विराटनगरका सुकुम्बासीको घर नबन्दासम्म म घर बनाउँदिनँ -मेयर उम्मेदवार थापा

विराटनगर। विराटनगर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)बाट उम्मेदवारी दिएका सागर थापाले सुकुमबासीको घर नबनेसम्म आफूले पनि घर नबनाउने प्रतिबद्धता जनाएका छन्। 

उनले सुकुमबासी समस्या समाधान नहुँदासम्म आफूले पनि घर नबनाउने बताएका हुन्। ‘विराटनगर महानगरपालिकाभित्र २० हजार सुकुमबासी छन्। उनीहरूसँग जग्गा छैन। जग्गाको व्यवस्थापन गरेर सुकुमबासीलाई घर बनाइदिने मेरो प्रतिबद्धता छ,’ उनले भने, ‘म पनि सुकुमबासी हुँ। अहिलेसम्म आफ्नो घर नभएकाले डेरामा बसिरहेको छु। महानगरभित्रका सुकुमबासीका लागि घर नबनाएसम्म म आफ्नो पनि बनाउँदिनँ।’ 

४६ वर्षीय थापाले आफू गरीबको छोरो भएको र राजनीतिमा तल्लो तहबाट दुःख गरेकाले जनताको सबै समस्या नजिकबाट बुझ्ने मौका पाएको पनि उनले बताए। आर्थिक रूपले विपन्न रहे पनि जनसम्पर्कका हिसाबले भने उनी धनी उम्मेदवारका रूपमा चिनिन्छन्। ‘धनका हिसाबले गरीब छु। सुकुमबासी हुँ। न मेरो जग्गा छ। न त घर नै,’ थापाले भने, ‘जनसम्पर्क र सबैसँगको सम्बन्धका हिसाबमा धनी छु। विराटनगरमा लामै समयदेखि राजनीतिक अभियानमा जोडिएँ। सबैको साथ पाएर चुनाव जित्छु।’

विराटनगर–४ मा डेरा लिएर बस्दै आएका उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन्। सबैसँग चाँडै घुलमिल हुने र मन जित्ने नेताका रूपमा थापा चिनिन्छन्। थापा एमाले विराटनगर महानगर कमिटीका अध्यक्षसमेत हुन्। उनले आफूलाई भुइँमान्छे भन्ने गरेका छन्। ‘म भुइँ मान्छे हुँ। भुइँका सबै समस्या मैले नजिकबाट बुझेको छु। विराटनगरको मेयरमा निर्वाचित भइसकेपछि सुकुमबासीलाई घर उपलब्ध गराउने मेरो पहिलो काम हुने।’ 

उनले अगाडि भने, ‘विराटनगरलाई समृद्ध बनाउने मेरो अभियान छ। गौरवपूर्ण अभियानमा सिंगो विराटनगरको साथ खोजिरहेको छु। यसअघि महानगरको नेतृत्व गर्नेले विराटनगरको शाख गिराउने काम मात्रै गरेको देख्दा साह्रै दुःख लागिरहेको छ।’ आफूले चुनाव जितेपछि विराटनगरको सुकुमबासी र डुबानको समस्या समाधान गर्ने बताउँदै उनले विराटनगरलाई व्यवस्थित र समुन्नत शहरका रूपमा देख्न पाइने दाबी गरेका छन्। विराटनगर सुकुमबासीमुक्त र डुबानमुक्त शहर बन्ने उनी दाबी गर्छन्। 

यसअघिका जनप्रतिनिधिले आफूलाई शासकका रूपमा स्थापित गराएको बताउँदै थापाले आफू भने जनताको सेवक भएर निस्कने बताए। विराटनगरको शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सडक, खानेपानी, सरसफाई तथा ढल निकास, सुरक्षित आवास र सामाजिक विकासलाई प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘नागरिकका हरेक दुःखमा साथ दिनेछु। विराटनगरमा सधैँ सागरको खोजी हुने अवस्था बनाउनेछु।’

वातावरण संरक्षण, पार्क निर्माण, सूचना र सञ्चार, सडक सुरक्षा युवा तथा रोजगारी, खेलकुद तथा शारीरिक सुगठन, शहरी कृषि विकास, उर्जा र औद्योगिक विकास, विज्ञान तथा प्रविधि, लघु उद्योग र बजार विकास, साहित्य, कला, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन, सुशासन र पारदर्शिता, बाह्य सम्बन्धलाई विशेष जोड दिने थापाको प्रतिबद्धता छ। 

‘जनप्रतिनिधिले सेवक बनेर सामाजिक जागरण र विकासका अभियान्ताको रूपमा काम गर्नुपर्छ,’ उनले भने, ‘बृहत गुरुयोजना बनाएर व्यवस्थित, विकसित र वातावरण मैत्री बनाउँदै प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश सरकारका संरचनालाई व्यवस्थित ढंगबाट निर्माणका लागि आवश्यक पहल तथा सहजीकरण गर्नेछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *