गगनकाे गर्जन- खेर गएकाे ५ वर्षकाे जिम्मा ओलीले लिनुपर्छ

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले खेर गएकाे ५ वर्षकाे जिम्मा नेपालका ठूला कम्युनिष्ट दलले लिनुपर्ने बताएका छन् । बिहीबार बत्तीसपुतलीस्थित अनुपम फूड्ल्यान्डमा आयाेजित एक राजनीतिक कार्यक्रमलाई सम्बाेधन गर्दै महामन्त्री थापाले यस्ताे बताएका हुन् ।

२०७४ सालमा मिलेर कम्युनिष्ट सरकार गठन गरेका एमाले र माओवादी केन्द्रले खेर गएकाे ५ वर्षकाे जिम्मा लिनुपर्ने महामन्त्री थापाकाे भनाइ छ । ‘त्यसमा पनि नेतृत्व गरेकाे हुनाले केपी शर्मा ओलीले लिनुपर्छ,’ महामन्त्री थापाले भनेका छन् । त्यसअघि उनले भने, ‘५ वर्षपहिले नेपाल कम्युनिष्ट पार्टीसँग झन्डै-झन्डै दुईतिहाइ थियाे । साथीहरूले संसद्‌मा टेबुल बजार्दै गर्दा भाँचिन्छ कि भनेर डर लाग्थ्याे हामीलाई । त्यत्तिकाे उहाँहरूमा भ्रम थियाे ठूला हाैँ भन्ने । तर, गर्नलाई त केही पनि गर्नुभएन । आज ५ वर्ष खेर गएकाे छ । यसकाे जिम्मा लिनैपर्छ । लिन्नँ भन्न पाइँदैन ।’

अब जनता जवाफ खाेज्ने स्तरमा उक्लिएकाे उल्लेख गर्दै उनले भने, ‘जवाफ चाहिन्छ अब, ५ वर्षपहिले आउँदै गर्दा काठमाडाैँ कति सफा राख्छु भनेका थिए । उत्तर दिनैपर्छ; काठमाडाैँमा गर्छु भनेकाे के भयाे, के भएन । अब जवाफ चाहिन्छ । अब उत्तर दिनैपर्छ । दिन्नँ भन्न पाइँदैन ।’

यस्तै उनले सिर्जना सिंह यसपटक काठमाडाैँमा जित्नुपर्ने बताए । उनले ठूल्ठूला सपना नबाँडेकाे र साधारण र सानाे काम गर्छु भनेर भनेकाेमा यस्तै मेयर अहिले काठमाडाैँलाई चाहिरहेकाे सुनाउँदै महामन्त्री थापाले भने, ‘काठमाडाैँ सहज हुनुपर्‍याे । सफा हुनुपर्‍याे । यही नै हाे आज हामीलाई चाहिएकाे काठमाडाैँ । त्यसैले एकपटक हामीले सिर्जना सिंहकाे नेतृत्वलाई हेराैँ ।’

त्यसका लागि सबैले पहल गर्नुपर्ने उल्लेख गर्दै उनले थपे, ‘त्यसमा सिर्जना सिंहले मात्रै गर्न सक्नुहुन्न । हामीले पनि उहाँलाई साथ दिनुपर्छ । जनतासँग जाेडिनुपर्छ । जनता भनेका अहिलेका निर्णायक शक्ति हुन् । इमान्दार भएर जनतामा जानुस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *