निर्माण व्यवसायी महासङ्घको धर्ना; माग सम्बोधन नभएसम्म कन्स्ट्रक्शन होलिडे जारी रहने

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ।

पछिल्लो समयमा निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटीपूर्ण बुँदाका कारण निर्माण व्यवसाय धराशायी भएको भन्दै महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो। आज बुधबार महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएको छ।

धर्नामा सहभागीहरूले धर्नामा सहभागीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, भुक्तानी हुन बाँकी रहेको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, ११औँ संशोधनमा रहेका त्रुटीहरू सच्चाउनुपर्ने लगायतका मागसहितका प्लेकार्ड प्रदर्शन गरेका हुन्।

महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूका मागका विषयमा राज्यका हरेक तहमा जानकारी गराएपनि सम्बोधन हुन नसकेका कारण आन्दोलन गर्न बाध्य भएको बताएका छन्। निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले समस्या समाधानका लागि राज्यको ध्यानाकर्षण गराइएको उनको भनाइ छ।

महासंघले निर्माण सामग्रीहरूमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि लागू हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *