सुदूरपश्चिममा शीर्षनेताको चुनावी दौडधुप

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिममा चुनावीसभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्षनेताहरूको दौडधुप बढ्न थालेको छ।

नेपाली कांग्रेसका सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृहजिल्ला डडेलधुरामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत आज कैलाली र कञ्चनपुरमा हुने चुनावीसभालाई सम्बोधन गर्न लागेको सम्बन्धित पार्टीका नेता एवं प्रतिनिधिसभाका सदस्य नारदमुनी रानाले जानकारी दिए। कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावीसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आराजु राणा देउवा कैलालीको लम्कीचुहा, टीकापुर र गोदावरी नगरपालिकालगायतका क्षेत्रमा सत्ता साझेदार दलद्वारा आयोजित छुट्टाछुट्टै चुनावीसभामा सहभागी भई हिजो बुधबार मात्र डडेल्धुरा पुगेकी छन्। कैलालीका १३ पालिकाका प्रमुख–उप्रमुखमा सत्ता साझेदार कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन्।

वडा तहका उम्मेदवारका हकमा भने यी दलबीच तालमेल हुनसकेको छैन। एमालेलगायतका दलले भने एकलरूपमा उम्मेदवारी दिएका छन्। पालिका तहको प्रमुख उपप्रमुखमा गरिएको तालमेलप्रति असहमति राख्दै कतिपय तहमा कांग्रेस, माओवादीका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *