आचारसंहिताको धज्जी उडाउँदै दलहरू

विराटनगर । निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन्।

दलहरूले ठाउँठाउँमा गिट्टी र बालुवा झारिदिनेदेखि विद्यालय तथा सार्वजनिकस्थल, व्यक्तिका घरमा पार्टीका झण्डा राख्ने लगायतका काम गरेर निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेका हुन्। विद्यालय र सामाजिक संघ-संस्था पनि चुनावी प्रचारमा खुलेरै लागेका छन्। आचारसंहिता उल्लंघन गर्नेमध्येका एक हुन् सुन्दर हरैँचाको मेयरका उम्मेदवार शिव ढकाल। नेपाली कांग्रेसबाट दोश्रो पटक मेयरका उम्मेदवार भएका ढकालले पछिल्लो समय आचारसंहिताको धज्जी उडाएका छन्।

स्थानीय ज्योति माध्यमिक विद्यालयले मेयरका उम्मेदवार शिवप्रसाद ढकाल र काँग्रेसको चुनाव चिह्न ‘रूख’को फोटो राखेरै आफ्नो फेसबुक पेजमार्फत् प्रचार गरेको छ। गठबन्धनका तर्फबाट सुन्दरहरैँचा नागरपालिकाको मेयरका उम्मेदवार शिवप्रसाद ढकालले अघिल्लो कार्यकालभन्दा ५ गुणा बढी विकास गर्ने भन्दै विद्यालयले खुलेआम प्रचार गरिरहेको हो।

No description available.

सुन्दरहरैँचा–९ बुधबारेस्थित कृषि बजारको सार्बजनिक क्षेत्रमा झण्डा राखेको स्थानीयले बताएका छन्। व्यक्तिका घरमा पनि इच्छाविपरीत रातको समयमा जाने र झण्डा राख्ने काम भइरहेको अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य बद्री अर्यालले बताए। रातको समयमा सुटुक्क झण्डा राखेर निर्वाचनको माहोल आफ्नो पक्षमा रहेको देखाउनको लागि नागरिकका इच्छाविपरीत गतिविधि गर्ने गरेको अर्यालले बताएका छन्।

‘सर्वसाधारणका घरमा झण्डा राख्नका लागि काँग्रेसले समूह–समूह बनाएर युवा परिचालन गरेको छ,’ उनले भने, ‘निर्वाचन आयोगलाई नै चुनौती दिने गरी गतिविधि भइरहँदा पनि सम्बन्धित निकायले भने त्यसतर्फ ध्यानै दिएको छैन।’ निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहित अनुसार कुनै पनि सार्वजनिकस्थलमा पार्टीका झण्डा राख्न नपाइने भनिएको छ। आचारसंहिताले व्यक्तिका घरमा जबरजस्ती झण्डा वा पार्टीका प्रचार सामग्री राख्न रोक लगाएको छ। तर, त्यसविपरीतका गतिविधि भइरहँदा पनि आयोगले कारबाही नगरेको स्थानीयको आरोप छ।

उम्मेदवार ढकाल २०७४ सालको निर्वाचनमा सुन्दरहरैँचा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। पुनः मेयर बन्न उनी दोस्रोपटक चुनावी मैदानमा छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नवराज चापागाईं उपमेयरको उम्मेदवार छन्। गठबन्धनको प्रतिस्पर्धी एमालेले मेयरमा केदारप्रसाद गुरागाईं र उपमेयरमा अकली चौधरीलाई उम्मेदवार उठाएको छ।

तर, काँग्रेस मोरङका सचिव ललित श्रेष्ठले पार्टीका तर्फबाट कतै पनि आचारसंहिताको उल्लंघन नभएको बताएका छन्। ‘आचारसंहिता पालनाका विषयमा काँग्रेस गम्भीर छ। कोही कसैले पनि नियमको उल्लंघन गर्न मिल्दैन,’ उनले भने, ‘कतै त्यस्तो भएको रहेछ भने हामी सचेत गराउँछौँ। इच्छाविपरीत राखिएका झण्डा तत्काल हटाउछौँ।’

No description available.

नेपाली कांग्रेसले मात्र हैन एमाले, जसपा, राप्रपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले पनि आचारसंहिताको उल्लंघन गरेका छन्। बालबालिकाको प्रयोग, सार्वजनिक स्थलमा झण्डा राख्ने, मतदातालाई आर्थिक प्रलोभन देखाउने काम भएको स्थानीय बताउँछन्। कतिपय स्थानमा मलाई भोट नहाले गाउँमा बस्न दिन्न भन्नेसम्मको धम्की दिएको पनि स्थानीयको गुनासो छ।

चुनावको मुखमा पोलहरू झार्ने, ग्राभेल बिछ्याउने, शक्ति र श्रोतको दुरुपयोग गर्दै चुनावी प्रचारमा प्रदेश मन्त्रीहरू हिँड्नुले निर्वाचन आचारसंहिताको चरम उल्लंघन भएको छ। प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीविरुद्ध पनि निर्वाचन आयोगमा उजुरी परेको छ। सामाजिक संजाल प्रयोग गरेर भ्रामक प्रचार गरेको भन्दै आयोगमा उजुरी परेको हो। कार्की मनोनयन दर्ताको दिन पनि झण्डा हल्लाउँदै मनोनयन स्थलमा नारा लगाउँदै पुगेका थिए।

निर्वाचन नजिकिँदै गर्दा आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको भएपनि लिखित उजुरी भने कमै मात्रामा परेको निर्वाचन कार्यालयले जनाएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीले अहिलेसम्म ७ वटा जति उजुरी आएको जानकारी दिए। निर्वाचन कार्यालयमा एउटा सहित निर्वाचन अधिकृतका कार्यालयहरुमा उजुरी परेको उनले बताए। ‘लिखित उजुरी अत्यन्त न्युन आउने गरेको छ, उनले भने, माईकिङ झाण्डा लगायतको बारेमा मौखिक उजुरीहरू आएको छ।’ सुन्दर हरैँचामा कर्मचारी चुनावी प्रचारमा हिँडेको बारेमा आयोगले स्पष्टिकरण सोध्ने बाहेकको कुनैपनि कारबाही भने आयोगको तर्फबाट भएको देखिँदैन।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सहायक निर्वाचन अधिकृत हेमबहादुर बढाथोकीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म एउटा पनि उजुरी नपरेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *