कांग्रेस कार्यकर्ताको होहल्लाका कारण मोरङ रंगेलीको मतगणना स्थगित

विराटनगर । मोरङको रंगेली नगरपालिकामा जारी मतगणना रोकिएको छ।

नेकपा एमालेका उम्मेदवार दिलिप अग्रवाल र नेपाली कांग्रेसका मेयरका उम्मेदवार मोदराज घिमिरे बिचमा मतान्तर बढेपछि कांग्रेसका कार्यकर्ताहरूले होहल्ला मच्चाएपछि माहोल तनावग्रस्त भएको हो । असन्तुष्ट कांग्रेस कार्यकर्ताहरूले मतपेटिका सुरक्षित नभएको भन्दै होहल्ला गर्न थालेका हुन् ।

नेपाली कांग्रेसबाट वडा नम्बर ८ का वडाध्यक्ष पदका उम्मेदवार योग्यकुमार दोर्जेले मतदान स्थलमा राखिएको मतपेटिका सुरक्षित नभएको भन्दै होहल्ला गर्न थालेपछि त्यहाँ रहेका अन्य कार्यकर्ता पनि होहल्लामा उत्रिएका छन् । गठबन्धनका उम्मेदवारहरूले मत कम आएको भन्दै नाराबाजी समेत गरेका छन् ।

हाल मतगणनास्थलमा कसैलाई प्रवेश दिइएको छैन । होहल्लापछि मतगणनाको काम रोकिएको निर्वाचन अधिकृत रामहरी शर्माले जानकारी दिए । हालसम्मको मतगणनामा एमालेबाट मेयरका उम्मेदवार दिलिप अग्रवाल प्रतिस्पर्धी घिमिरे भन्दा ५६४ मतान्तरले अगाडि छन् । जम्मा ३१३२ मत गणना हुँदा अग्रवालले १६३१ मत प्राप्त गरेका छन् ।

अग्रवाललाई गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मोदराज धिमिरेले १०६७ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *