बागीलाई सघाएको आरोपमा एमालेबाट आठजना निष्कासित

काठमाडौँ । नेकपा (एमाले) मेचीनगरले पार्टीबाट उम्मेदवारी दिएकाविरुद्ध बागी उठेका उम्मेदवारलाई सघाएको आरोपमा आठजनालाई कारबाही गरेको छ।

मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिएका छन्। उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे एमालेका क्षेत्रीय कमिटीको संयोजक थिए।

पार्टीबाट निष्कासित हुनेमा उपप्रमुखका बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी रहेका छन्। वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिएका तिलक न्यौपाने र उनका समर्थक बसेका मेघनाथ बास्तोलालाई पनि एमालेले कारबाही गरेको छ।

बागी उम्मेदवार न्यौपानेको प्रचार प्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईंलाई समेत अनुशासन उल्लङ्घन गरेको आरोपमा एमालेले कारबाही गरेको छ। वडा नं ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेदवार नेत्रप्रसाद दाहाललाईसमेत पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *