सातामा दुई दिन सार्वजनिक बिदा : नेपालका लागि कति उपयुक्त ?

सरकारले फेरि एकपटक साताको दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । आगामी जेठ महिनादेखि यो व्यवस्था कार्यान्वयनमा ल्याउने भएको हो । यस्तो व्यवस्था यस कारण कार्यान्वयनमा ल्याउन खोजेको छ कि यसले पेट्रोलियम इन्धनको उच्च आयात र खपतलाई घटाउने अपेक्षा छ । उच्च मूल्यवृद्धि भएको पेट्रोलियमको आयात घट्दा यसले वैदेशिक व्यापार घाटा घटाउने र विदेशी मुद्राको सञ्चिति बढाउने अपेक्षा सरकारको छ ।

यातायात व्यवस्था विभागको तथ्यांकलाई आधार मान्ने हो भने नेपालका सरकारी निकायको स्वामित्वमा ४० हजार भन्दा बढी सवारी साधन छन् । ती सवारी साधानले दैनिक औषतमा २ लिटरकै दरले तेल खपत गर्छन् भनेर मान्ने हो भने पनि दैनिक ८० हजार लिटर तेल खपत हुन्छ । यी सवारी साधानले प्रतिलिटर १ सय ५० रुपैयाँकै तेल खपत गर्छन् भनेर मान्ने हो भने पनि दैनिक १ करोड २० लाख रुपैयाँको तेल खपत गर्छन् ।

साताको ६ दिनमा मासिक २४ दिन कार्यालय जान्छन् भन्ने मानेर हिसाब गर्ने हो भने मासिक २८ करोड ८० लाख र वार्षिक ३ अर्ब ४५ करोडको तेल खपत गर्छन् । यस हिसाबले सातामा एक दिन अरु बिदा थप्दा वार्षिक १ अर्ब ७२ करोडको तेल मात्रै बचत हुने देखिन्छ । यसमा बिजुलीको महशुल, टेलिफोन, चिया, पानी, खाजालगायत खर्च जोड्ने हो भने थप अरु बढी बचत हुने देखिन्छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको एक समितिको अध्ययनले समेत यस्तै तथ्य निकालेको छ । उक्त अध्ययन अनुसार हाल शुक्रबार आधा दिन बिदा गर्दा समेत इन्धन, पानी, बिजुली, टेलिफोन जस्ता चिजमा हुने खर्च पूरा कार्यदिनको जत्तिकै छ । त्यसो हुँदा शुक्रबारको आधा कार्यदिनलाई साताका अन्य ५ कार्यदिनमा कार्यअवधि बढाउँदा मिलान गर्न सकिन्छ भन्ने देखिएको छ । सातामा एक दिन बढी कार्यदिन घटाउँदा इन्धन, पानी, बिजुली जस्ता चिजमा हुने खर्च २० प्रतिशतसम्म कटौती हुने उक्त अध्ययनले देखाएको छ ।

त्यस्तै, सातामा ६ दिन काम गर्नुभन्दा ५ दिन काम गरेर दुई दिन बिदामा बस्न पाउँदा कर्मचारीको पारिवारिक तथा व्यक्तिगत जीवनमा पनि सन्तुलन र ताजगी आउने, काममा स्फूर्ति बढ्दा उत्पादकत्व समेत बढ्ने अध्ययनको निश्कर्ष छ ।

दुई दिनको सार्वजनिक बिदामा सबै कर्मचारी सवारी साधन लिएर घुमफिरमा निस्किने हो भने त्यसले तेलको खपत झनै बढाउन सक्छ । तर, बिदा पाएका सबै कर्मचारी दुबै दिन घुमफिरमा निस्किने सम्भावना देखिँदैन । बिदाको व्यवस्थाबाट लाभान्वित हुने झण्डै ७० लाख कर्मचरी मध्ये १० देखि २० प्रतिशत मात्रै भ्रमणका लागि निस्किए भने झण्डै ७ देखि १४ लाख मानिस घुमिफिरमा निस्किने देखिन्छ । यसले देशको आन्तरिक पर्यटन समेत बढ्ने अपेक्षा सरकारको छ । र, तुलनात्मक रुपमा तेलको खपत समेत घट्ने अपेक्षा छ ।

यी यस्तै लाभ हुने र कर्मचारीले आफ्नो काम र पारिवारिक तथा व्यक्तिगत जीवनलाई समेत सहज रुपमा अघि बढाउन सक्छन् भनेर विश्वका विकसित धरैजसो देशमा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

अझ अमेरिका जस्ता विकसित र प्रविधिले सम्पन्न कतिपय देशले त प्रविधिका कारण भविष्यमा मानिस विस्तारै कामविहीन हुँदै जाने र कामविहीन भएको मानिसले काम गर्नुलाई पुनः विलासी जीवनशैली ठान्नेसम्मको परिकल्पना गरेका छन् । त्यस्तो अवस्थामा अहिले काम गर्दा पैसा पाए जस्तो काम गर्नेसँग शुल्क लिनुपर्ने र काम नगर्नेले पैसा पाउने व्यवस्था समेत गर्नुपर्ने अवस्थाको परिकल्पना समेत भइसकेको छ ।

तर, नेपाल जस्तो विकासशील देशले सम्पनन र विकसित हुन अझ बढी उत्पादनमूलक क्षेत्रमा कार्यअवधि बढाउनु पर्ने देखिन्छ । यस्ता क्षेत्रमा गरिने गरिने श्रमको अवधि घटाउने भन्दा बढाउने नै गरी साप्ताहिक कार्यतालिका बनाउँदा दीर्घकालमा देशलाई आर्थिक लाभ हुने देखिन्छ । तत्कालका लागि आयातित इन्धनको खपत घटाउन, कर्मचारीमा पुनःताजगी र स्फूर्ती ल्याउनका लागि भने सातामा दुई दिन बिदा दिने निर्णय गर्नुलाई गलत भन्न मिल्दैन । यद्यपी, नेपालमा साताको २ दिन बिदा कार्यान्वयनमा मौलिक चुनौतीहरु देखिने भने निश्चित छ ।

कार्यान्वयनका जटिलता

हालसम्म कर्मचारीलाई लागेको बानी अनुसार शुक्रबार आधा दिन काम गरेर घर हिँड्ने, शनिबार र आइतबार बिदा बसेर सामेबार पनि कार्यालय समय(९ः३०)मा नभई १०ः३० सम्ममा कार्यालय आउने, कार्यालयबाट भने ४ः३० मै घर निस्कने जस्ता समस्या दोहोरिने निश्चित छ । यसका लागि कार्यालय प्रमुख वा कर्मचारीको कार्यअवधि अनुगमन गर्ने व्यक्ति वा निकायले प्रभावमारी रुपमा दण्ड र पुरस्कारको व्यवस्था लागू गर्न सक्यो भने मात्रै २ दिने बिदा औचित्यपूर्ण हुन्छ । नत्र, कार्यअवधि घट्न जान्छ, सेवाग्राहीले दुःख र हैरानी पाउने क्रम अझ बढ्छ, जुन विकाशशील देशका लागि लाभदायक हुँदैन ।

काठमाडौँ उपत्यका जस्ता धेरै शहरी क्षेत्रमा एकल परिवारमा बस्ने सरकारी सेवामा रहेका एकल परिवारको बसोबास छ । त्यस्ता परिबारमा बाबु आमाले आफ्ना स्कुले छोराछोरीलाई बिहान स्कुल पुर्याएपछि दुवै जना आ–आफ्ना कार्यालय जाने र कार्यालयबाट फर्किएपछि छोराछोरीलाई स्कुलबाट ल्याउने समेत गरिरहेको देखिन्छ । तर, बिहान पनि चाँडो कार्यालय खुल्ने र दिउँसो ढिलोसम्म कार्यालयमै काम गर्नुपर्ने अवस्थाले उनीहरुलाई साना बालबच्चाको हेरचाहका लागि निकै ठूलो चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । ५ दिनभित्र बढ्ने पूरा कार्यअवधिमा कार्यालयको काम गर्न कर्मचारीलाई बाधा सिर्जना गर्ने देखिन्छ ।

विगतकाे असफल अनुभव

यसअघि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ साउन १ बाटा सातामा २ दिन सार्वजनिक बिदाको प्रचलन कार्यान्वयनमा ल्याएका थिए । तर, तर, २०५९ वैशाखमा शेरबहादुर देउवा नेतृत्वको सरकारले यो व्यवस्था हटाएको थियो । त्यसबेला पनि कार्यालय अवधि कम भएकोले सार्वजनिक निकायबाट हुने कार्यसम्पादनमा असर परेको लगायत कारण देखाउँदै आसफल भएको थियो ।

झण्डै २ वर्षअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका तत्कालिन मन्त्री योगेश भट्टराईले समेत आन्तरिक पर्यटनमा टेवा दिने आँकलनका साथ यो व्यवस्था कार्यान्वयनमा ल्याउन खोजेका थिए । तर, अध्ययन गर्दागर्दै उनी पदबाट हटेपटि यो तयारी त्यतिकै रहेको थियो ।

हालका लागि पनि सरकारले यो व्यवस्था परीक्षणकै रुपमा ल्याएको छ । यो व्यवस्थाको कार्यान्वयनमा देखिने सहजता वा जटिलता र लाभ–हानीको नतिजा अनुसार सरकारले यसबारे उपयुक्त निर्णय लिने अपेक्षा गर्न सकिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *