युनेस्काेकाे निमन्त्रणामा नेपाल आउँदै मोदी, के छ भ्रमण कार्यक्रम ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल आउँदैछन् । उनी बुद्ध पूर्णिमाकाे अवसरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका हुन् ।

गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसरमा माेदी नेपाल आउन लागेका हुन् । उनी युनेस्कोको निमन्त्रणामा मे १६ मा लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

१९९७ देखि युनेस्कोले लुम्बिनीलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र स्थानहरूमध्ये एक स्थानका रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।

माेदीकाे भ्रमण हुने भएपछि लुम्बिनीमा त्यसकाे तयारी शुरू भइसकेकाे छ । हाल साे क्षेत्रमा चारवटा हेलिप्याड निर्माणाधीन रहेका छन् । मोदी कुशीनगरबाट हेलिकोप्टरमा लुम्बिनी अवतरण गर्ने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले माेदीकाे स्वागत गर्ने कार्यक्रम रहेकाे छ ।

देउवा र मोदीले लुम्बिनीमा वार्ता र सम्बोधन गर्ने कार्यक्रम छ जहाँ विश्वभरका बौद्ध धर्मावलम्बीहरुको सहभागिता रहनेछ । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी तीव्र पारिएको छ । प्रशासनले सडकमा अवरोध गर्ने व्यक्तिको छानबिन गर्ने तयारी गरेको छ ।

लुम्बिनीमा पाँच घण्टा लामो बसाइ पछि मोदी कुशीनगर हुँदै नयाँ दिल्ली फर्कनेछन् । सन् २०१४ अगस्टमा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदी नेपाल आएका थिए । उनले हिन्दू तीर्थस्थल मुक्तिनाथ र जनकपुरको भ्रमण गरे पनि उनको लुम्बिनी भ्रमणको योजना अलपत्र परेको थियो ।

मोदीको यो पाँचौँ नेपाल भ्रमण हो र सन् २०१९ मा पुनः निर्वाचित भएपछिको यो पहिलो नेपाल भ्रमण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *