मतदातालाई दलहरूका यस्ता ‘अफरै-अफर’

एमाले
– प्रत्येक घरमा विद्युत् उपलब्ध गराउने, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा असहायको लगत संकलन र सहयोगको अभियान सञ्चालन गर्ने र घरमै नि:शुल्क स्वास्थ्य परीक्षण सेवा

कांग्रेस
– नियमित उपस्थित हुने विद्यार्थीका अभिभावकलाई समेत हरेक तीन महिनामा सम्मान
– सुत्केरी महिलालाई पाँच हजार भत्ता
– कृषि विद्युत्मा ५० प्रतिशत छुट

माओवादी
– स्वास्थ्य सेवालाई नि:शुल्क बनाउन एक सय १० वटा औषधि निःशुल्क वितरण गर्ने
– १२ कक्षासम्मको शिक्षा पनि निःशुल्क
– एलपी ग्यासको आयात प्रतिस्थापन गर्न प्रत्येक घरमा निःशुल्क विद्युतीय चुलो

एकीकृत समाजवादी
– हरेक घरपरिवारलाई वार्षिक दुई सय युनिटसम्म विद्युत् महसुल छुट
– हरेक परिवारलाई खानेपानी नि:शुल्क

जसपा
– शौचालय सुविधा नपुगेका घरपरिवारलाई १० हजार अनुदान

लोसपा
– स्नातक अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको वेलामा ५१ हजार सहयोग
– सुत्केरीलाई ५१ सय रुपैैयाँ सहयोग

राप्रपा
– सुत्केरीलाई तीन महिनासम्म तीन हजार मासिक भत्ता, गाईभैँसीलाई पनि सुत्केरी भत्ता

*** ***

स्थानीय निकायमा विकास, समृद्धि र सुशासनको विषय मात्र होइन, प्रमुख राजनीतिक दलहरूले आसन्न ३० वैशाखमा हुने निर्वाचनका लागि जारी गरेका घोषणापत्रमा मतदाताका लागि कैयौँ ‘अफर’ पनि घोषणा गरेका छन् । स्मार्ट सिटीका नारास“गै मतदाता लोभ्याउने गरी दलहरूले हातहातमा नगद सहयोगदेखि निःशुल्क बिजुली र पानीसम्मका ‘अफर’को प्रतिबद्धता गरेका छन् ।

कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपालगायतका दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । आसन्न स्थानीय तह निर्वाचनका लागि शुक्रबार मात्रै घोषणापत्र सार्वजनिक गरेको लोसपाले पनि मतदाताका लागि ‘अफरै–अफर’ ल्याएको छ ।

१० वैचारिक धरातल र २० बुँदे प्रतिबद्धतासहितको घोषणापत्रमा लोसपाले विवाह र प्रसूति हुँदा महिलालाई नगद सहयोग दिनेलगायतका ‘अफर’ ल्याएको छ । उसले निःशुल्क शिक्षा र सर्वसुलभ स्वास्थ्यदेखि स्मार्ट स्थानीय तहसम्मका विषय घोषणापत्रमा राखेको छ ।

पार्टी कार्यालय बबरमहलमा घोषणापत्र सार्वजनिक गरेको लोसपाले स्नातक अध्ययन गरेका र कमजोर आर्थिक अवस्था भएका छात्रालाई विवाहमा ५१ हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता छ । यसले बालविवाहलाई निरुत्साहित गर्ने लोसपाको विश्वास छ ।

‘स्नातक अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको वेलामा ५१ हजार प्रदान गरिनेछ । यसले बालविवाह र कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्नेछ,’ लोसपाको घोषणापत्रमा छ, ‘साथै, महिलालाई उच्च शिक्षाका लागि प्रोत्साहन दिइनेछ ।’

प्रसूतिका वेला हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहका लागि ५१ सय रुपैैयाँ प्रदान गर्ने लोसपाको घोषणापत्रमा छ । यसबाहेक विपन्न वर्गका गृहणी तथा महिलालाई ग्यास चुलो एवं सिलिन्डर वितरण गरिने लोसपाको प्रतिबद्धता छ ।

‘एक पालिका एक उत्पादन’को नारा पनि अघि सारेको लोसपाले कृषि आम्दानी कृषकको हातमा नपुगेको भन्दै कृषकको ढोकैमा पुगेर उचित मूल्यमा कृषि उत्पादन खरिद गर्ने बताएको छ । यसबाहेक लोसपाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा विभिन्न प्रतिबद्धता पनि व्यक्त गरेकोे छ ।

लोसपाले पालिकास्तरमा सभागृह, सम्मेलनस्थल र बसपार्कजस्ता अत्यावश्यक भौतिक संरचनाको निर्माण गरिने बताएको छ । घोषणापत्रमा भनिएको छ, ‘पालिकास्तरमा सभागृह, सम्मेलनस्थल र बसपार्कजस्ता अत्यावश्यक भौतिक संरचनाको निर्माण गरिनेछ र तिनको उचित प्रयोग र संरक्षणमा ध्यान पुर्‍याइनेछ ।’

‘सबल स्थानीय सरकार, समुन्नत गाउँनगर’ को नारा दिएको कांग्रेसले घोषणापत्रमा स्थानीय सरकारका योजना प्रस्तुत गरेको छ । कोखदेखि शोकसम्म सामाजिक सुरक्षाको व्यवस्था गर्ने कांग्रेसको अफर छ । समुन्नत नेपालको राष्ट्रिय अभियान अगाडि बढाउन पार्टीले तीनै तहको सरकारको नेतृत्व गर्न चाहेको कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।

शिक्षा, स्वास्थ्य, कृषिलगायत विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको छ । शिक्षा र स्वास्थ्यलाई ध्यान दिएको कांग्रेसले सिकाइकेन्द्रित विद्यालय स्थापनामा जोड दिएको छ । स्थानीय तहमा कम्तीमा एउटा ‘व्यावसायिक सीप विद्यालय’ सञ्चालन गर्ने उसको योजना छ । विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीका अभिभावकलाई समेत हरेक तीन महिनामा सम्मान गरिने योजना कांग्रेसको छ ।

स्वास्थ्य क्षेत्रमा कांग्रेसले ‘सबैलाई स्वास्थ्य बिमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी’ नारा अघि सारेको छ । कांग्रेसले सुत्केरी महिलालाई पाँच हजार सुत्केरी सहायता भत्ता दिने बताएको छ । कृषि क्षेत्रमा किसान कल्याणका लागि कृषि उत्पादनमा खपत हुने कृषि विद्युत्मा ५० प्रतिशत छुट दिने बताएको छ ।

अति विपन्न घरपरिवारलाई परिचयपत्रका आधारमा रासन दिने, साना किसानलाई १० हजारबराबरको किसान क्रेडिट कार्ड उपलब्ध गराउने, बजारीकरणका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने कांग्रेसको संकल्प छ ।

हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्‍याउने, सबै सार्वजनिक स्थानमा नि:शुल्क वाइफाइको व्यवस्था गर्नेसमेत बताएको छ । स्थानीय पूर्वाधार निर्माणलाई पनि कांग्रेसले घोषणापत्रमा समेटेको छ । एक स्थानीय तह एक पर्यटन पूर्वाधारको व्यवस्था गर्ने, एक वडा एक खेलमैदान निर्माण गर्ने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्‍याउने, सबै गाउँ– नगरपालिका केन्द्रबाट वडा केन्द्रसम्म सडक पुर्‍याउनेलगायत योजना कांग्रेसले अघि सारेको छ ।

एमालेले प्रत्येक घरमा विद्युत् उपलब्ध गराउने, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा असहायको लगत संकलन र सहयोगको अभियान सञ्चालन गर्ने र उनीहरूका लागि घरमै नि:शुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने योजना ल्याएको छ । अशक्त अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई घरैमा भत्ता उपलब्ध गराइने एमालेको घोषणापत्रमा छ ।

एक घर एक धारा अभियानअन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गरिदिने एमालेको भनाइ छ । किसानहरूले रासायनिक मल खरिदमा पाइरहेको हैरानीलाई समाधान गरिदिने, देशभित्र मल कारखाना खोल्ने एमालेको संकल्प छ ।

प्रत्येक पालिकामा कम्तीमा एउटा प्राविधिक धारको विद्यालय खोल्ने प्रतिबद्धता गरेको छ । माध्यमिक शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य बनाउने र सामुदायिक विद्यालयको गुणस्तर विकास गरेर स्थानीय विद्यालयमै पढ्ने वातावरण निर्माण गर्ने एमालेको लक्ष्य छ ।

प्रत्येक पालिकामा अस्पताल निर्माण गर्ने एमालेको योजना छ । प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने र प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने एमालेको भनाइ छ । मोटरबाटो पुग्न कठिन ठाउँमा उसले केबुलकार पुर्‍याउने आश्वासन दिएको छ ।

माओवादीले जनतालाई आधारभूत स्वास्थ्य नि:शुल्क उपलब्ध गराउने बताएको छ । जसअन्तर्गत सबै नगर–गाउँपालिकामा आधारभूत अस्पताल र सबै वडामा स्वास्थ्य केन्द्रहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिने र आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउन एक सय १० वटा औषधि नि:शुल्क वितरण गर्ने उसको अफर छ ।

१२ कक्षासम्मको शिक्षा पनि निःशुल्क दिने माओवादीको योजना छ । माओवादीले सबै वडामा विद्युतीकरणको व्यवस्था मिलाइने बताएको छ । ‘एलपी ग्यासको आयात प्रतिस्थापन गर्न र जनतामा विद्युत्को उपभोग बढाउन स्थानीय सरकारद्वारा प्रत्येक घरधुरीलाई विद्युतीय चुलो नि:शुल्क उपलब्ध गराउने व्यवस्था मिलाइनेछ,’ माओवादीको अपिलमा छ ।

एमालेबाट छुट्टिएर पहिलोपटक स्थानीय चुनावमा भाग लिन थालेको एकीकृत समाजवादीका ‘अफर’ पनि आकर्षक छन् । उसले स्थानीय सरकारमार्फत हरेक घरपरिवारलाई वार्षिक दुई सय युनिटसम्म विद्युत् महसुल छुट दिने योजना ल्याएको छ ।

हरेक परिवारलाई खानेपानीसमेत सित्तैमा वितरण गर्ने उसको योजना छ । ‘पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी नि:शुल्क रूपमा उपलब्ध गराइनेछ,’ एकीकृत समाजवादीको घोषणापत्रमा छ ।

स्वास्थ्य क्षेत्र खर्चिलो र सर्वसाधारणले धान्नै नसक्ने बनिरहेका वेला एकीकृत समाजवादीले जटिल खालका शल्यक्रिया (जस्तै– मुटु, मिर्गाैला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट नि:शुल्क उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेको छ ।

किसानहरूलाई पनि एकीकृत समाजवादीको सुन्दर ‘अफर’ छ । हरेक पालिकामा माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने, कृषिऔजार सुलभ मूल्यमा उपलब्ध गराउने, निम्न आय भएका कृषकलाई राज्यले आयआर्जनको स्रोत उपलब्ध गराउनेलगायतका सुविधा दिने उल्लेख छ । खेलकुदतिर चासो हुनेलाई हरेक वडामा खेलमैदान निर्माण गरिदिने उसको योजना छ । पुस्तकप्रेमीका लागि हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालयसमेत निर्माण गर्ने उसको घोषणापत्रमा छ ।

जनता समाजवादी पार्टीले सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीमा दुई सय रुपैयाँसम्मको महसुल छुट दिने बताएको छ । शौचालय सुविधा नपुगेका घरपरिवारले १० हजार अनुदानसमेत पाउनेछन् । जसपाले एक पालिका एक मोडल स्कुलको अवधारणा अघि सारेको छ । यस योजनाअन्तर्गत हरेक पालिकामा सेवा–सुविधासहितको उच्चस्तरीय नमुना विद्यालय बन्नेछ ।

हरेक गाउँपालिकाका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था खोल्ने, बर्थिङ सेन्टर स्थापना गर्ने उसको नीति छ । पालिकाहरूलाई समृद्ध बनाउन जसपाले हरेक पालिकामा चक्रपथ निर्माण गर्ने बताएको छ । साथसाथै, चक्रपथ, पालिका केन्द्र र वडाका केन्द्र जोड्ने सडकसँग गाउँ, बस्ती तथा टोल लिंक रोड बनाउने उल्लेख छ ।

महानगरमा नगर रेलसेवा विकासको सम्भावनाबारे पनि अध्ययन गर्ने जसपाको योजना छ । खेलकुदको क्षेत्रमा पनि नगरपालिका, उपमहानगरपालिकामा विभिन्न खेल विधाका क्रमशः कम्तीमा तीन र पाँच सुविधासम्पन्न रंगशाला निर्माण गरिने जसपाको प्रतिबद्धता छ । त्यस्तै, प्रत्येक महानगरपालिकामा कम्तीमा दुई–दुई अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने उसको संकल्प छ ।

चुनावी घोषणापत्रमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको राप्रपाले १२ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराउने बताएको छ । गरिबीको रेखामुनि रहेका वर्ग तथा अल्पसंख्यक समूहका न्यूनतम एक–एकजना प्रतिभाशाली विद्यार्थीलाई प्रत्येक वर्ष एमबिबिएस र इन्जिनियरिङ (स्नातक तह) अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउने उसको प्रतिबद्धता छ ।

राप्रपाले गर्भवती महिलाका लागि पनि आशा देखाएको छ । प्रत्येक वडामा प्रसूति सेवा तथा निम्न आय भएका हरेक सुत्केरीले तीन महिनासम्म तीन हजार मासिक भत्ता पाउनेछन् । गाईभैँसीमा समेत सुत्केरी भत्ता दिने उसको प्रतिबद्धता छ । राप्रपाले सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउनेदेखि सबै वडालाई सडक सञ्जालमा जोडी बाह्रै महिना चल्ने कालोपत्रे सडक निर्माण गर्ने बताएको छ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *