दुई मतान्तरले घरपझोङमा गठबन्धन विजयी

काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षका उम्मेदवार कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका हुन्। मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार लालचनले ७६० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरेका हुन्।

उपाध्यक्षमा कांग्रेसकी जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेकी छन्।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६ दशमलव ६८ प्रतिशत अर्थात् एक हजार ५९८ मत खसेको थियो। गत स्थानीय तह चुनावमा घरपझोङको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए भने यसपटक गठबन्धनबाट कांग्रेसले बाजी मारेको हो।

यसैबीच, घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा एमालेका फणिन्द्र थकालीसहितका उम्मेदवार विजयी भएका छन् भने घरपझोङ–४ को वडाध्यक्षमा कांग्रेसका यमप्रसाद थकाली सहितको प्यानल नै विजयी भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *