आङ साङ सुकीलाई पाँच वर्ष जेल; ६ लाख डलर नगद र सुन घुस लिएको आरोप

काठमाडौँ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई म्यानमारस्थित एक अदालतले भ्रष्टाचार मुद्दामा पाँच वर्षको जेल सजाय सुनाएको छ।

उनीमाथि ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड जति सुन घुसका रूपमा लिएको आरोप लागेको छ। यसअघिपनि उनीमाथि  गैरकानुनी रूपमा वाकीटकी राखेको आरोपमा चार वर्ष जेल सजाय सुनाइएको थियो। त्यसअघि, सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा पनि अदालतले उनलाई दोषी ठहर गरेको थियो।

म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि २०२१ को फेब्रुअरी १ मा सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता सार्वजनिक रूपमा नदेखिएकी उनका मुद्दाको बन्द कोठाभित्र सुनुवाइ भइरहेको छ। सुकीविरूद्ध सेनाले १७ वटा आपराधिक मुद्दा दायर गरेको छ। अदालतबाट ती सबैमा मुद्दामा दोषी ठहरिन भने सुकीले १६३ वर्षको कैद सजाय पाउन सक्छिन्।

सैनिक कूभन्दा केही महिनाअघि २०२०को नोभेम्बरमा भएको आमचुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो। चुनावमा धाँधली भएको भन्दै सत्ता कब्जामा लिई सेनाले निष्पक्ष चुनाव गराउने बताएको थियो। तर, सत्ता कब्जा गरेपश्चात सेनाले ‘कू’ गरेपछि नागरिकले सैनिक शासनको प्रतिरोध गर्दै आइरहेका छन्। प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म कम्तीमा १८ सय मानिस मारिएका छन्।

७६ वर्षीया नेतृ सुकी नोबेल शान्ति पुरस्कार विजेता पनि हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *