साढे ४८ खर्बको अर्थतन्त्रमा बागमतीको हिस्सा १८ खर्ब, कर्णालीको २ खर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (नेशनल जीडीपी)मा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षका अघिल्लो ९ महिनाको आर्थिक तथ्यांक र सूचनाको आधारमा देशको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५२ अर्ब पुग्ने अनुमान गरेको छ । यसमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.९ प्रतिशत अर्थात् उपभोक्ता मूल्यमा १७ खर्ब ९१ अर्ब पुग्ने अनुमान गरेको हो ।

विभागको अनुमान अनुसार राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको रहने छ । उक्त प्रदेशको हिस्सा ४.१ प्रतिशत अर्थात् उपभोक्ता मूल्यमा १ खर्ब ९८ अर्ब रुपैयाँ रहने छ ।

कोभिड–१९ महामारीपछि देशको अर्थतन्त्र सामान्य अवस्थामा फर्किन खोजेकोले चालु आर्थिक वर्षमा देशको अर्थतन्त्रको आकार बढ्ने अर्थात् राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर बढ्ने अनुमान विभागले गरेको हो ।

बागमतीपछि सबैभन्दा बढी हिस्सा प्रदेश १ को रहने छ । त्यसपछि, लुम्बिनी, मधेस, डण्डकी र सुदूरपश्चिम प्रदेशको रहने छ ।

त्यस्तै, कुल गार्हस्थ्य उत्पादनमा हुने वृद्धिदर(जीडीपी वृद्धिदर)का आधारमा बागमती प्रदेशको सबैभन्दा बढी ६.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा बम ४.६ प्रतिशत रहने अनुमान गरिएको छ ।

औद्योगिक वर्गीकरणका आधारमा आर्थिक क्रियाकलापलाई हेर्दा गत आवर चालु आवमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ । बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी छ । यसो हुनुमा यस प्रदेशमा बढ्दो शहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठुला व्यापारिक कारोवार कारण रहेको विभागले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेश दोस्रो हिस्सामै कायम रहेका छन् भने बागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोवार तथा आफ्नै आवासको सेवाको हिस्सा दोस्रो छ ।

यसैगरी गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र सुरक्षा क्षेत्रको योगदान दोस्रो देखिन्छ ।

बागमती र मधेश प्रदेश बाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ ।

कुन प्रदेशको हिस्सा कति ?

प्रदेश १ : चालु आर्थिक वर्षमा प्रदेश १ को कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु. ७ खर्ब ६३ अर्ब हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको संशोधित अनुमान करिब रु. ६ खर्ब ७६ अर्ब रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.७ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ ।

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.३ प्रतिशतले थियो भने यस आवमा सुधार आई ५.४ प्रतिशत कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३३.१ प्रतिशत कृषि क्षेत्रको (यहाँ कृषि क्षेत्र भन्नाले कृषि, वन तथा मत्स्यपालन समेतलाई जनाउँछ) रहनेछ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने अनुमान छ ।

मधेस प्रदेश : चालु आर्थिक वर्षमा मधेस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रु. ६ खर्ब ४४ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिब रु. ५ खर्ब ७२ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.४ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा १३.३ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ३.८ प्रतिशत थियो भने यस आवमा सुधार आई ४.८ प्रतिशत कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३४.३ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत खानी तथा उत्खनन् क्षेत्रको रहेको छ ।

बागमती प्रदेश : चालु आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रु. १७ खर्ब ९१ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब रु. १५ खर्ब ६८ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ३७।७ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा ३६।९ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसै गरी गत आव मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४।६ प्रतिशत थियो भने यस आवमा सुधार आई ६।७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान २५।१ प्रतिशतले थोक तथा खुद्रा व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०।१ प्रतिशतले कला तथा मनोरन्जन आदि क्षेत्रको रहेको छ ।

गण्डकी प्रदेश : यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रु. ४ खर्ब ३२ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब रू. ३ खर्ब ८० अर्ब रहेको छ । गत आवमा जस्तै यस प्रदेशले चालु आवमा पनि राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ८.९ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसै गरी गत आव मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ३.७ प्रतिशत थियो भने यस आवमा सुधार आई ६.२ प्रतिशत हुने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २६.० प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

लुम्बिनी प्रदेश : यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रू. ६ खर्ब ८५ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब रू.६ खर्ब ४१ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४।१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा पनि सोहि प्रतिशत नै योगदान पुर्याउने अनुमान गरिएको छ । यसै गरी गत आव मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.१ प्रतिशत थियो भने यस आवमा सुधार आई ५.४ प्रतिशत हुने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २९.४ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

कर्णाली प्रदेश : यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रू. १ खर्ब ९८ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिब रू. १ खर्ब ७६ अर्ब रहेको छ । गत आवमा जस्तै यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ । यसै गरी गत आव मा कुलगार्हस्थ उत्पादनको वृद्धि दर ४.३ प्रतिशत थियो भने यस आवमा सुधार आई ५.५ प्रतिशत हुने अनुमान गरिएको छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३१.५ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

सुदुरपश्चिम प्रदेशः यस आर्थिक वर्षमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रू. ३ खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षका संशोधित अनुमान करिब रू. ३ खर्ब १२ अर्ब रहेको छ । गत आवमा जस्तै यस प्रदेशले राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७.० प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसैगरी गत आव मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.२ प्रतिशत थियो भने यस आवमा सुधार आई ४.९ प्रतिशत हुने अनुमान गरिएको छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३३.५ प्रतिशतले कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशतले प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *