विराटनगर मेयरका उम्मेदवार थापाले भने, ‘गठबन्धन भनेको काले मिलेर खाउँ भाले हो!’

विराटनगर । नेकपा एमालेका युवा नेता सागर थापाले आज वैशाख १२ गते विराटनगर महानगरपालिको मेयरमा आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गरेका छन्।

विराटनगरमा मनोनयन दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले विराटनगर महानगरमा थुप्रै समस्या भएको औंल्याउँदै त्यसलाई समाधान गर्नसक्ने भिजन एमालेमा मात्रै भएको दाबी गरेका छन्। थापाले विराटनगरमा एमाले मात्र मिसन, भिजन र टार्गेट बोकेर अघि बढिरहेको पार्टी भएको बताएका हुन्।

उनले मनोनयन दर्ताको कागजात देखाउँदै भने, ‘यो फाइल मनोनयन दर्ताको फाइल होइन, यो जनताले गरेको विश्वासको फाइल हो।’ उनले अगाडि भने, ‘जनताको त्यो विश्वास टु्टन नदिने मसँग अठोट छ।’ युवा नेता थापाले विराटनगरको मेयरमा आफूले विजय प्राप्त गर्ने आधार पार्टीको साङ्गठनिक बल रहेको बताएका छन्। उनले पस्टयाउँदै भने, ‘मेरो जितको पहिलो आधार मेरो साङ्गठनिक आधार हो। नेकपा एमाले आज साङ्गठनिक रूपमा विराटनगरमा बलियो छ। हाम्रो सङ्कगठन अघि अघि बढ्यो र  त्यसैको पछि पछि लागेर अन्य दलका सङ्गठन आएको हामीले पायौँ।’

त्यस्तै, थापाले आफ्नो जितको दोस्रो आधार विराटनगरमा भएको बेथितिलाई अन्य पार्टीले सम्बोधन गर्न सक्ने अवस्था नहुनुलाई लिएका छन्। उनले भने, ‘अहिले पनि विराटनगरमा दर्केर १ घण्टा पानी पर्यो भने डुबानको समस्या छ। यस्ता थुप्रै समस्यी समस्याको बीचमा महानगर छ र त्यसलाई समाधान गर्न जुन एजेण्डा चाहिन्छ, त्यो नेकपा एमाले र एमालेभित्र सागर थापाको जुन टिम छ, त्यो टिमबाहेक अरू कसैसँग छैन।’

उनले आफू गठबन्धनसँग नडराएको स्पष्ट पार्दै भने, ‘गठबन्धन भनेको के हो भन्दा “काले काले मिलेर खाउँ भाले!” यो जनताले बुझिसकेका छन्। त्यसैले, यो गठबन्धन विकासविरुद्धको गठबन्धन हो भन्ने आम जनता, महानगरवासीमा परिसकेको छ। आज हामीलाई कसैसँग विश्वास छ भने जनतासँग विश्वास छ।’

युवा नेता थापाले विराटनगरका समस्या सम्बोधन गर्न अरू कसैसँग क्षमता नभएको उल्लेख गर्दै भने,  ‘यो समस्या समाधान गर्न हामीबाहेक अरू कसैसँग विकल्प छैन। नो भिजन, नो मिसन, नो टार्गेट! मिसन पनि एमालेसँग छ, भिजन पनि एमालेसँग छ, टार्गेट पनि एमालेसँग छ। जनताको विश्वास पनि एमालेसँग छ। त्यो विश्वासमा एमालेले कहिले पनि घात गर्दैन।’

थापाले विराटनगरको विकासको प्राथमिकतामा सम्वृद्ध विराटनगरको परिकल्पना एमालेले गरेको बताउँदै सर्वप्रथाम डुबानको समस्यालाई सम्बोधन गरिने बताएका छन्। उनले विराटनगरलाई डुबान मुक्त शहर, सुकुम्बासीमुक्त शहर, शैक्षिक हब, मेडिकल हब, स्वस्थ र सुन्दर शहर बनाउने योजनाहरू एमालेसँग श्रृंखलाबद्ध रूपमा भएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *