दुई गाउँपालिकामा एकीकृत समाजवादी र एकमा एमालेका अध्यक्ष निर्विरोध

काठमाडाैँ । डोल्पाका तीन गाउँपालिका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेपछि दुई गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादी र एक गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार निर्विरोध भएका हुन् ।

काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङसोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङको मात्रै उम्मेदवारी परेको छ । उनीहरू दुवै एकीकृत समाजवादीका हुन् । डोल्पाकै सेफोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार धावासम्डुक गुरुङ निर्विरोध भएका छन् ।

डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका पेमा वाङ्जु गुरुङसहित ६ जना वडाध्यक्ष निर्विरोध भएको उपमहासचिव प्रकाश ज्वालाले बताए । सेफोक्सुन्डो गाउँपालिकाको वडा नं. १, ३, ५, ६, ७ र ९ का अध्यक्षमा एमालेका उम्मेदवारहरू निर्विरोध भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । यस्तै, चितवनको इच्छाकामना गाउँपालिका– १ बाट दलित महिला सदस्यमा एमालेकी दुर्गा सार्की प्रजा निर्विरोध भएकी छिन् ।

मनाङको नासों गाउँपालिकाका वडा नंं. ५ को अध्यक्षमा थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तारादत्त बडूले जानकारी दिए । तीनैजना कांग्रेसका उम्मेदवार हुन् । मनाङकै ङिस्याङ गाउँपालिका– ९ को वडाध्यक्षमा माओवादीका उम्मेदवार च्योल्पा गुरुङ निर्विरोध भएका छन् ।

सदस्यहरूमा स्वतन्त्र उम्मेदवार अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित सदस्यमा सुस्मिता सेन्चुरी पनि निर्विरोध भएका छन् । त्यस्तै, रोल्पाको सुनछहरी गाउँपालिका– १ को महिला सदस्यमा माओवादीकी बाना राना निर्विरोध भएकी छिन् । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *