बैतडी मेलौलीमा माओवादी विजय, सिगासमा कांग्रेस

काठमाडौँ । बैतडीको मेलौली नगरपालिका र सिगास गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेस निर्वाचित भएको बैतडीको मेलौली नगरपालिकाको प्रमुखमा यसपटक नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीशसिंह नायकलाई पछि पार्दै ३०९६ मतसहित चन्द प्रमुखमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका नायकले भने २३७६ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा भने कांग्रेसकी पार्वती बोहरा विष्ट विजयी भएकी छन्। एमालेकी हेमन्ती नायकलाई पछि पार्दै २९२७ मतसहित विष्टले उपप्रमुखमा जीत निकालेकी हुन्।  एमालेकी नायकले भने २४०८ मत प्राप्त गरेकी छन्। मेलौली नगरपालिकाका ९ वडामध्ये ४ मा नेपाली कांग्रेस, ३ मा माओवादी केन्द्र र २ मा एमालेले जीत निकालेको छ।

यस्तै, सिगासको अध्यक्षमा कांग्रेसका हरिसिंह धामी ३४३९ मतसहित दोस्रोपटक विजयी भएका छन्। यसअघि, ०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा निर्वाचित भएका थिए। एमालेका जसवीर बोहरा १७९८ मत ल्याई उनीसँग पराजित भएका हुन्। उपाध्यक्षमा भने एमालेका धाना धामी ९३९ मतसहित विजयी भएकी छन्। कांग्रेसकी सुमित्रा ऐर ६९६ मत ल्याई उनीसँग पराजित भएका हुन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा सिगासमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसको कब्जा थियो भने योपटक अध्यक्षमा मात्रै पकड बनाउन सकेको हो। यसअघि सार्वजनिक मतपरिणाममा शिवनाथ गाउँपालिकामा कांग्रेस र पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ।

दस स्थानीय तह रहेको बैतडीका अन्य पालिकामा मतगणना जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *