तुवाँलोको तोसोखोम

नेपालमा कैयौं संस्कृति, संस्कार अनि परम्परा छन् भन्ने भन्दा पनि कति छन् र  के कस्ता छन्? आदिमकालमा तिनको स्थिति कस्तो थियो? अनि अहिलेको अवस्था कस्तो छ? भन्ने हेक्का कसले गरेका छन् वा थिए? अब आउँदो पुस्तामा कस्तो हुनेछ? कतिको संरक्षण हुनेछ? कति लोप हुनेछन्? यो सोचनीय विषय हो। तर, यी र यस्ता विषयमा न त देशको सरकार नै सचेत हुन चाहन्छन्, न त कुनै बुद्धिजिवी वर्ग नै। 

वि.स. २०६२-०६३ को पहिचानको मुद्दासँगै नयाँ गुप्त संस्कार संस्कृति उजागर त भए तर कस्ता संस्कृति अनि कसरी उजागर भइरहेका छन्? भन्ने विषयमा कोही विज्ञता हासिल गर्न चाहँदैन। अझ, यस्ता विषयलाई खोज्ने, अनुसन्धान गर्ने काम त परै जाओस् संस्कार संस्कृतिप्रति चासो गर्नेहरूकै पनि खिसीनिन्दा गर्ने काम गरिन्छ। सोही कारणले गर्दा पनि होला वर्तमान युवा पुस्ता ‘संस्कृति-संस्कार, आफ्नो परम्परा कसरी संरक्षण गर्न सकिन्छ ‘ भन्ने विषयमा बहस त परैको कुरा वास्तासम्म पनि गर्दैनन्। 

यस्तै बेवास्ताको चपेटामा परेको हो, किराँती सभ्यता र सो समुदायको महत्त्वपूर्ण पाटो, तोसोखोम!  हुन त स्वयं पङ्क्तिकार पनि बेखवर यस विषयमा किराँत रदु नाछिरिङ्ग साखाम केन्द्रीय कार्य समितिका केन्द्रीय महासचिव सुमन वाङ्ग्देलसँग कुराकानी गरी लेख तयार पारिएको हो भने अरू केही आफ्नो  गाउँठाउँमा गरिएको सोधखोजबाट।

‘तोसोखोम’ र किराँती समुदायबीच नङमासुकै जस्तो प्रगाढ सम्बन्ध रहिआएको छ। वर्तमान समयमा तोसोखोमको ठेट शाब्दिक अर्थ नपाइए तापनि, तोसोखोमलाई प्राचिन तथा हालको समयमा किराँती समुदायको विभिन्न सामाजिक, राजनैतिक, आर्थिक तथा सांस्कृतिक कार्यक्रमहरू गरिने ठाउँ मानिँदै आएको पाइन्छ। अर्को शब्दमा भन्नुपर्दा किराँती समुदायहरूको धार्मिकसँगै अन्य सामूहिक कार्य गरिने विशेष ठाउँ नै ‘तोसोखोम’ हो। 

भोजपुरका स्थानीयहरूका अनुसार राई (मुखिया) भेट्ने तथा विभिन्न तिरो उठाउने, बुझाउने या अन्य  सामाजिक काम कारबाही गर्ने, साकेला मनाउँदासमेत आफ्ना पिता पुर्खादेखि देवी–देवतालाई क्षमा याचना गर्ने विशेष महत्त्वको ठाउँलाई नै तोसोखोम भन्ने गरिन्छ। 

‘तोसोखोमको स्थापना कसरी गरिन्छ त?’ भन्ने प्रश्नमा महासचिव वाङ्ग्देल भन्नुहुन्छ,  ‘यसको स्थापनाको लागि कुनै प्रक्रिया नभएको बताउँदै पहिलेपहिले नोक्छो (वाङ्देल समुदायको अगुवा) वा पुर्खाको निर्देशनमा हुने गरेको पाइएको बताउँछन्। अझ प्रस्ट्याउँदै उनी भन्छन्, ‘त्यसरी तोसोखोम स्थापना भएतापनि सम्पूर्ण रूपले सबल, वैज्ञानिक र जुन समाजको लागि स्थापना गर्न लागिएको हो सोही समाजको लागि पायक परेको ठाउँमा नै तोसोखोम स्थापित हुने गरेको रहेछ।’ 

यसरी हेर्दा, जुन समाजका लागि स्थापना गरिने हो, त्यहाँको सेरोफेरोमा सांस्कृतिक, राजनैतिक, भौगोलिक, आर्थिक, सांस्कृतिक तथा प्राकृतिक गरी सम्पूर्ण रूपमा सबैभन्दा उत्तम ठाउँ हेरी तोसोखोम स्थापना गरिएको पाइने रहेछ।

महासचिव वाङ्देल तोसोखोमसँगै किराती धर्म पनि बुझ्नुपर्ने बताउँछन्। अन्य धार्मिक संस्था अन्य विज्ञानसँग जोडेर हेरिने गरेझैं किराँती धार्मिक संस्थालाई पनि पारिस्थितिक विज्ञानसँग जोडेर हेर्नुपर्ने तर्क राख्छन् वाङ्देल। ‘यसरी विज्ञानसँग जोडेर हेर्दा’, उनी भन्छन्, ‘किराँती समुदाय नै यस्तो धर्म हो जसले प्रकृतिलाई नजिकबाट नियाल्दै प्रकृतिकै रोहवरमा रहेर विभिन्न चाड मनाउनुका साथै संस्कार पनि चलाउँदै आइरहेको छ।’

एउटा उदाहरणका रूपमा उनी उधौली–उभौलीलाई लिन्छन्। उनका अनुसार उधौली उभौली चाड हुनुका साथै पारिस्थितिक विज्ञानसँग पनि जोडिएर आउँछ। उनी भन्छन्, ‘यो चाड नजानिँदो तवरले पारिस्थितिक विज्ञानकै उपज हो। जस्तै ‘काराङ्गकुरुङ्ग’ नामक चरालाई हेरी हाम्रा पुर्खाले उतिबेला खेतीको सुरुवात गरे। जब यी चरा समुन्द्री सतहबाट हिमालतिर उक्लिन्थे उभौली चाड मनाउँदै खेती सुरु गरिन्थ्यो। अनि जब तिनै चरा समुन्द्री सतहतिर फर्किन्थे उधौली चाड मनाउँदै अन्न बाली थन्क्याइन्थ्यो। यसरी यो चाड, चाड मात्र नभएर विज्ञानसँग जोडिएको एक जीवनशैली हो।’

त्यसैगरी, हाम्रो मृत्यु संस्कारले पनि वातावरणीय विज्ञानसँग सम्बन्ध राख्ने वाङ्देल बताउँछन्। भन्छन्, ‘हामी गाडिनु पनि वातावरणीय विज्ञानअनुसार रहेको छ।’ उनी थप्छन्,  ‘हामी मरेपछि जलाउनुभन्दा गाडिनु वातावरणीय हिसाबले उचित हो। किराँत संस्कार अनुसार मृत्युपछि मृत देहलाई माटोमा गाड्दा वातावरणमा कुनैपनि नकारात्मक असर नपर्ने तर अन्य परम्परा अनुसार मृत देहलाई जलाउँदा वायु प्रदूषण हुने हुँदा त्यस्ता परम्परा वातावरणमैत्री हुँदैनन्। गाडेर मृत्यु संस्कार पूरा गर्ने हो भनेचाहिँ पञ्चतत्वले बनेको हाम्रो शरीर अन्ततः पञ्चतत्वमै गएर मिल्छ। त्यसैले पनि, किराँती संस्कृतिले विज्ञानसँग सम्बन्ध राखेको प्रष्ट हुन्छ।’

वाङ्देलका अनुसार किराँती दर्शन पनि पारिस्थितिक विज्ञानका साथै वातावरणीय विज्ञानसँग कुनै न कुनै रूपले जोडिएकै पाइन्छन्।

तोसोखोमबाट किराँती संस्कारलाई केलाउँदै हामी पुनः तोसोखोमतिरै फर्किन्छौँ। ‘तोसोखोमको महत्त्व कति छ त?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘किराँतीहरू नेपालकै सबैभन्दा पुराना आदिवासी हुन्। यसले किराँतीहरूको इतिहास खोतल्छ। त्यसैले तोसोखोमलाई किराँती इतिहास खोज्दा होस् वा पढ्दा छुटाउन हुँदैन। किनकी किराँतीहरू जता–जता जसरी गएतापनि आफ्नो पायक पर्ने ठाउँमा तोसोखोम स्थापना गरेकै हुन्छन्।’ 

उनी उदाहरण पनि पेश गरिहाल्छन्, ‘ जस्तै, उदाहरणका लागि केही महिनाअघि मात्र काठमाडौँको गोकर्णस्थित स्थापित नाछिरिङ्ग राईहरूको तोसोखोमलाई नै लिऊँ। आफ्नो गाउँठाउँमा तोसोखोम भएतापनि यहाँ स्थापना गर्नु पनि एक उदाहरण हो। जो जो आफ्नो मूल थाकथलो पुग्न सक्दैन्न् उनीहरू यहीँ पूजाआजा गरी पितापुर्खासँग बल माग्ने गर्छन्। यसरी हेर्दा, यो समुदाय कुन ठाउँबाट कुन ठाउँसम्म पुग्यो भन्ने प्रश्नको प्रमाणसमेत ‘तोसोखोम’ले जुटाउन मद्दत गर्ने भयो। जसकारण तोसोखोमले किराँतीहरूको इतिहासको लेखाजोखा राख्ने कुरामा महत्त्वपूर्ण भूमिका खेल्छ।” 

अर्कोतिर भोजपुरका स्थानीयहरू सामाजिक दृष्टिकोणमा पनि तोसोखोमको महत्त्व रहेको बताउँछन्।  समाजमा हुने गरेका विभिन्न किसिमका कुरीति, विकृति, कुसंस्कारविरुद्धको जरिवाना या सजाय सुनाइने ठाउँ पनि तोसोखोम नै भएका कारण तोसोखोमले समाजिक सुशासनमा पनि मद्दतगार भूमिका खेल्ने भोजपुरका स्थानीयहरूको भनाइ छ। समयसँगै यसको खोजी अनुसन्धान कम हुँदै गएकोमा भने उनीहरू गुनासो गर्छन्।

यसरी हेर्दा तोसोखोम, साकेलाथान, भुमेथान, एउटै देखिए तापनि भोजपुरका स्थानीय राजकुमार राई भने तोसोखोम र साकेलाथान फरक रहेको बताउँछन्। उनको बुझाइमा तोसोखोम र साकेलाथानको नजिकिको सम्बन्ध रहेका कारण पनि यी दुईलाई एउटै वा उस्तै हो भन्ने बुझिएको पाइन्छ तर वास्तवमा भने यी दुई फरक कुरा हुन्। 

उनी भन्छन्, ‘यी दुई फरक कुरा हुन्। किनभने, साकेलाथानमा जानुपूर्व होस् या जुनसुकै उधौली-उभौली पूजा गर्नुपूर्व होस्, होमे वा बिजुवाले पहिला तोसोखोममा गई चुह्लो खन्याएझैं त्यस ठाउँमा पनि अफ्नो भाषामा बखान्दै कचुर हानेपछि पितापुर्खासँग पूजामा हुनसक्ने  त्रुटीहरूका लागि क्षमायाचना गरेपछि मात्रै सकेलाथानमा पूजा सुरु गरिन्छ।’ थप प्रस्ट्याउँदै राई जोड्छन्, ‘तोसोखोम त कुनै पनि बदमासी वा दोषको क्षमायाचना गर्ने ठाउँ पो हो त! साम्पाङ्ग भाषामा तोसोलाई दोष र खोमलाई हटाउनु वा मेट्नु भनिन्छ।’

यसरी हेर्दा, किराँती समुदायका मानिसहरूभित्र नै ठाउँ अनुसारका भिन्नाभिन्नै विचार र दृष्टिकोण रहेको पाइएको छ। यसले हाम्रो संस्कृति कति फाराकिलो र बृहत छ भन्ने स्पष्ट त हुन्छ नै तर कता कता फरक दृष्टिकोण आउँदा कुनलाई अनुशरण गर्ने भन्नेमा भने अन्योल सिर्जना भई किराँती परम्परा नै लोप हुनसक्ने प्रबल सम्भावना देखिन्छ। 

उसो त किराँती मिथकहरू लिखित रूपमा भन्दा पनि मौखिक रूपमा स्थापित रहेकाले यी र यस्ता अलग विचार, दर्शन र अभ्यास पाइनु त्यति नौलो त होइन। मौखिक रूपमा स्थापित भएकैले पनि हराउँदै जानु मुख्य समस्या बनेको छ। समाजमा रहेका बुद्धिजिवी, विद्यार्थी, आम सञ्चार तथा सरकारको उपल्लो दर्जामा बस्नेहरूको बेवास्ताका कारण यी र यस्ता सांस्कृतिक महत्त्व बोकेका सामाजिक तत्वहरू लोप हुँदै जानुमा जोड पुगेको निचोड छ। 

तसर्थ, यसप्रति बुद्धिजिवी वर्ग एवं समाजका अग्रजहरूले ध्यान दिन जरुरी छ। ‘तुवाँलोको तोसोखोम’लाई थप बाहिर निकाल्ने प्रयास सबैले गर्न जरुरी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.