उपमेयरकी उम्मेदवार कार्कीविरुद्ध उजुरी; भन्छिन्, ‘कुनै पारिश्रमिक लिने पद हैन’

विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न वडाका सदस्य र उपप्रमुख सहित चारजनाविरुद्ध उजुरी परेको छ।

नेकपा एमालेबाट विराटनगरको उपमेयरमा उम्मेदवारी दर्ता गराएकी शिल्पा निराला कार्कीविरुद्ध उजुरी परेको हो। गठबन्धनको तर्फबाट विराटनगरको उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले कार्कीविरुद्ध उजुरी दिएका हुन्। उनले कार्कीविरुद्ध कोशी अस्पतालको विकास समितिको सदस्य रहेको भन्दै उजुरी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार उजुरीका आधारमा कार्कीसँग सोधपुछ गरेपछि मात्र निष्कर्षमा पुग्न सकिनेछ।

केपी ओली नेतृत्वको सरकारले अध्यक्षमा महेश भट्टराईसहित उनलाई कोशी अस्पताल विकास समितिको सदस्यमा नियुक्त गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ माघ २१ गतेको मन्त्रिपरिषद्को निर्णयबाट पदमुक्त गरेको थियो। स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ ले भनेको छ, ‘कुनैपनि स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ।’

उजुरीको बारेमा कार्कीले भने अस्पताल विकास समितिमै बसेको कारण अहिलेसम्म कुनै पनि पारिश्रमिक नलिएको दाबी गरेकी छन्। उनले भनिन्, ‘पारिश्रमिक लिने ठाउँ त्यो हैन। सदस्यको रूपमा रहेकोले उजुरी परेको हुनसक्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *