बागीलाई शीर्ष नेताको फोन, उम्मेदवारी फिर्ता नलिए कारबाही

काठमाडाैँ । उम्मेदवारी फिर्ता गर्ने कार्यतालिकाअगाडि सत्तागठबन्धनका शीर्ष नेता बागीलाई केन्द्रबाटै सम्झाउने रणनीतिमा लागेका छन् । शुक्रबार बिहानसम्म विभिन्न तहबाट बागीलाई सम्झाउने, तर उम्मेदवारी फिर्ता लिन आनाकानी गरे कारबाही चलाउने शीर्ष नेताहरूको तयारी छ ।

बिहीबार बसेको गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिको बैठकले शुक्रबार बिहानसम्म बागीलाई उम्मेदवारी फिर्ता गराउन पहल जारी राख्ने निर्णय गरेको छ । सोहीअनुसार समिति सदस्य र शीर्ष नेताले नै बागीसँग टेलिफोन सम्पर्क थालेका छन् । कतिपय बागीले शीर्ष नेतासँगको टेलिफोन संवादपछि उम्मेदवारी फिर्ता लिन सहमति जनाएका छन् ।

समितिका सदस्यसचिव केशवराज जोशीका अनुसार बैठकमा स्वतन्त्र उम्मेदवारी फिर्ता गराउनेलगायत विषयमा छलफल भएको थियो । ‘केन्द्रबाट भएको ६ महानगर र ११ उपमहानगर तथा जिल्ला र प्रदेश तहबाट तालमेल भएका छन् । त्यसका बाबजुत पनि गठबन्धनमा रहेका दलहरूबाट विभिन्न ठाउँमा बागी उम्मेदवार कायम भएका छन्,’ उनले भने, ‘जुन दलबाट बागी उम्मेदवार उठेका छन्, तिनै दलले सम्झाउने–बुझाउने जिम्मा लगाइएको छ । पार्टीगत निर्णय भएर परेका उम्मेदवारी पार्टीले फिर्ता लिने, व्यक्तिगत रूपमा हालेकालाई सम्झाउने र नमानेकालाई शीर्ष नेतृत्वबाट शुक्रबार टुंग्याउने निर्णय भएको छ ।’

बैठकमा दलहरूले आ–आफ्नोतर्फबाट भएका बागी र असन्तुष्ट उम्मेदवारीबारे जानकारी गराएका थिए । भरतपुरमा प्रमुख माओवादीले पाएको, तर कांग्रेस कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गराएको, पोखरा महानगरमा प्रमुख एकीकृत समाजवादीले पाए पनि कांग्रेस समर्थकले उम्मेदवारी दर्ता गराएको, जितपुर–सिमरा उपमहानगरमा माओवादीले प्रमुख पाएकोमा गठबन्धनकै अरू दलले उम्मेदवारी दिएको, विराटनगर महानगरमा कांग्रेसले प्रमुख पाएकोमा कांग्रेस छाडेका समर्थकले उम्मेदवारी दिएकोलगायत विषयमा बैठकमा रिपोर्टिङ भएको थियो ।

राष्ट्रिय जनमोर्चाका उपमहासचिव हिमाल पुरीले बैठकमा बागी उम्मेदवारीको नाम निकाल्नेबारे छलफल भएको बताए । ‘सबै पार्टीबाट बागी उम्मेदवारी परेको देखियो,’ उनले भने, ‘हाम्रो मुख्य चासोको विषय एमालेसँग तालमेल भएका स्थानमा हो । एमालेसँग माओवादीको बढी स्थानमा तालमेल भएको देखिएको छ,’ उनले भने, ‘सबै दलले उम्मेदवारी फिर्ता गर्ने वचन दिएका छन् ।’

नेता पुरीले जनमोर्चाले पाउने केही ठाउँमा माओवादी र एमाले मिलेको र काठमाडौंको चन्द्रागिरिमा जनमोर्चालाई दिने भनिएकोमा गठबन्धनकै दलहरूबाट उम्मेदवारी परेको बताए । उनले फिर्ता गराउन सबै दलबाट प्रयास भइरहेको र टुंगिन नसकेका स्थानमा शुक्रबार बिहान शीर्ष नेता बसेर निर्णय गर्ने सहमति भएको बताए । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *