ज्वाइँ र भान्जाभान्जी बोलाएर लगानी गर्न लगाउँछाैँ : धनराज आचार्य (अन्तर्वार्ता)

पोखरा । पोखरा महानगरपालिकामा पाँचदलीय गठबन्धनकाे तर्फबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयरको प्रतिस्पर्धामा छन् । उनी लामो समय सामाजिक र व्यावसायिक क्षेत्रमा सक्रिय रहे । विद्यार्थी राजनीतिबाट खारिएका आचार्य पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति मात्रै भएनन्, तत्कालीन नेकपा माले र एमालेका विभिन्न पदमा रहेर कामसमेत गरे ।

परिस्थितिले उनी हाल एकीकृत समाजवादीको जिल्ला अध्यक्ष छन् । गठबन्धनकाे पोखराको ५ वर्षे घोषणापत्र सार्वजनिक गरिसकेको छ । मेट्रोरेलदेखि सामाजिक सुरक्षा भत्ता बढाउनेसम्मका योजना त्यसमा समेटिएका छन् । घोषणापत्रमै आधारित भएर मकालुखबरकर्मी प्रकाश ढकालले उनीसँग छोटो संवाद गरेका छन् । प्रस्तुत छ, संवादकाे संक्षिप्त सम्पादित अंशः—

अहिलेसम्म निर्वाचनमा उम्मेदवारले सपना मात्रै देखाए, तपाईंहरूलाई विश्वास कसरी गर्ने ? 
सपना समयमा देख्नुपर्छ । देखेको सपना पूरा गर्न पैसा छैन, लगाव र मेहनत चाहिन्छ । सबैसँग मिलेर काम गर्ने मन चाहिन्छ । त्यसो भयो भने इम्पोसिवल केही छैन । घोषणापत्र पाँचै दलका थिंक ट्यांकमा छलफल गरेर तयार गरेका हाैँ । एकछिन भन्नका लागि बनाइएकाे हाेइन । भनिएका/लेखिएका सबै शब्दप्रति हामी उत्तरदायी छाैँ ।
सपना त धेरै नै देख्नुभएको छ, त्यो पूरा गर्ने बजेटको कुनै आकलन गर्नुभएको छ, प्राप्ति कहाँबाट गर्ने ? 
अहिले पोखरा महानगरसँग ७ अर्वको बजेट छ । हामीले कामको योजना बनायाैँ भने नेपाल सरकारले पर्यटनको राजधानी घोषणा गर्छ । बजेट विनियोजन गर्छ ।  पोखरामा रहेका सबै पार्टीलाई एकैसाथ लिएर सरकारसँग लबिइङ गर्छाैँ । प्रदेश सरकार हाम्रै आँगनमा छ । ऊ पनि हाम्रो साथमा रहन्छ । सबैभन्दा ठूलो कुरा त, ५ लाख महानगरबासी छन् । उहाँहरूकाे मन जित्न सकियो भने आफ्नो घर बनाउन समस्या छैन ।

हाम्रा दिदिबहिनी र भान्जीहरूलाई पोखरा बोलाउँछाैँ । जन्मेको ठाउँ आउनुस् भन्छाैँ । ज्वाइँ र भान्जाहरूलाई बोलाउँछाैँ । जो संसारका विभिन्न कुनामा छन् । हामीले चेली दिएर पठायाैँ, ससुराली र मावली गाउँलाई केही सहयोग गर्नुस् भन्छाैँ । सीप, ज्ञान र पैसा लिएर आउनुस् भन्छाैँ । कुनै समस्या नहुनेगरी काम गर्न दिन्छाैँ भनेर पार्टनसीप माग्छाैँ । अन्तर्राष्ट्रिय दातृ निकायहरु छन् । न्यून ब्याजमा रकम लगानी गर्ने थुप्रै संस्थाहरु छन्, ग्यारेन्टी हामीले दिनुपर्छ । पोखरेलीले ल्याप्चे थिचेर हामीलाई विश्वास गर्नुहुन्छ । पोखरा विकास प्राधिकरण बनाएर सबै पोखरेलीलाई शेयर होल्डर बनाउन सकिन्छ । यो पनि राम्रो उपाय हुन्छ ।

५ वर्षअगाडि मानबहादुर जिसीले जे सपना देखाएर चुनाव जित्नुभयो, त्यस्तै तपाईंले मेट्रोको सपना देखाउनुभयो । यस्ता सपना पूरा गर्नका लागि हुन् कि चर्चाका लागि ?
अघिल्लो घोषणापत्र पूरा गरिदिएको भए आजको यो परिस्थिति आउने थिएन । मैले पनि विद्रोह गरेर अर्को पार्टीमा जानुपर्ने थिएन । पहिलेका घोषणा पूरा नभएकै कारण अहिलेको अवस्था आएको हो । यो सबै पूरा हुने योजना हुन् । सबै दलसँग यो अठोट छ । हामी पूरा गर्छाैँ ।

गठबन्धनभित्र अझै तनाव कायम छ । यस्तो अवस्थामा कसरी चुनाव जित्नुहुन्छ ?
हाम्रो शरीरभित्र पनि पनि नचाहिने चिजहरू छन् । आफ्नै शरीर हो भने ५ दिन नुहाएनाैँ भने गन्हाउन थाल्छ । तर हामीलाई नचाहिने चिज भनेर शरीर नै फाल्न सक्दैनाैँ । चुनावकाे बेला छ, म उठ्न पाउनुपर्छ भन्ने कुरा सामान्य हो । मैले के कुरा गरिरहेको छु भने, हामीले साझा सवालमा र पोखरामा बनाउने सवालमा कसैको मतभेद छैन । पदका हिसाबले केही तलमाथि भइरहेकाे छ । हामी मिलाएर जान्छाैँ ।

पोखराको सबैभन्दा ठूलो समस्या भनेको भ्रष्टाचार हो । तपाईंको कार्यकालमा भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता गर्न सक्नुहुन्छ ? छ भने विश्वास कसरी गराैँ ?
प्रष्टरूपमा बुझेका छाैँ, मीले लोभ गर्‍याैँ भने भ्रष्टाचार हुन्छ । उपमेयरको उम्मेदवारले भन्नुभएको छ, मलाई कुनै लोभ छैन । म पनि सार्वजनिकरूपमा अपिल गर्छु कि ५ वर्ष भोलेन्टियर गर्न आएको हुँ । गएको २० वर्षमा सामाजिक क्षेत्रमा बिताएको छु । ०५८ सालमा राजनीति पेशा हुन सक्दैन भन्ने आर्टिकल लेखेर बिनेसमा व्यस्त भएँ । त्यस हिसाबले म भ्रष्टाचार गर्दिनँ । मैले गर्दिनँ भने मेरो सिस्टमले पनि भ्रष्टाचार गर्न पाउँदैन । योग्यता र क्षमताअनुसार काम दिन्छाैँ । काम गर्नुभएन भने शाखा परिवर्तन गर्छाैँ, त्यो पनि नभए टर्मिनेट गर्छाैँ ।

भ्रष्टाचार त सिस्टमले हुने हो, माथि दिनुछ भनेर हुने हो । माथिकाले खान्नँ भन्यो भने पैसा किन दिनुपर्‍याे । हामी प्लेट टाँस्छौं, कसैले घुस माग्यो भने यो नम्बरमा एसएमएस गर्नुस् भन्न सक्छाैँ । अरु तरिका पनि हुन्छन् । हामीलाई थाहा नदिइकन कतै भयो भने नागरिकहरूले जानकारी दिनुहोल । त्यसको न्यायिक निरुपण गर्छाैँ । हामी ड्यूटीफूल भएर काम गर्नेछाैँ ।

पोखरामा प्रतिस्पर्धा कडा हुने आकलन छ । तपाईंहरू जित्न सक्ने आधार दिन सक्नुहुन्छ ?
स्वाभाविक छ, हामी यत्ति पुरानाे पार्टी नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमो एकै ठाउँमा छाैँ । ५ पार्टीका ३३ वडैमा संगठन छ, पहिचान छ । उहाँहरू एकैठाउँ हुँदा हार्छाैँ भन्ने त सोच पनि छैन । हामी विजयको नजिक छाैँ । जनमत हाम्रो साथमा छ । नागरिकले परिवर्तन खोज्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *