गठबन्धनलाई निर्वाचनमा हराउन कसैले सक्दैन -उपसभापति खड्का

सुर्खेत । देशैभर नेपाली कांग्रेससहितको गठबन्धनलाई हराउन कसैसँग ताकत नभएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताएका छन्।

आज आइतबार लेकबेलेकबेसी नगरपालिकासी र भेरीगंगामा भएको छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै खड्काले यस्तो बताएका हुन्। सभालाई सम्बोधन गर्दै खड्काले कसैको भ्रममा नपरेर गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका छन्। स्थानीय तह निर्वाचन २०७९ लक्षित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले राष्ट्रिय हितलाई मध्यनजर गर्दै नेपाली काँग्रेसको नेतृत्वमा चुनावी गठबन्धन गरिएकाले गठबन्धनका विषयमा फैलाइएका भ्रममा नपर्न मतदाताहरूलाई आग्रह गरे।

सभालाई सम्बोधन गर्दै खड्काले भने, ‘विकास गर्न र भइरहेका विकासका कामलाई निरन्तरता दिनका लागि गठबन्धनलाई जिताउनुहोस्, जहाँ चुनावी तालमेल भएको छ त्यहाँ गठबन्धनका आधिकारिक उम्मेदवारलाई भोट हाल्नुहोस्। जहाँ गठबन्धनबाहेक प्रतिस्पर्धा भएको छ त्यहाँ नेपाली काँग्रेसका उम्मेदवारहरूलाई भोट दिनुहोस्।’

सुर्खेतका सन्दर्भमा बोल्दै उनले भूमिहिनलाई लालपुर्जा वितरणको काम तिव्र गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे। अहिले भेरीगंगा र गुर्भाकोट नगरपालिकाका भूमिहीनहरूलाई लालपुर्जा वितरण कार्य सुरु भइसकेकाले सबै भूमिहीनले लालपुर्जा नपाउँदासम्म यसको निरन्तरता रहने बताए।

उपसभापति खड्काले गठबन्धन तथा काँग्रेसका एकल उम्मेदवारहरुलाई हिजोका जनप्रतिनिधिहरूले गरेका राम्रा कामहरूलाई आत्मसात गरी अगाडि बढ्न आग्रह गरेका छन्। ‘अहिलेका जनप्रतिनिधिले गरेका राम्रा कामहरू बोकेर हिँड्नुस्, विगतमा भएका गल्ती सुधार्ने गरी अगाडि बढ्नुस्’ उनले भने। उम्मेदवारहरूलाई सक्रीय भएर मतदातासम्म पुग्न आग्रह गर्दै उनले अहिलेको स्थानीय तह निर्वाचनमा गठबन्धनलाई कसैले हराउन नसक्ने दाबी गरे।

चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उपसभापति खड्काले अब ६५ वर्षबाट वृद्धभत्ता पाउने व्यवस्था गर्न लागिएको पनि बताएका छन्। ‘वृद्ध भत्ता दिन एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु भएको हो, यसमा बढाउने काम नेपाली काँग्रेस नेतृत्वकै सरकारले गरेको हो,’ खड्काले भने, ‘अब आउँदो बजेटबाटै ६५ वर्ष पुगेका नागरिकले ज्येष्ठ नागरिक भत्ता पाउनुहुन्छ, अबको बजेटमा यो व्यवस्था गरिँदैछ।’

नेपाली काँग्रेस तथा काँग्रेस नेतृत्वको गठबन्धन दलहरुले सुर्खेतमा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्न उपसभापति खड्का आइतबार सुर्खेत आएका हुन्। उनले आइतबार लेकबेँसी नगरपालिका र भेरीगंगा नगरपालिकामा आयोजित सभालाई सम्बोधन गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *