जागिरे अड्डा बन्दै थला परेको वायुसेवा निगम, चुनावको मुखैमा थपिए दर्जनाैँ कर्मचारी

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक विमान सेवा सञ्चालक सरकारी संस्थान नेपाल वायु सेवा निगमले ठूलाे संख्यामा कर्मचारी भर्ना गरेकाे छ ।

आर्थिक रूपमा थला परेको यो संस्थानले आवश्यक नै नभए पनि चुनावको मुखमा ठूलो संख्यामा कर्मचारी भर्ना गरेको हो ।

निगममा हाल झण्डै १ हजार स्थायी कर्मचारी, २ सयको हाराहारीमा करारका कर्मचारी र १ सयको हाराहारीमा ज्यालादारी कर्मचारी गरी झण्डै १३ सय कर्मचारी छन् । यिनै कर्मचारीलाई काम दिन नसकिरहेको निगमले झण्डै १ सयका हाराहारीमा मासिक ज्यालादारी कर्मचारी भर्ना गरिएको निगमकै अधिकारीहरूले बताएका छन् ।

‘भएकै कर्मचारीलाई काम दिन नसकेर झण्डै ४ सय कर्मचारी बढी भएको देखिएको थियो तर एक महिनाको सेरोफेरोमा झण्डै १ सयको हाराहारीमा कर्मचारी थप गरिएको सुनेको छु,’ देउवा नेतृत्वको सरकार बनेपछि जिम्मेवारीविहीन बनाएर मन्त्रालयमा तानिएका निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।

प्रबन्ध निर्देशक पौडेललाई जिम्मेवारीविहीन गराएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रमेमबहादुर आलेले निगमको नेतृत्वमा ल्याएका वर्तमान कार्यकारी निर्देशक युवराज अधिकारीले पनि कर्मचारी भर्ना गरिएकाे मकालुखबरसँग स्वीकार गरेका छन् ।

‘गरिब तथा असहाय तथा विपन्न वर्गका व्यक्तिहरूलाई हामीले निगमको आवश्यकता अनुसार ज्यालादारी कर्मचारीको रूपमा नियुक्त गरेका छौँ’, मकालुखबरसँग उनले भने । तर, कुन कामका लागि र कति संख्यामा कर्मचारी भर्ना गरेको भन्नेबारे उनले केही बताउन चाहेनन् । ‘यसबारे अर्को साता कुरा गरौँला, यो साता धेरै नै व्यस्त छु । नकारात्मक कुराहरू मात्रै छैनन् । सकारात्मक कुराहरू पनि थुप्रै छन् । थप केही भए ग्राहक सेवा विभागका निर्देशकसँग कुरा गर्नुहोला,’ उनले भने ।

याे पनि

राष्ट्रिय ध्वजावाहकको बेहाल : कर्मचारी ८० दिनदेखि काम रोकेर धर्नामा 

मकालु खबरसँगको कुराकानीमा निगमको ग्राहक सेवा विभागका प्रमुख टंकनिधि दाहालले मानव संसाधन विभाग प्रमुख वा प्रवक्तासँग कुरा गर्न सुझाए । निगमका मानव स्रोत साधन विभाग प्रमुख अशोक सिग्देलले आफूले यसबारे केही बोल्न नमिल्ने भन्दै प्रवक्तासँग कुरा गर्न सुझाए ।

निगमकी प्रवक्ता अर्चना खड्काले पनि आवश्यकताका आधारमा ज्यालादारी कर्मचारी भर्ना गरिएको स्वीकार गरिन् । तर, कति कर्मचारी भर्ना गरिएको भन्नेबारे आफूलाई जानकारी नभएको र मानव संशाधान विभाग प्रमुखलाई नै थाहा हुने बताइन् ।

वायु सेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले पनि ठूलो संख्यामा कर्मचारी थप गरिएको बताए ।

‘गत ६ महिना यता थप गरिएका कर्मचारी जोड्ने हो भने एक सय हाराहारी होलान् तर एक महिना यता २७ कर्मचारी थपिएका हुन्’, उनले भने, ‘राम्रोसँग व्यवस्थापन गर्ने हो भने अहिले भएकै कर्मचारीले काम हुन सक्छ तर निगमको मानव संसाधन विभाग र नेतृत्वले थप कर्मचारी किन आवश्यक ठानेका हुन् हामीले बुझेका छैनौँ ।’

उनका अनुसार भैरहवामा बनेको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा स्टेसन राख्नुपर्ने र उडानहरू थप्नुपर्ने बताउँदै व्यवस्थापनले कर्मचारी थपेको हो । तर, उक्त विमानस्थल सञ्चालनमा आउन अझै टुंगो लागिसकेको छैन । भएकै कर्मचारी पनि बढी भएर काम नपाइरहेको अवस्थामा कर्मचारी थप्नुले थला परेको निगमलाई अझ आर्थिक बोझ थप्ने काम गरेको देखिएको छ ।

ऋणमा डुबेको छ निगम
गएको आर्थिक वर्षको अन्त्यसम्ममा नै निगमको सञ्चित घाटा १० अर्ब रुपैयाँ र ऋण ४७ अर्ब रुपैयाँ पुगिसकेको थियो । खास गरी दुईवटा वाइडबडी जहाज खरिदका लागि निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग गरी कूल २४ अर्ब रुपैयाँ ऋण लिएको थियो । उक्त ऋणको किस्ता र ब्याज बढ्दै जाँदा र सञ्चित घाटाहरू जोड्दा निगम अहिले ठूलो घाटामा देखिएको छ ।

२०७८ को पुस महिनादेखि नै निगमले लिएको ऋणको किस्ता र ब्याज तिर्न सकेको छैन । त्यसो हुँदा यो ऋणको दायित्व निकै ठूलो भइसकेको छ । निगमसँग चल अचल सम्पत्ति गरी झण्डै ८४ अर्बको सम्पत्ति भएको दाबी निगमले गर्दै आएको छ । उक्त सबै सम्पत्ति बिक्री गर्दा बल्ल निगमको ऋण तिर्न पुग्ने अवस्था बनेको छ ।

किन थला पर्‍याे निगम ?
खासगरी पदाधिकरी नियुक्तिमा चरम राजनीतिक भागबन्डा र उड्डयन क्षेत्रको प्राविधिक तथा व्यावसायिक ज्ञान नै नभएका व्यक्तिलाई व्यवस्थापनको नेतृत्वमा ल्याउँदा निगम धराशयी बन्दै गएको हो ।

त्यस्तै, कुनै पनि मूल्यमा निगमलाई विस्थापित गरेर आफ्नो बजार हिस्सा बढाउने र भाडामा एकाधिकार राख्न चाहने निजी वायु सेवा प्रदायकको दबाब–प्रभावमा सरकारले गर्ने अस्थिर नीतिगत व्यवस्थाले पनि निगमलाई धराशयी बनाएको छ ।

त्यसमाथि सरकारमा रहेका दल, मन्त्री र निगम नेतृत्वले आफ्ना नातेदार र कार्यकर्ता रिझाउन जागिर लगाउने अड्डा बनाउँदा निगम आर्थिक रूपले थला पर्दै गएको हो ।

यसबाहेक पनि अन्य थुप्रै व्यवस्थापकीय कमजोरीहरू छन् । कोरोना कालअघिसम्म निगमले ४ वटा ठूला जहाज एअरबसबाट अन्तर्राष्ट्रिय उडान गर्दै गर्न थाल्दै थियो । दिल्ली, मुम्बई, बैंङलोर, मलेसिया, हङकङ, साउदी, दोहा, दुबई, नारिता (जापान) र बैंकक गरी ८ देशका १० अन्तर्राष्ट्रिय गन्तव्य पुगेको थियो । तर, कोरोनाले यसमा धक्का दियो । अझैपनि सबै गन्तव्यमा नियमित उडान गर्न सकिरहेकाे छैन ।

२०७६ चैतदेखि सुरु भएकाे कोरोना कालमा कुनै पनि गन्तव्यमा उडान हुन सकेनन् र यसले निगमको आम्दानी घटायो । त्यस्तै, आन्तरिक उडानका लागि ल्याइएको ६ वटा नयाँ जहाजमध्ये ५ वटा जहाज ग्राउन्डेड (नउडाउने निर्णय) गरिए भने एउटा जहाज दुर्घटनामा परेको कारण ग्राउन्डेड भएको छ ।

थन्किएर बसेका ती जहाजलाई फेरि उडाएर आय बढाउने कार्य निगमको बोर्डले गर्न सकेन । यसअर्थमा हेर्दा सरकारी संस्थानकै रूपमा निगमलाई अघि बढाउन धेरैजसो पक्ष सकारात्मक छैनन् । निगमलाई कम्पनी मोडलमा लान महाप्रबन्धक डिमप्रकाश पौडेलको नेतृत्वको टिमले खाका समेत बनाएर सरकारलाई बुझाएको थियो । अर्थमन्त्रालयले पनि पटकपटक निगमलाई अब एक पैसा सहयोग दिन नसकिने बताउँदै आएको छ । सबै नकारात्मक भएको बेला नाफा हुने कुरा नै रहँदैन ।

कोरोना कालअघि २०७४/७५ सालसम्म निगमको आम्दानी झण्डै डेढ अर्ब रुपैयाँको हाराहारीमा हुने गरेको थियो । सबै खर्च कटाएर निगमले वार्षिक झण्डै २५ देखि ३० करोड रुपैयाँ नाफा कमाउने गरेको थियो ।

वाइडबडी जहाज र केही नयाँ जहाजसहित तंग्रिने कोसिस गर्दै गरेको निगमलाई कोरोना महामारीले व्यावसायिक यात्रामा ठूलो क्षति पुर्यायो । यही मौकामा निगमलाई नाफामा लाने र देशको गौरवपूर्ण राष्ट्रिय ध्वजावाहकलाई पुनःजीवन दिने भन्दापनि निजीकरणमा लाने र आफ्नो सेयर हिस्सा सुरक्षित गर्ने निहित स्वार्थसहित नेता र निजी क्षेत्रका व्यवसायीले भूमिका खेलेका थिए । निजी क्षेत्रको प्रभावमा परेर कोही पनि निगमको पक्षमा नहुँदा निगम धराशयी बन्दै आयो । र, अहिलेकाे परिस्थितिसम्म आइपुग्दा केबल आसेपासे र निकटकाले जागिर खाने प्रमुख अड्डा बन्ने दाैडमा अघिबढिरहेकाे देखिएकाे छ ।

निगमकाे उडान नहुँदा महँगो भाडाको मारमा सर्वसाधारण
सरकारी वायु सेवा प्रदायक वायु सेवा निगमले उडान नगर्दा अहिले आम सर्वसाधारण यात्रुले महँगो हवाई भाडाको मार खेप्नु परिरहेको छ । ‘वायु सेवा निगमको सेवा भएको भए ४/५ हजारमा धनगढी पुग्न सकिन्थ्यो’, निगमका कर्मचारी युनियनका अध्यक्ष डाँगी भन्छन्, ‘अहिले निजी वायु सेवा कम्पनीले काठमाडौँबाट धनगढी पुर्याउन १२ हजारसम्म असुलिरहेका छन् ।’

सरकारी वायु सेवा प्रदायकले आम सर्वसाधारणलाई सुलभ भाडामा सहज यात्रा गर्न सक्ने भाडा दर कायम गर्न बजारलाई निर्देशित गर्ने हुनाले पनि नेपाल वायु सेवा निगमको पुनःजीवन आवश्यक देखिएको यस क्षेत्रका सराेकारवालाहरुकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *