रसुवामा आचारसंहिता पालना गर्न ध्यानाकर्षण

काठमाडौँ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले निर्वाचन आचार संहितालाई पूर्णरूपमा पालना गर्न राजनीतिक दललगायत सबै पक्षलाई आग्रह गरेको छ।

कार्यालयले एक अपिल जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारले आचारसंहिता पालना नगरेको भन्ने जनगुनासो बढेको जनाउँदै यसको पूर्णरूपमा पालना गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको हो। मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले शान्ति पूर्ण तवरले निर्वाचन सम्पन्न गर्ने गराउने कार्यमा सबै पक्षबाट सहयोग मिल्नेमा पूर्ण आशावादी रहेको बताए।

यसैबीच, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) लगायतका ११ राजनीतिक दल मतदाताको घर घरमा पुग्न थालेका छन्। माइकिङ तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै ती दलका नेता तथा कार्यकर्ता जुटिरहेका छन्। जिल्लामा पाँच गाउँपालिकामा २७ वडा छन्। जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आसन्न निर्वाचनमा कूल ३८ हजार ५४५ ले ३४ मतदानस्थलको ५१ केन्द्रबाट मतदान गर्नेछन्।

स्थानीय प्रशासनले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्रशासनले मदिरा बिक्री वितरणमा रोक लगाउँदै उम्मेदवार तथा कार्यकर्ता चुनाव प्रसारमा जाँदा आलोपालो गर्न अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी नवराज जैसी र जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले निर्वाचन केन्द्रित सुरक्षा योजना कार्यान्वयन गरिएको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *