मनाङमा मतदाता परिचयपत्र वितरण

काठमाडौँ । हिमाली जिल्ला मनाङमा नयाँ मतदाता र पुरानो मतदाता परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गरिएको छ।

मनाङका २८ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ। मतदान केन्द्रमा पुगेका निर्वाचन अधिकृतहरू निर्वाचनलाई निष्पक्ष र भयरहित तवरबाट व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराई आवश्यक निर्णयसमेत गरी मतदानको तयारीमा छन्।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा बिहानैदेखि परिचयपत्र वितरण सुरु गरिएको हो। मतदाता परिचयपत्र वितरण गर्न जिल्ला निर्वाचन कार्यालयले विभिन्न निर्वाचन केन्द्रमा निर्वाचन अधिकृतसहितको टोली खटाएको छ।

देशकै सबैभन्दा कम मतदाता सङ्ख्या रहेको मनाङका चार पालिकामा ६ हजार ४९६ मतदाता रहेका छन्। तीमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकामा ३ हजार ५३५ छन् भने सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा ४४८ जना मतदाता रहेका छन्।

नयाँ मतदाताका लागि निर्वाचन आयोगले आज र भोलि (बिहीबार) मतदाता परिचयपत्र वितरण गर्नेछ। पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचयपत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकालाई आयोगले दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *