प्रदेश १ को दुई उपमहानगर जहाँ कांग्रेस अगाडि : एमाले पछ्याउँदै, धरानमा स्वतन्त्रको टक्कर

विराटनगर । प्रदेश १ का दुवै उपमहानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिका दुवैमा काँग्रेसले अग्रता कायम राखेको हो ।

धरानमा मंगलबार बिहानसम्म १७ हजार ४९५ मतगणना सकिएको छ । मत परिणाम अनुसार कांग्रेसका किशोर राई, जो ४ दलिय गठबन्धनका साझा उम्मेदवार हुन्, उनले ५१११ मत ल्याएका छन् । उनलाई लौरो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङले ४४५० मत ल्याएर पछ्याइरहेका छन् ।

अहिलेसम्म कांग्रेसका राई ६६१ मतान्तरले अगाडी रहेका छन् । गाउँ पञ्चायतदेखि नै धरानका बागडोर सम्हाल्दै आएको नेकपा एमाले भने यो समाचार तयार पर्दासम्म तेस्रो स्थानमा पुगेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा धरानको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको थियो । तर अहिले भने एमाले सुरुवाती समयदेखि नै तेस्रो स्थानमा रहेको छ । सोमबार बिहान दोस्रो स्थानमा पुगेको एमाले मंगलबार पुनः तेस्रो स्थानमा पुगेको छ । एमालेकी मेयर उम्मेदवार ४४३४ मत ल्याएकी छिन् ।

धरानको उपमेयरमा पनि गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार आइन्द्र विक्रम बेघाले अग्रता कायम गरिरहेका छन् । उनले यो समाचार तयार पार्दासम्म ५७६० मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्वो लिम्बुको ५३९९ मत छ । दुई बिचको मतान्तर ३६१ मत रहेको छ ।

अहिलेसम्म धरानको वडा नम्बर १, २, ३, ४ र ७ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार एमालेले वडा नम्बर २, ४ र ७ मा विजयी हासिल गरेको छ भने वडा नम्बर १ र ३ मा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

इटहरीमा पनि कांग्रेस अगाडि
सुनसरीकै इटहरी उपमहानगरपालिकामा सुरुवाती मतगणनादेखि नै अग्रता कायम गरिहरेको कांग्रेसले आफ्नो अग्रतालाई हालसम्म पनि कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार इटहरीको मेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेलले ८९७० मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।

नेकपा एमालेका उम्मेदवार यामकुमार सुब्बाले ७३०६ मत ल्याएर पछ्याइरहेका छन् । यो मत परिणाम अनुसार कांग्रेसका पौडेल एमालेका सुब्बा भन्दा १६६४ मतान्तरले अगाडी रहेका छन् । मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा(का आकाश हाङ् सुब्बाले पनि ८५४ मत ल्याएका छन् ।

उपमेयरमा भने एमाले अगाडी छ । एमालेकी उपमेयर पदकी उम्मेदवार संगीता कुमारी चौधरीले ८१६६ मत ल्याएर अग्रता कायम गरिरहेकी छन् । उनी इटहरीमा मतगणना प्रारम्भदेखि नै शीर्ष स्थानमा छिन् । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का केशव कुमार विष्टले ५५३९ मत ल्याएर पछ्याइरहेका छन् ।

अहिले एमालेकी चौधरीले २६२७ मतान्तरले अग्रता कायम गरिरहेकी छिन् । राप्रपाकी वविता कुमारी चौधरीले ११०७ मत ल्याएकी छिन् । इटहरीमा अहिलेसम्म वडा नम्बर १ र २० को अन्तिम मत परिणाम आएको छ । निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएको जानकारी अनुसार दुवै वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । हाल इटहरीको वडा नम्बर २, ३, ४, ५, १७, १८ र १९ को मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *