प्रमुख बन्ने तयारीमा सप्तरीका वडाध्यक्षहरू

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि तीन दिन मात्र बाँकी भइरहँदा सप्तरीका स्थानीय तहमा उम्मेदवारको सक्रियता तीव्र बन्दै गइरहेको छ।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको काम, कर्तव्य र अधिकार पुरानो स्थानीय निकायको भन्दा व्यापक बनाइएको छ। अर्थात् स्थानीय तहलाई स्थानीय सरकारको अवधारणाअनुसार अघि सारिएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत् वडाध्यक्षले वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, कार्यान्वयन गर्ने–गराउने, अनुगमन र आवधिक समीक्षा गर्ने, घटना दर्तासहित विभिन्न सिफारिस तथा प्रमाणितसम्बन्धी कार्य गर्नेलगायतको प्रशस्त अधिकार र प्रयोग गर्न पाउने भएकाले पनि स्थानीय तहमा पदाधिकारीको आकर्षण बढेको हो

हाल यही स्थानीय सरकारको प्रमुख बन्ने दाउमा नगरप्रमुख र गाउँपालिका अध्यक्षका उम्मेदवार आफ्नो क्षेत्रभरि घुम्न मुस्किल भए पनि वडाध्यक्ष र सदस्यले भने दोहोर्याएर आफ्नो वडा घुमेका छन्। यस अघिको निर्वाचनमा देशभर छ हजार ७४३ वडाध्यक्षमा निर्वाचित भएका थिए। जिल्लाको १८ स्थानीय तहमा गत निर्वाचनबाट १६४ वडाध्यक्ष निर्वाचित भएका थिए। अहिले वडाध्यक्षका लागि जिल्लामा एक हजार दुई जनाले प्रतिस्पर्धा गरिरहेका छन्।

नगरप्रमुखमा प्रतिस्पर्धा गर्ने चार महिलासहित ९३ र गाउँपालिकामा प्रतिस्पर्धा गर्ने चार महिलासहित १०३ जना छन्। स्थानीय तहको नेतृत्वमा उम्मेदवारी दिनेमा १९६मध्ये पाँचजना गत निर्वाचनमा वडाध्यक्ष बनेका पनि छन्। पाँच वर्षमा गरेका काम र लोकप्रियताका आधारमा दलहरूले वडाध्यक्षलाई प्रमुख र अध्यक्षमा टिकट दिएको विष्णुपुर गाउँपालिका–६ का अशोक यादवले बताए। प्रमुखमा टिकट नपाउनेहरूले वडाध्यक्षमै उम्मेदवारी दोहोर्याएको समेत प्रशस्तै पाइएको छ।

शम्भुनाथ नगरपालिका
शम्भुनाथ नगरपालिका–१ का वडाध्यक्ष भइसकेका इनरदेव साहले अहिले नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका छन्। नेकपा (एमाले)बाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित उनले प्रमुखमा उम्मेदवारी पाएका हुन्। गएको चुनावमा ४४ मतले पराजित अर्का प्रतिस्पर्धी जितेन्द्रप्रसाद गुप्ता कलवारले नेकपा (एकीकृत समाजवादी)बाट पुनः नगरप्रमुखमा उम्मेदवारी दिएका छन्। जम्मा १२ वटा वडा रहेको नगरपालिकामा २३ हजार ८६३ मतदाता छन्। यो पालिकामा प्रमुख राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १० जनाले प्रमुखमा उम्मेदवारी दिएका छन्।

सप्तकोशी नगरपालिका
सप्तकोशी नगरपालिका–१ का वडाध्यक्ष रहेका नारायणप्रसाद आचार्य नेकपा (एकीकृत समाजवादी)बाट नगर प्रमुखको दाबेदार हुन्। एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका आचार्य पार्टी विभाजनपछि अहिले सक्रिय भएका हुन्। यसैगरी, गत निर्वाचनमा नगरप्रमुखमा विजयी उत्तमकुमार शर्माले पुनः एमालेबाटै उम्मेदवारी दोहोर्याएका छन्। जम्मा ११ वडा रहेका उक्त नगरपालिकामा १५ हजार ४६१ मतदाता छन्।

बोदे बर्साइन नगरपालिका
बोदे बर्साइन नगरपालिका–३ का वडाध्यक्ष रहेएका अनोजकुमार यादवले पनि अहिले नगरप्रमुखमा उम्मेदवारी दिएका छन्। सङ्घीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा निर्वाचित उनी अहिले एमालेबाट नगरप्रमुखको उम्मेदवार बनेका हुन्। जसपाबाट नगरप्रमुखमा आतेशकुमार सिंह यादवले उम्मेदवारी दिने निश्चित देखेपछि उनी एमालेमा प्रवेश गरेका हुन्। जम्मा १० वडा रहेको नगरपालिकामा २७ हजार ६५५ मतदाता छन्। नगरप्रमुखमा प्रमुख राजनीतिक दलसहित आठजनाले प्रतिस्पर्धा गरिरहेका छन्।

छिन्नमस्ता गाउँपालिका
शक्तिपीठ रहेको छिन्नमस्ता गाउँपालिका–३ बाट स्वतन्त्र रूपमा वडाध्यक्षमा निर्वाचित दीपेन्द्रकुमार यादवले अहिले अध्यक्षमा उम्मेदवारी दिएका छन्। वडाध्यक्ष भएपछि उनी सङ्घीय समाजवादी फोरम प्रवेश गरेका हुन्। स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको एक साताअघि नेकपा (एमाले) प्रवेश गरेका यादवले अध्यक्षमा उम्मेदवारी दिएका हुन्। गत निर्वाचनमा सो गाउँपालिका एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले भने वडा नं ५ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। जम्मा सातवटा वडा रहेको गाउँपालिकामा १७ हजार ७५७ मतदाता छन्।

छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका–१ का वडाध्यक्षमा निर्वाचित विनोदकुमार यादवले अहिले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन्। गत निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट विजयी भएका उनी एक साताअघि माओवादी केन्द्रमा प्रवेश गरी अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। जयप्रकाश यादवले पार्टी परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्षमा उम्मेदवारी दिएका छन्। जम्मा सातवटा वडा रहेको गाउँपालिकामा १७ हजार ७५७ मतदाता छन्।

गत स्थानीय तहमा वडाध्यक्षमा निर्वाचित दीपेन्द्रकुमार यादव एमालेबाट, गाउँपालिका अध्यक्षमा निर्वाचित सूर्यनारायण मण्डल नेपाल सद्भावना पार्टीबाट, पूर्वगाविस अध्यक्ष सत्यनारायण यादव जसपाबाट र जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव जनता प्रगतिशील पार्टीबाट अध्यक्ष पदको उम्मेदवार बनेका छन्। उक्त गाउँपालिकामा उनीसहित १४ जना अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *