सप्तरीमा कांग्रेस र जसपा दुई-दुई वडामा विजयी

काठमाडौँ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत् सप्तरीका विभिन्न पालिकाका वडाहरूको मत परिणाम सार्वजनिक हुन थालेको छ।

जिल्लामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले दुई-दुई वडामा र नेकपा (एमाले), लोसपा र जनमत पार्टीले एक-एक वडामा जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सप्तकोशी नगरपालिका–१ मा कांग्रेसबाट वडाध्यक्षमा रोहिणीप्रसाद पोखरेलको समूह नै विजयी भएको छ। कांग्रेसकै खुला सदस्यमा दीपक राई र जनकबहादुर राउत, महिला सदस्यमा सीताकुमारी चौधरी र दलित महिला सदस्यमा भीमकुमारी नेपाल विजयी भएका छन्।

शम्भुनाथ नगरपालिकामा कांग्रेसका जिवछ साहले ४७४ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छ भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले ३७१ मत ल्याएका छन्। प्यानलसहित जितेको उक्त वडामा कांग्रेसबाट खुला सदस्यमा राधादेवी चौधरी र बिमलाकुमारी चौधरी, महिला सदस्यमा फूलकुमारी चौधरी र दलित महिला सदस्यमा इनरवती देवीराम विजयी भएका छन्।

यसैगरी, खडक नगरपालिका–२ को वडाध्यक्ष पदमा जसपाका हरेराम मण्डल नौ मत बढी ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्मदेव साहले ३५९ र एमालेका विसुन साहले ३३६ मत ल्याएका छन्। कञ्चनरूप नगरपालिका वडा नं १ मा प्यानलसहित जसपा नेपालका रुबान खान ४१ मत बढी ल्याएर विजयी भएका छन्।

अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। सो पार्टीका सबजुल खलिफा ६४१ मत ल्याई वडाध्यक्षमा विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अछमितलाल चौधरीले ५५० र जसपाका रामनारायण चौधरीले ५१४ मत ल्याएका छन्।

यसैगरी, खुला सदस्यमा एमालेका देवकान्त चौधरी र रामगेन सिंह, महिला सदस्यमा वैजनाथदेवी थरुनी र दलित महिला सदस्यमा पार्वतीदेवी राम विजयी भएका छन्। खडक –१ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह ८११ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सिंंहेश्वर मण्डलले ६३८ मत ल्याएका छन्।

लोसपाकै खुला सदस्यमा दिलीपकुमार मण्डल र त्रिभुवन मण्डल तथा महिला सदस्यमा आभना खातुन र दलित महिला सदस्यमा ललितादेवी राम विजयी भएका छन्। उक्त वडामा कांग्रेसबाट महिला वडासदस्य र दलित महिला सदस्य विजयी भएका छन्। यसैगरी, एमाले र जसपाले खुला वडासदस्यमा जित हासिल गरेको छ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ को वडाध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल प्यानलसहित निर्वाचित भएका छन्। डाक्नेश्वरी नगरपालिका–२ हरिराहामा मतदान सुरु भएको छ भने सोमबार रूपनी गाउँपालिका–५ बसबिट्टीमा मतदान सुरु हुने जनाइएको छ। हाल जिल्लाको १६ स्थानीय तहको मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *