बढ्यो नेपालीको प्रतिव्यक्ति आय, कति पुग्यो ?

काठमाडाैँ । नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ ।

विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो वर्ष आएर १ लाख ६७ हजार रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्षमा एकैपटक १ सय ८१ डलरले बढेर १ हजार ३ सय ७२ डलर पुगेको र यसअघि २०७४÷७५ मा एकैपटक १ सय २९ डलर बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

आर्थिक वर्ष २०६९/७० मा ८ सय १४ डलर रहेको नेपालीको प्रतिव्यक्ति आय एक दशकमा ५ सय ५८ डलर बढेको छ । आर्थिक वर्ष २०७३/७४ पहिलोपटक १ हजार डलर नाघेको थियो । २०७४-७५ मा १ हजार १ सय ३८ डलर, २०७५-७६ मा १ हजार १ सय ५९ डलर, २०७६-७७ मा १ हजार १ सय २६ डलरमा झरेको प्रतिव्यक्ति आय २०७७-७८ मा भने १ हजार १ सय ९१ डलर पुगेको र अहिले १ हजार ३ सय ७२ डलर पुगेको हो ।

आर्थिक वृद्धि ५.८४ प्रतिशत
केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा सोही समयमा ३.८३ प्रतिशतको आर्थिक वृद्धि भएको थियो । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले चालू आर्थिक वर्षमा ४.१ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । यसअघि सरकारले भने चालू आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

प्रमुख आर्थिक सूचकहरूको अवस्था

– कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ताको मूल्यमा ५.८४ प्रतिशत

– कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत

– चालू मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ७३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ

– चालू मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ३२ खर्ब ५१ अर्ब ६ करोड रुपैयाँ

– चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ

विश्व बैंक, एसियाली विकास र आईएफएफजस्ता संस्थाले नेपालको कुल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिसकेका छन् । २०७७-७८ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत भएको थियो भने २०७६-७७ मा माइनस २.४ प्रतिशतबराबरको आर्थिक वृद्धि भएको थियो । विश्व बैंकले चालू वर्षमा बढीमा ३.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले ६ महिनाको आर्थिक अवस्थालाई हेरेर चालू वर्षमा ३.७ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो । यसअघि विश्व बैंकले ३.९ प्रतिशतको प्रक्षेपण गरेको थियो ।

यसअघि एसियाली विकास बैंक (एडीबी)ले पनि नेपालले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । एसियन डेभलपमेन्ट आउटलुक २०२२ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । नेपाल सरकारले भने चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

पाँच खर्बले बढ्यो अर्थतन्त्रको आकार
नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब पुग्ने भएको छ । तथ्यांकअनुसार बजार मूल्यमा आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब र उत्पादन मूल्यका आधारमा ४२ खर्ब ७७ पुग्ने विभागले जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा चालू मूल्यअनुसार आधारभूत मूल्यमा अर्थतन्त्रको आकार ३६ खर्ब ६२ अर्ब रुपैयाँबराबरको छ । आर्थिक वर्ष २०७६-७७ मा भने ३४ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो । यस्तो आकार अघिल्लो वर्षमा भने ४२ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो ।

चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन आधार मूल्यमा ४१ खर्ब पाँच अर्ब ५४ करोडबराबर रहँदा चालू मूल्यअनुसार कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोडबराबर पुगेको छ । विभागका अनुसार चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण १४ खर्ब २५ अर्ब ८ करोडबराबर छ । चालू मूल्यमा अन्तिम उपभोग खर्च ४४ खर्ब १ अर्ब ६७ करोडबराबर छ । चालू मूल्यमा वस्तु तथा सेवा निर्यात ३ अर्ब २० अर्ब ७१ करोडबराबर छ ।

जीडीपीमा कृषि योगदान कायमै
चालू आर्थिक वर्ष २०७८/७९ को कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा विगत वर्षजस्तै कृषि क्षेत्रको रहेको अनुमान गरिएको छ । गत आर्थिक वर्ष कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको २४.९ प्रतिशत हिस्सा ओगटेकोमा चालू आर्थिक वर्षमा यो हिस्सा घटेर २३.९५ प्रतिशत हुन पुगेको अनुमान गरिएको छ ।

समावेश गरिएका २१ वटा औद्योगिक क्रियाकलापमध्ये पछिल्ला ४ आर्थिक क्रियाकलापलाई अन्य सेवाका क्रियाकलापमा समावेश गरी प्रस्तुत गरिएका १८ किसिमका आर्थिक क्रियाकलापमा गत आर्थिक वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनको अंश सामान्य बढ्नेमा यातायात तथा भण्डारण, थोक तथा खुद्रा व्यापार, विद्युत्, ग्याँस, वाष्प तथा वातानुकिलत आपूर्ति सेवा, निर्माण, उद्योग, आवास तथा भोजन सेवा र स्वास्थ्य तथा सामाजिक सेवाका क्रियाकलाप गरी सातवटा क्रियाकलाप छन् ।

सामान्य रूपमा घट्नेमा कृषि वन तथा मत्स्य, घरजग्गा कारोबारको सेवा, वित्तीय मध्यस्थता, सूचना तथा सञ्चार, सार्वजनिक प्रशासन तथा रक्षा, पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलाप, अन्य सेवा, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप र प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप आदि नौ क्रियाकलाप छन् भने खानी तथा उत्खनन् र शिक्षाको हिस्साबराबर नै रहेको छ ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रले ०.५८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान रहेको छ । त्यस्तै, कृषि तथा वन मत्स्यले २३.९५ प्रतिशत, त्यस्तै उद्योगले ५.६५ प्रतिशत, विद्युत्, ग्याँस, वाष्प तथा वातानुकुलित आपूर्ति सेवाबाट १.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ ।

त्यस्तै, निर्माण ६.१७, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा १६.४०, यातायात तथा भण्डारण ५.९८, आवास तथा भोजन सेवा १.६५, सूचना तथा सञ्चार २.०९, वित्तीय मध्यस्थता ६.८६, घरजग्गा कारोबारको सेवा ८.७९, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप ०.९९, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापबाट ०.७८ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा योगदान पुगेको विभागले जनाएको छ ।

त्यस्तै, सार्वजनिक प्रशासनिक तथा रक्षाबाट ७.७३, शिक्षाबाट ८.१, स्वास्थ्य तथा सामाजिक कार्य १.७९, अन्य सेवाका क्रियाकलापबाट ०.६१ प्रतिशत योगदान पुगेको प्रारम्भिक अनुमान छ । नेपालको जीडीपीमा सबैभन्दा बढी कृषि, वन तथा माछापालन क्षेत्रको योगदान २३.९५ प्रतिशत, थोक तथा खुद्रा व्यापारको १६.४० प्रतिशत घरजग्गा क्षेत्रको ८.७९ योगदान रहेको विभागले जनाएको छ ।

२०१८/१९ सालदेखि लेखा अनुमान
नेपालमा राष्ट्रिय लेखा अनुमान २०१८/१९ सालदेखि सुरु गरी २०२१/२२ देखि अविच्छिन्न रूपमा तयार गरी प्रकाशन गरिँदै आएको छ । यसै क्रममा चालू आर्थिक वर्षको ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचना एवं बाँकी अवधिको अनुमान गर्दा केही हालको अवस्था र विगतका अवस्थाका अधारमा वस्तु तथा सेवाको उत्पादन अनुमान गरी २०७८/७९ को प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्यांकका आधारमा गत आर्थिक वर्ष २०७७/७८ को संशोधित अनुमान तथा विगत आर्थिक वर्ष २०७६/७७ को अन्तिम अनुमान प्रकाशित गरिएको हो । हाल प्रकाशित स्थिर मूल्यका अनुमान आर्थिक वर्ष २०६७/६८ को मूल्यमा आधारित छन् । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *