उदयपुुरको कटारीमा मतदान केन्द्र कब्जा गर्न खोज्दा हवाई फायर, एकको मृत्यु

विराटनगर । उदयपुरको कटारी १० स्थित कालिका मावि मतदान केन्द्रमा झडप हुँदा प्रहरीले चलाएको गोली लागि एकजना युवकको मृत्यु भएको छ। झडप भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड गोली चलाएको छ ।

कटारी नगरपालिका वडा नम्बर १० कालिका मावि सोरूङ छविसे मतदान केन्द्रमा मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १९ वर्षीय स्थानीयको मृत्यु भएको हो।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रहरीको गोली लागेर घाइते भएका स्थानीय १९ वर्षीय नवीन कटुवालको अवस्था गम्भीर भएका कारण उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो भने अर्का १३ वर्षीय बालक मन श्रेष्ठ पनि खुट्टामा गोली लाग‍ी गम्भीर घाइते भएका छन्। घाइते बालकलाई उपचारका लागि कटारी बजार लगिँदैछ।

त्यस्तै, मृतक कटुवाल नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका गौरबहादुर कटुवालका भतिज रहेको खुल्न आएको छ। विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागि ज्यान गएको बताएका छन्। नेपाली कांग्रेसका कार्यकर्ताले धाँधली गरी फर्जी मत खसाल्न लाग्दा रोक्ने क्रममा विवाद सृजना भएपछि प्रहरीले गोली चलाउँदा कटुवाललाई लागेको पौडेलले बताए।

मदतान प्रक्रिया ५ बजेर २०मिनेटमा सकिइसकेपछि दलका कार्यकर्ताबीच विवाद सृजना भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको प्रहरी उपरीक्षक बोहोराले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *