मतदान केन्द्रमा ८ देखि ११ सुरक्षाकर्मी

काठमाडाैँ । सुरक्षा संवेदनशीलता हेरेर स्थानीय निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा आठदेखि ११ सुरक्षाकर्मी खटिने भएका छन् । प्रत्येक केन्द्रमा तीन नेपाल प्रहरी र बाँकी म्यादी प्रहरी खटिनेछन् । सशस्त्र प्रहरी र सेनाले भने मतदानस्थलबाहिर गस्ती मात्रै गर्नेछन् ।

देशभर १० हजार सात सय ५६ मतदानस्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र कायम गरिएका छन् । केन्द्रीय सुरक्षा समितिले करिब तीन हजार मतदान केन्द्रलाई अति संवेदनशील र चार हजार पाँच सय केन्द्रलाई संवेदनशील क्षेत्रको सूचीमा राखेको छ । बाँकी करिब साढे १४ हजार केन्द्र भने सामान्यअन्तर्गत राखिएका छन् ।

प्रहरीका अनुसार सुरक्षाका दृष्टिले सामान्य देखिएका केन्द्रमा प्रतिमतदान केन्द्र आठ सुरक्षाकर्मी खटिनेछन् । संवेदनशील मानिएका केन्द्रमा कम्तीमा नौ र अति संवेदनशील केन्द्रमा प्रतिमतदान केन्द्र कम्तीमा ११ सुरक्षाकर्मी परिचालन हुनेछन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले संवेदनशीलताका आधारमा मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन हुने बताए । ‘सुरक्षा संवेदनशीलताका आधारमा हामीले मतदान केन्द्रलाई विभाजन गरेका छौँ । सोही आधारमा हरेक मतदान केन्द्र कम्तीमा आठदेखि ११ सुरक्षाकर्मी परिचालन गर्ने हाम्रो योजना छ । यहीअनुसार मातहतका निकायमा निर्देशन गएको छ,’ उनले भने ।

संवेदनशीलता विश्लेषण गरेर मतदान केन्द्रमा खटिन निर्देशन दिएका छौँ : एसएसपी विष्णुकुमार केसी प्रवक्ता, नेपाल प्रहरी सुरक्षा संवेदनशीलता विश्लेषण गरेर हामीले मतदान केन्द्रलाई विभाजन गरेका छौँ । सोही आधारमा हरेक मतदान केन्द्र कम्तीमा आठदेखि ११ सुरक्षाकर्मी परिचालन गर्ने हाम्रो योजना छ । यहीअनुसार मातहतका निकायमा निर्देशन गएको छ ।

प्रहरीका अनुसार तराईका प्रायः सबै जिल्लाका मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्रको सूचीमा राखिएको छ । जसअन्तर्गत बारा, पर्सा, सप्तरी, रौतहट, सिराहा, धनुषा, महोत्तरी, सुनसरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, रूपन्देही, कपिलवस्तु र नवलपरासी पर्छन् । त्यस्तै, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, काभ्रे, दैलेख, सिन्धुली, मकवानपुर, दार्चुलालगायतका जिल्लामा रहेका मतदान केन्द्रलाई पनि अति संवेदनशीलको सूचीमा राखिएको छ ।

प्रहरीका अनुसार प्रदेश १, गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लास्थित सहरी मतदान केन्द्रलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको छ । त्यसबाहेकका पहाडी र हिमाली जिल्लाका मतदान केन्द्र भने सुरक्षाका दृष्टिले सामान्य क्षेत्रअन्तर्गत राखिएका छन् ।

प्रहरी प्रवक्ता एसएसपी केसीले भने, ‘मतदान केन्द्रमा खटिएका म्यादी र प्रहरीका टोली ‘फ्रन्ट लाइनर’ हुन् । मतदान केन्द्रको सबै सुरक्षा उनीहरूले नै गर्छन् । यसबाहेक मतदातालाई लाइनमा राख्ने, मतदान केन्द्रमा हुन सक्ने अवाञ्छित गतिविधिको निगरानी गर्ने, गतिवधि भए नियन्त्रण गर्नेलगायतका काम पनि केन्द्रमा खटिएका म्यादी र प्रहरीको हो ।’

जिल्ला निर्वाचन कार्यालय, जिल्ला निर्वाचन अधिकृत, गाउँपालिका निर्वाचन अधिकृत, मतदानपश्चात् मतपेटिकाको सुरक्षा, विजेताको सुरक्षा गर्ने जिम्मा भने सशस्त्र प्रहरीको छ । सशस्त्रले पनि संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ । संवेदन र अति संवेदनशील क्षेत्र लक्षित गरेर सशस्त्रले एक सय ११ स्थानमा ‘रिजर्भ फोर्स’ पनि ‘स्ट्यान्डबाई’ राखेको छ । त्यसबाहेक नेपाल प्रहरीको ‘ब्याक अप फोर्स’का रूपमा सबै मतदान केन्द्रमा सशस्त्र प्रहरी तयारीपूर्वक रहनेछ ।

सशस्त्रका प्रवक्ता डिआइजी विदुर खड्काले संवेदनशीलताका आधारमा सशस्त्र प्रहरी मतदान केन्द्रमा खटिने बताए । ‘निर्वाचनमा परिचालन भएका सुरक्षाकर्मी को कसरी खटिने भन्ने प्रस्ट छ । सोहीअनुसार सुरक्षाकर्मी परिचालन हुने हो । संवेदनशीलताका आधारमा कतै धेरै र कतै अलि कम हुन सक्छन् । त्यसबाहेक एक सय ११ स्थानमा हामीले ‘रिजर्भ फोर्स’ पनि तयारी अवस्थामा राखेका छौँ,’ उनले भने । निर्वाचनमा देशभर ३२ हजार सशस्त्र प्रहरी खटिएको उनको भनाई छ ।

निर्वाचन सुरक्षाका लागि परिचालित अर्को सुरक्षा दस्ता सेनाले पनि संवेदनशीलताकै आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ । निर्वाचन अवधिभर सेनाले विशेषगरी भिभिआइपी, भिआइपी र उनीहरूका निवास, मुलुकभरका सबै कारागार, विमानस्थल, सबै सामरिक महत्वका क्षेत्रको सुरक्षा गर्नेछ । मतपत्र, मतदानपछि मतपेटिकाको सुरक्षा, मतदान बक्सको ढुवानीमा पनि सेना परिचालन हुनेछन् । यसक्रममा सेनाले हवाई तथा स्थलगत गस्तीसमेत गर्नेछ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *