पेन्टको कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउन माग

काठमाडौँ । नेपाल पेन्ट उद्योग संघले पेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउन माग गरेको छ । विदेशी पेन्ट कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्नका लागि नेपालमा पेन्ट उत्पादनका लागि ल्याइने कच्चा पदार्थमा भन्सार शुल्क घटाउने पर्ने संघका व्यवसायीहरुले बताएका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो माग गरेका हुन् । हाल पेन्टका लागि आवश्यक कच्चा पदार्थ आयातमा ३० प्रतिशत भन्सार शुल्क रहेकोमा त्यसलाई घटाएर ५ प्रतिशतमा सीमित गर्नुपर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा संघका अध्यक्ष विश्वप्रकाश साखःले कच्चा पदार्थ आयातमा लाग्ने भन्सार शुल्क घटाउनु पर्ने बताए ।

भन्सार शुल्क बढी हुँदा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको उनले बताए ।

‘नेपालमा ५० वटाभन्दा बढी पेन्ट उद्योग छन्,’ उनले भने, ‘पेन्ट उद्योगमा २८ सयभन्दा बढी श्रमिक कार्यरत छन् । यस क्षेत्रलाई आवश्यक सम्पूर्ण कच्चा पदार्थमा एउटै प्रकारका हर्मोनाइज कोडको व्यवस्था र एउटै भन्सार शुल्क कायम गर्नुपर्छ ।’

एक्रिलिक पोलिमरको आयातमा सरकारले तोकेको कर न्यायपूर्ण नभएको उनको भनाई छ ।

‘इमल्सन एचएसएन ३९.०६ कोड अन्तर्गत १० प्रतिशत भन्सार शुल्क तोकिएको र साफ्टाको सुविधा पनि छ,’ उनले भने, ‘तर एचएसएन ३२.०९ कोड अन्तर्गत भन्सार शुल्क ३० प्रतिशत र साफ्टामा पनि सुविधा छैन ।’

एक्रिलिक पोलिमरको आयातमा छिमेकी देशहरु भारत, बंगलादेश र श्रीलंकाले समेत १० प्रतिशतभन्दा बढी भन्सार शुल्क नलिएको उनले बताए ।

संघले वित्तीय ऐनले टाइटेनियम डाइअक्साइडको आयातमा १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत भन्सार शुल्क कायम गर्न माग गरेको छ ।

पेन्ट उद्योगहरूले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११.०० मा आयात गर्ने गरेको हुनाले एचएसएन कोड सच्याउन संघको माग छ । साथै, करार उत्पादन गर्ने÷गराउने प्रावधानको लागि सरकारलाई नीतिगत सुधार गर्न पनि पेन्ट उद्योगहरूले आग्रह गरेको छ ।

अहिले नेपाली पेन्ट उद्योग गुणस्तर र उत्पादन क्षमताको आधारमा आत्मनिर्भर भइसकेकोले आत्मनिर्भरता जोगाई राख्न पनि भन्सार शुल्क घटाउनुपर्ने संघको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *