क्यालकुलेटर बोकेर हिँड्दिनँ, मेरो तराजुमा ‘वीनीङ्ग भोट’ आउँछ : समीक्षा बाँस्कोटा (भिडिओवार्ता)

‘मिलनजीहरू पार्टीमा हुनुहुन्न, तर राजनीतिक विमतिले मतमा केही असर गर्दैन’

काठमाडौँ । स्थानीय तह सदस्यको निर्वाचन हुन अब ८ दिनमात्रै बाँकी छ । उम्मेदवारहरू मतदाताका घर-घर पुगिरहेका छन् । संघीय राजधानी काठमाडौँको माहोल पनि योभन्दा फरक छैन । काठमाडौँमा उम्मेदवार बनेका ४५ भन्दा धेरै उम्मेदवारमध्ये केही तीव्र रूपमा घरदैलो कार्यक्रममा व्यस्त छन् । यही सूचीमा पर्ने एक उम्मेदवार हुन् समीक्षा बाँस्कोटा । उनी रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँको मेयरको उम्मेदवार बनेकी हुन् । उनी तीव्र घरदैलो कार्यक्रममा व्यस्त छन् ।

समीक्षा घर-घर पुग्दा जनताका सकारात्मक प्रतिक्रिया पाएको बताउँछिन् । ‘विवेकशील साझा पार्टीसँग काठमाडौँमा आफ्नै मतदाता कम छन्,’ समीक्षा स्वीकार्छिन्, ‘तर यसपटक महानगरवासीहरूको प्रतिक्रिया राम्रो छ, उहाँहरूले बुझ्नुभएकाे छ । उहाँहरूले मन र मत परिवर्तन गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु र गरिसक्नुभएकाे पनि छ ।’

‘मेरो तराजुमा वीनीङ्ग भोट आउँछ’

समीक्षा आफ्नो पक्षमा ‘वीनीङ्ग भोट’ आउने दाबी गर्छिन् । तपाईंको पक्षमा मोटामोटी कति मत खस्छ (?) भन्ने मकालुखबरको जिज्ञासामा उनले भनिन्, ‘म यत्ति नै भनेर भन्दिनँ, म क्यालकुलेटर बोकेर पनि हिँड्दिनँ । तर मेरो पक्षमा डिसाइडेड मत आउँछ, वीनीङ्ग मत आउँछ । म यसमा ढुक्क छु । मैले अहिल्यै मेराे मतसङ्ख्या भनेर मतदातालाई हताेत्साहित वा नराम्राे पार्न चाहन्नँ । मैले यहाँ यत्ति भनेर भनुँला, उहाँहरूले डबल मत दिएर जिताउने भनेर भनेका थियाैँ भनेर पछि फेरि उहाँहरूले भन्नुहाेला । त्याे भएर पनि म भन्दिनँ । जे हाेस् मेराे पक्षमा डिसाइडेड मत आउँछ ।’

आफू जित्नकै लागि उम्मेदवार बनेको जिकिर समीक्षाको छ । ‘मलाई महानगरवासीप्रति पूर्ण विश्वास छ,’ उनले भनिन्, ‘चुनावी मैदानमा आइसकेपछि उम्मेदवारहरूको अर्जुनदृष्टि जितमा नै हुन्छ । मेरो पनि त्यहीँ नै छ । यसका केही आधारहरू पनि छन् । मैले यसै यसो भनिरहेको छैन ।’

‘सिर्जना-केशवहरूको पारिवारिक, राजनीतिक लीगेसी चिर्न सक्छु’

समीक्षा गठबन्धनकी उम्मेदवार सिर्जना सिंह र एमालेका उम्मेदवार केशव स्थापितलगायतका उम्मेदवारहरूको हरेकखाले ‘लीगेसी’ चिर्न आफू सक्षम रहेकोमा विश्वस्त छिन् । आफूलाई सिर्जना-केशवभन्दा कमजोर उम्मेदवारका रूपमा आफूलाई नलिएको प्रष्टोक्ति उनको छ, भन्छिन्— ‘म जित र जनताको सेवाको रेसमा छु । मैले आफूलाई कुनै उम्मेदवारभन्दा कमजोरजस्तो लाग्दैन ।’

त्यसो त महानगरवासी (मतदाता) पनि सचेत भइसकेकाे समीक्षाको बुझाइ छ । कांग्रेसले नभए कम्युनिष्ट र कम्युनिष्टले नभए कांग्रेस भन्ने सोचबाट मतदाताहरूसमेत माथि उठेको सुनाउँदै उनी थप्छिन्, ‘हो उहाँहरू ठूला पार्टीका उम्मेदवार हुनुहोला । उहाँहरूको पारिवारिक तथा राजनीतिक लीगेसी माथि होला । तर, यहाँ शक्तिशाली भनेका मतदाताहरू हुन् र उनीहरू कसैका दास होइनन् । महानगरवासीहरू कुनै एक दलको मात्रै पेवा होइनन् । अब उहाँहरूले परिवर्तन हुनुपर्छ र भइसक्नुभएको पनि छ । यस अर्थमा म उहाँहरूको लीगेसीलाई चिर्न सक्छु, यसमा म ढुक्क छु ।’

एजेन्डा र भीजनका हिसाबले पनि यसपटक मतदाताले विवेकशीला साझा पार्टीको तराजु रोज्ने समीक्षाको ठम्याइँ छ । आफूहरूले कांग्रेस र कम्युनिष्टको भन्दा फरक र जनताकेन्द्रित एजेन्डा ल्याएको उल्लेख गर्दै उनले भनिन्, ‘हामीले कांग्रेस र कम्युनिष्टलाई धेरैपटक हेर्‍याैँ अब फरक दललाई हेर्नुपर्छ भनेर जनताले भनेका छन् । हाम्रो त एजेन्डा पनि फरक छ, हामीले सर्भीसको डेलीभरी भनेका छौँ । याद गर्नुहोला । कांग्रेस-कम्युनिष्टले कहिल्यै सर्भीसको डेलीभरी भनेका छैनन् । हामी ई-सरकार बनाउँछौँ । तपाईंले कुनै काम गर्नुपर्‍याे याे भने घरमै बसेर मोबाइलबाट खाना अर्डर गरेजस्तो गर्नुस् सर्भीस दिने जिम्मा हाम्रो हुन्छ ।’

गणेशमान सिंहलाई काम गर्न नदिने कांग्रेसले सिर्जनालाई काम गर्न दिने कुरामा निःसन्देश रहन नसकिने समीक्षा स्मरण गराउँछिन् । ‘गणेशमान जस्तो सर्वोच्च नेतालाई त पार्टीले काम गर्न दिएन अनि सिर्जना सिंहजस्तो नेतृलाई कांग्रेसले काम गर्न दिन्छजस्तो लाग्दैन,’ उनले भनिन् ।

‘राजनीतिक विमतिले मतमा असर गर्दैन’

२०७४ सालको स्थानीय तहको निर्वाचनसम्म साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भइसकेको थिएन । त्यसबेला यी दुवै दल छुट्टाछुट्टै लडेका थिए । साझा र विवेकशीलबाट क्रमशः किशोर थापा र रञ्जु दर्शना उम्मेदवार बनेका थिए । त्यसबेला थापाले १८ हजार ४ सय ९६ मत पाएका थिए भने दर्शनाले २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन् ।

अहिले दर्शना पार्टीमै छैनन् । उनी उम्मेदवारसमेत बनेकी छैनन् । तर, उनको मत भने आफूलाई आउने समीक्षा बताउँछिन् । ‘हामी जहाँ जहाँ पुग्यौँ घरदैलो कार्यक्रम लिएर त्यसमा सकारात्मक प्रतिक्रिया पाएका छौँ,’ उनी भन्छिन्, ‘त्यसो हुँदा २०७४ सालमा उहाँ (रञ्जु दर्शना) ले पाउनुभएको मत पनि मलाई आउँछ । हामी कानूनी रूपमा छुटिएका हाेइनाैँ । कानूनी रूपमा नछुटिसकेपछि राजनीतिक र सैद्धान्तिकरूपमा एकैठाउँ हाे ।’

पार्टीका संयोजक मिलन पाण्डेसँगै दर्शना, संगठन विभाग प्रमुख केशव दाहाललगायतका नेताहरू पार्टीमा नहुँदा पनि त्यसले मतदाताको हिसाबले कुनै असर नपर्ने उनको भनाइ छ । उनी थप्छिन्, ‘विचारभन्दा माथि देश आएपछि उहाँहरूसँग केही राजनीतिक असहमति रह्यो । तर, यसले खास रूपमा मलाई फरक पर्दैन भन्ने लाग्छ । मतदाताहरूको कोणबाट हेर्दापनि यो देख्छु ।’

‘मेयर बनेँ भने सबैभन्दा पहिले मेरो कुर्सी ग्राउन्डफ्लोरमा झार्छु’

समीक्षा आफू मेयरमा निर्वाचित बने सबैभन्दा पहिले आफ्ने कुर्सी ४ तला माथिबाट ग्राउन्डफ्लोरमा झार्ने बताउँछिन् । ‘म ग्राउन्डेड नै मान्छे हुँ,’ उनले भनिन्, ‘म मेयर बने भनेँ सबैभन्दा पहिले मेरो कुर्सी ४ तला माथिबाट ग्राउन्डफ्लोरमा झार्छु ।’

जनताका सुविधाका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । ‘जहाँ मलाई एउटा शारीरिक रूपले असक्त जनताले पनि भेटुन, मत यही चाहन्छु । माथि ४तलामाथि बसेर आफूलाई ठूलो देखाउँदिनँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *