जहाँ भएको थियो रोचक प्रतिस्पर्धा, ३१२ पालिकामा ५ सयभन्दा कम मतान्तरले जितहार

काठमाडाैँ । ०७४ को निर्वाचनमा देशभरका सात सय ५३ मध्ये तीन सय १२ स्थानीय तहका मेयर/अध्यक्षले पाँच सयभन्दा कम मतान्तरले जित हात पारेका थिए । अझ ३४ स्थानीय तहमा त ५० भन्दा कम मतले जितहार भएको थियो । झिनो मतान्तरले हारजित भएका ठाउँमा दलहरूले आ–आफ्नै ढंगले अहिलेको निर्वाचनको परिणाम आकलन पनि गरिरहेका छन् । तर, यसपटक थपिएका साढे ३६ लाख नयाँ मतदाताले दलहरूको आकलन फेरबदल गर्न सक्छन् ।

अघिल्लो निर्वाचनमा एमालेले एक सय २१ स्थानीय तहको मेयर/अध्यक्ष पाँच सयभन्दा कम मतले जितेको छ, जसमा ३७ नगरपालिका र ८४ गाउँपालिका छन् । त्यस्तै, कांग्रेसले ललितपुर महानगरपालिका, कलैया उपमहानगरपालिका, ३८ नगरपालिका र ७६ गाउँपालिका गरी एक सय १४ स्थानीय तहको मेयर÷अध्यक्ष पाँच सयभन्दा कम मतान्तरले जितेको थियो ।

माओवादी ४३ स्थानीय तहका मेयर÷अध्यक्ष पाँच सयभन्दा कम मतले जितेको थियो, जसमा भरतपुर महानगरपालिका, सात नगरपालिका र ३५ गाउँपालिका छन् । त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरमले ६ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह, तत्कालीन राजपा नेपालले पाँच नगरपालिका र चार गाउँपालिका गरी नौ पालिकाको मेयर/अध्यक्ष पाँच सयभन्दा कम मतान्तरले जितेको थियो । चुनावपछि यी दुई दल एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । तर, अहिले फेरि विभाजित भइसकेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि तीन गाउँपालिकामा झिनो मतान्तरले अध्यक्ष जितेको थियो । अहिले राप्रपा पनि फुटिसकेको छ । कमल थापाले राप्रपा नेपाल बनाएका छन् । तीन गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले पनि पाँच सयभन्दा कम मतले अध्यक्ष जितेको थियो । त्यस्तै, नेपाली जनता दलले एक नगरपालिका र एक गाउँपालिकामा तथा नेपाल लोकतान्त्रिक फोरमले एक गाउँपालिकामा झिनो मतान्तरले जितेको थियो ।

एक सय ३७ स्थानीय तह रहेको प्रदेश १ मा ६६ तहमा पाँच सयभन्दा कम मतान्तरमा हारजित भएको थियो । जसमा १२ नगरपालिका र ५४ गाउँपालिका छन् । त्यस्तै, एक सय ३६ स्थानीय तह रहेको मधेसमा एमाले, कांग्रेस, माओवादीसँग क्षेत्रीय दलहरूको प्रतिस्पर्धा बढी भएको थियो । कलैया उपमहानगरपालिकासहित २७ नगरपालिका र ३० गाउँपालिका गरी ५७ पालिकामा झिनो मतान्तरको हारजित भएको थियो ।

बागमतीमा ललितपुर र भरतपुर महानगरमा निकै प्रतिस्पर्धा भएको थियो । यहाँ नौ नगरपालिका र ३९ गाउँपालिका गरी ५० तहमा पाँच सयभन्दा कम मतले हारजित भएको छ । गण्डकीमा नौ नगरपालिका र २४ गाउँपालिका गरी ३३ तहमा, लुम्बिनीमा आठ नगरपालिका र २३ गाउँपालिका गरी ३१, कर्णालीमा १० नगरपालिका र १४ गाउँपालिका गरी २४ तथा सुदूरपश्चिममा १७ नगरपालिका र ३३ गाउँपालिका गरी ४० पालिकामा पाँच सयभन्दा कम मतले हारजित भएको थियो ।

२०% नयाँ मतदाताले दलहरूको आकलन फेलबदल गर्न सक्छन्
एक करोड ७७ लाख ३३ हजार सात सय २३ लाख मतदातामध्ये साढे ३६ लाख नयाँ मतदाता छन् । उनीहरूमध्ये केही उमेर पुगेर पनि नाम छुटेका हुन् भने अधिकांश नयाँ पुस्ताका छन् । थपिएका मतदातामध्ये करिब ९० प्रतिशत १८ देखि २३ वर्षका छन् । निर्वाचन आयोगले पहिलोपटक निर्वाचनको अघिल्लो दिनलाई ‘कट अफ डेट मानेर’ मतदाता सूची बनाएको छ । यसअनुसार २९ वैशाखसम्म १८ वर्ष पुग्ने पनि मतदाता सूचीमा छन्, जसको संख्या करिब दुई लाख छ । पाँच वर्षको अन्तरालमा थपिएका २० प्रतिशत नयाँ मतदाताले चुनावी परिणाममा दलहरूको आकलन फेरबदल गर्न सक्छन् ।

मत बराबर, गोलाप्रथाबाट निर्णय
झापाको कमल गाउँपालिकामा एमालेकी मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईको बराबर आठ हजार दुई सय ७५ मत आएको थियो । गोलाप्रथामा काफ्ले विजयी भएकी थिइन् । तेस्रो स्थानमा रहेका माओवादीका विमलकुमार संग्रौलाले एक हजार नौ सय नौ मत पाएका थिए ।

जसले २ र ३ भोटअन्तरले जिते
डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्ष माओवादीका दत्तबहादुर शाही दुई मतले मात्रै जितेका थिए । ९ सय ३३ मत पाएका शाहीको निकटतम प्रतिद्वन्द्वी रहेका एमालेका लंकबहादुर रोकायाले ९ सय ३१ मत पाएका थिए ।

त्यस्तै, ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा माओवादीका निशान्त शर्मा बास्तोला एमालेका भीमबहादुर थापामगरको भन्दा तीन मत मात्रै बढी ल्याएर विजयी भएका थिए । बास्तोलाले एक हजार ९०६ र थापामगरले एक हजार ९०३ मत पाएका थिए ।

यी तीनले ६ देखि ८ भोटले जितेका थिए
सिराहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादीका सिद्धार्थ यादव दुई हजार ६ सय ५८ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरम नेपालका शिवजी यादवले उनको भन्दा ६ भोट अर्थात् दुई हजार ६ सय ५२ मत ल्याएका थिए ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा एमालेका विजय राई र पर्साको विन्दबासिनी गाउँपालिकामा तत्कालिन संघीय समाजवादी फोरमका श्रीलाल साह कानू आठ–आठ मतान्तरले विजयी भएका थिए । राईले माओवादीका थामबहादुर राई र साहले कांग्रेसका चन्द्रशिकारप्रसाद बरैलाई पराजित गरेका थिए । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *