवै नेतालाई नेपाल आउन निमन्त्रणा गरेको जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष दुवै नेपाल भ्रमणप्रति सकारात्मक रहेको दाबी गरे ।

लामिछानेले राजनीतिक दलहरूबीच एक–अर्काको देशमा भ्रमण तथा निमन्त्रणा आदानप्रदान हुने प्रक्रिया स्वाभाविक र निरन्तर चलिरहने बताए ।

उनले भने, ‘मैले यही भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि निमन्त्रणा गरेको छु । उहाँहरूलाई नेपाल आउनका लागि निमन्त्रणा गरेको छु । विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई आवश्यकताअनुसार निमन्त्रणा गर्ने क्रम चलिरहन्छ । प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ र भाजपा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ । अब समय कहिले जुराउँछ, त्यसपछि भ्रमण हुन्छ ।’

भारतमा रहेका नेपाली नागरिकले भोग्दै आएका समस्याबारे बोल्दै लामिछानेले त्यहाँस्थित नेपाली दूतावास र सम्बन्धित सरकारी संयन्त्रलाई थप चुस्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले स्वास्थ्य सेवा, कागजी प्रक्रिया तथा दैनिक जनजीवनसँग सम्बन्धित समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गर्न संयन्त्रको क्षमता अभिवृद्धि आवश्यक रहेको बताए ।

लामिछानेले भने, ‘भारतमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूले भोग्ने समस्या साझा प्रकृतिका छन् । ती सबै समस्यालाई तत्काल समाधान गर्न सकिने अवस्था छैन । तर दूतावास र सम्बन्धित संयन्त्रलाई अझ चुस्त बनाएर नागरिकका गुनासो सम्बोधन गर्ने प्रयास भइरहेको छ ।’

प्रवासमा रहेका नेपालीले भोग्ने समस्या प्रायः समान प्रकृतिका हुने उल्लेख गर्दै उनले समस्या समाधान गर्ने संयन्त्र प्रभावकारी भएमा त्यस्ता समस्या उल्लेख्य रूपमा न्यूनीकरण गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =