भरतपुरको मतगणनास्थलमा सीसिक्यामेरा जडान, फलामको डण्डी र जाली हालिँदै

चितवन । भरतपरको मतगणनास्थललाई सुरक्षित बनाउन अनेक प्रयासहरू गरिएको छ । यसअघिको चुनावमा भरतपुर महानगरमा मतगणनाको क्रममा मतपत्र च्यातिएको थियो ।

भरतपुर महानगरको मतगणनालाई देशभर नै चासोको रूपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकाको निर्वाचनको मतगणना भरतपुर–१० मा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलमा गरिने भएको छ। मतगणना स्थललाई सुरक्षित बनाउन फलामको डण्डी हाल्ने काम भइरहेको छ । आजै फलामको डण्डी हालेर त्यसमाथि जालीसमेत प्रयोग गरिने तयारी छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले उमेदवारहरूले मत गणना हेर्न मिल्ने तर मतगणनास्थलमा जोकोही प्रवेश गर्न नमिल्ने तरिकाले मतगणनास्थललाई सुरक्षित बनाउने काम भइरहेको बताए ।

उनका अनुसार मतगणनास्थलका विभिन्न ठाउँमा ८ वटा सिसी क्यामेरासमेत जडानको काम भइरहेको छ । उनले भने, ‘आज साँझसम्ममा मतगणनास्थललाई सुरक्षित बनाइनेछ ।’ सात समूहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको पौडेल बताउँछन् । उनका अनुसार जेठ पाँच गतेसम्म गणना सक्ने गरी तयारी गरिएको छ ।

२९ वडा रहेको भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । यहाँका अधिकारीहरूले करिब ८० प्रतिशत मत खस्ने प्रक्षेपण गरेका छन् । यस्तै, मतदानस्थललाई अति संवेदशनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ । एकीकृत सुरक्षा योजना समितिले सुरक्षाका हिसाबले जिल्लामा २५ वटा अतिसंवेदनशील, ९२ वटा संवेदनशील र ४४ वटा मतदानस्थल समान्य गरी वर्गीकरण गरेको छ ।

चितवन जिल्लाभर तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

कूल मतदातामध्ये भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, राप्तीमा ४० हजार ६४९, माडीमा २८ हजार ३२० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *