बेलवास–बेथरी सडकलाई राजमार्गमा जोड्न उम्मेदवारसमक्ष मतदाताको माग

काठमाडौँ । बुटवल–१३ का मतदाताले बेलवास–बेथरी सडकखण्डलाई बेलवासको झोलुङ्गेपुलसम्म जोड्न माग गरेका छन्।

पर्यटन मार्गको रूपमा निर्माणाधीन बेलवास–बेथरी सडकखण्डको नामसँग वेलवास जोडिए पनि सडक नहरपुरसम्म मात्रै विस्तार भएकाले त्यसलाई पूर्वपश्चिम राजमार्गको बेलवास झोलुङ्गेपुल चोकसम्म जोड्न उनीहरूले आग्रह गरेका हुन्। स्थानीय तह निर्वाचन प्रचारका लागि घरदैलो कार्यक्रममा पुगेका एमालेतर्फका नगरप्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईसमक्ष स्थानीयवासीले बेलवास–बेथरी पर्यटन सडक निर्माण सम्पन्न हुने चरणमा रहेकाले यसलाई नहरपुरचोकबाट विस्तार गरेर राजमार्गसम्म ल्याउन माग गरेका हुन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुटवल, ऐतिहासिक नुवाकोटगढी, पाल्पा हुँदै पोखरा जाने यात्रुका लागि समेत यो सडक छरितो हुने भएकाले यसलाई छिटो राजमार्गसँग जोड्न उनीहरुले माग गरेका हुन्। उनीहरूले वडाका सबै टोलमा खुला व्यायामशाला निर्माण गर्न, पाणिनी उद्यानका लागि यथेष्ट बजेट विनियोजन गर्न, विपन्न परिवारका कम्तीमा एकजना सदस्यका लागि रोजगारीको व्यवस्था गर्नसमेत माग गरेका छन्।

यसैगरी, सामाजिक सुरक्षा भत्ता कार्यक्रम अत्यन्तै प्रभावकारी रहेकाले यसलाई अझ व्यवस्थित गर्न उनीहरूको माग छ। वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाउन, उनीहरूको मनोरञ्जनका लागि खुला मनोरञ्जन क्षेत्र बनाउनसमेत मतदाताले उम्मेदवारसँग आग्रह गरेका छन्। उनीहरूले टोलटोलमा सामूहिक लगानीमार्फत् सामूहिक आम्दानी हुने खालका कार्यक्रम ल्याउन उम्मेदवार भट्टराईसमक्ष आग्रह गरे।

मतदाताका मागलाई सम्बोधन गर्दै उम्मेदवार भट्टराईले स्थानीयवासीले उठाएका मुद्दा आफूहरुले घोषणापत्रमा लिपिबद्ध गरेर सार्वजनिक गरेको भन्दै आम मतदाताका चाहनासँग आफ्नो घोषणापत्र मेल खाएकामा खुसी व्यक्त गरे। बेलवास–बेथरी सडकखण्डलाई राजमार्गसँग जोड्ने विषय छिट्टै सम्बोधन हुने उनले बताए।

घरदैलो कार्यक्रममा एमालेका तर्फबाट उपप्रमुख पदका उम्मेदवार सावित्रा अर्यालले नगरवासीको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएकी छन्। साथै, बुटवल १३ बाट वडाध्यक्ष पदका उम्मेदवार शोभाखर पोखरेलले पनि सुशासनलाई धयानमा राखेर इमानदारीका साथ वडावासीको चाहना पूरा गर्ने काममा लाग्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *