विराटनगरमा ‘लालटिन’ चुनाव चिह्नमा प्यानल नै तयार

विराटनगर । विराटनगर महानगरपालिकामा चुनाव चिह्न लालटिनको गठबन्धन बनेको छ। विभिन्न दलहरूमा विद्रोह गरेका तथा टिकट नपाएकाहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए। स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाहरू मध्ये २४ जनाले चुनाव चिह्न लालटिन पाएका छन्।
जनता समाजवादी पार्टी परित्याग गरेर स्वतन्त्र मेयरको उम्मेदवारी दिएका उमेश यादवले लालटिन लिएपछि गठबन्धनबाट नै विद्रोह गरी माओवादी छाडेर स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले पनि लालटिन लिएकी छिन्। यी दुवैले मिलेर एउटै चुनाव चिह्न लिने सहमति गरेका हुन्।

शुरूमा यादवले ‘चपाकल’ चुनाव चिह्न लिने भनेपनि त्यही चपाकल वर्णानुक्रमअनुसार उपमेयरकी अर्की स्वतन्त्र उम्मेदवार गंगादेवी सुवेदीले नै रोजेपछि उमेशले पनि आफ्नो चुनाव चिह्न लालटिन रोजेका थिए। यादवले लालटिन लिने भएपनि नमिताले त्यही चुनाव चिह्न पाएकी थिइन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा जसपा र माओवादीबीच गठबन्धन हुँदा मेयर पदमा यादव र उपमेयर पदमा न्यौपानेले संयुक्त चुनावी अभियान चलाएका थिए।

२०७९ को स्थानीय तह निर्वाचनमा पनि संयुक्त चुनावी अभियान हुने भएको छ। उनीहरूले एउटै चुनाव चिह्न लिएर अघि बढ्ने बताएका छन्। यादव र न्यौपानलेले लालटिन चुनाव चिह्न लिएपछि उपमेयरकी उम्मेदवार सुबेदीले चापाकल चुनाव चिह्न पाएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए। एउटै चुनाव चिह्न पाएसँगै संयुक्त चुनावी कार्यक्रम गर्ने उनीहरूको तयारी छ।

त्यस्तै, वडा अध्यक्षहरूले पनि लालटिन चुनाव चिह्न लिएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका ९ जना वडा अध्यक्षका उम्मेदवारले चुनाव चिह्न लालटिन लिएका छन्। विराटनगर महानगरपालिका वडा नं २ का भरत ठाकुर, ३ का विक्रम कार्की, ४ का सुभाषचन्द्र यादव, ८ का फुल मोहम्मद, ९ का देशबन्धु ढकाल, १० का माधवराज वाग्लेले वडा अध्यक्ष पदमा चुनाव चिह्न लालटिन लिएका हुन्।

साथै, वडा नं ११ का निर्मल तामाङ, वडा नं १४ का बबुवा तामाङ र  १८ का जितेन्द्रकुमार साहले पनि लालटिन चिह्नमा वडा अध्यक्षको लागि चुनाव लड्दैछन्। वडा अध्यक्ष मात्र हैन वडा सदस्यहरूले पनि लालटिनमै चुनाव लड्ने भएका छन्। वडा नम्बर १३ की आशा देव, वडा नम्बर १८ की टुरिया यावदले महिला वडा सदस्यमा सो चुनाव चिह्न लिएका छन्। वडा नं २ का इन्द्रलाल राजवंशी र दीपककुमार पाठक, ४ का कमलप्रसाद यादव र सोमी महतो, ९ का जतिन ताम्राकार, १० का विरेन्द्रबहादुर खड्का क्षेत्री, ११ का मनोज खतिवडा, १५ का कमाल मियाँ, १६ का केवल यादव, १८ का गौरव मण्डल धानुक र शम्भुकुमार यादवले वडा सदस्यमा चुनाव चिह्न लालटिन लिएको सहायक निर्वाचन अधिकृत बुढाथोकीले जानकारी दिए।

विराटनगर महानगरपालिकामा ४४ जना स्वतन्त्र उम्मेदवारको मनोनयन कायम भएको थियो। उपमेयरकी उम्मेदवार गंगादेवी सुवेदीसहितका ५ जनाले चुनाव चिह्न चापाकल लिएका छन्। नेपाली कांग्रेसबाट बागी उम्मेदवार भएकी सुवेदीलाई कांग्रेसले उम्मेदवारी फिर्ता लिन दबाब दिएको भएपनि उनले फिर्ता नलिएकी हुन्। चापाकल चुनाव चिह्न पाउने समूहमा सुबेदीसहित वडा नं ३ का वडा अध्यक्षका उम्मेदवार शत्रुघन चन्द्र पौडेल, ६ का ध्रुवकुमार विश्वकर्मा र १४ का राजुकुमार ताम्राकार छन्।

त्यस्तै, वडा नं ५ का वडा सदस्यका उम्मेदवार देवीप्रसाद कोइरालाले पनि चापाकल चुनाव चिह्न पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *