गाउँपालिका अध्यक्षका उम्मेदवारविरुद्ध पक्राउ पुर्जी

काठमाडाैँ । नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका मनिष भनिने मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो ।

उनीविरुद्ध बैंकिङ कसुर तथा किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको हो । वैशाख १६ गते अदालतले ओखलढुंगा प्रहरीलाई पक्राउ पुर्जी पठाएको हो । उनीविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा पनि उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट समेत अनुसन्धान सुरु भएको छ ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुंगाबाट दोहोरो नागरिकता लिएको उजुरी परेको छ । भक्तपुर जिल्ला अदालतले पठाएको पक्राउ पुर्जीमा उनलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा फरार सूचीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

‘उनीविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा उजुरी दर्ता भइसकेको छ,’ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक(डीएसपी) सुकदेव खनालले भने, ‘अनुसन्धान भइरहेको छ, प्रमाणहरु लगभग जुटाइसकेका छौँ, सबै प्रक्रिया पूरा भइसकेपछि पक्राउ गरि अदालत लैजान्छौँ ।’ नेपाली कांग्रेसको तर्फबाट लिखु गाउँपालिकाकै अध्यक्ष पदका उम्मेदवार अशोक कार्कीले विष्टविरुद्ध निर्वाचन अधिकृतलाई दोहोरो नागरिकता र बैंकिङ कसुरमा कालोसूचीमा परेको भनी उजुरी दर्ता गरेका थिए ।

निर्वाचन अधिकृत राजेशकुमार थापाले ‘पछि कानुनबमोजिम हुने गरी हाललाई मनोनयन पत्र खारेज गरिरहनु नपर्ने’ भनी निर्णय गरेपछि उनको उम्मेदवारी खारेज हुनबाट जोगिएको छ । तर प्रहरीले उनलाई फरार सूचीमा राखेर खोजबिन थालेको छ । निर्वाचन आयोगको मतदाता नामावली सूचीमा पनि फरक-फरक दुई नाम रहेको छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *