बागलुङमा टुङ्गियो सत्ता साझेदार दलको बाँडफाँट

काठमाडौँ । बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन्।

सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ। कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख तथा काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा साझा उम्मेदवारी दिने माओवादी केन्द्रकी केन्द्रीय सदस्य बलावती शर्माले बताइन्।

माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ। त्यसैगरी, राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनेछ। बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेदवारी दिनेछ। निसीखोला गाउँपालिकाको उपाध्यक्ष पनि माओवादी केन्द्रको भागमा परेको छ। राष्ट्रिय जनमोर्चाले काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ। नेकपा एकीकृत समाजवादीले तमानखोला गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने शर्माले बताएकी छन्।

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रमुख पाएका सबै पालिकामा नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको उनले जानकारी दिइन्। वडाध्यक्ष तथा वडासदस्यको बाँडफाँट पनि भएको छ। जिल्ला समन्वय समितिसमेत बाँडफाँट गरेपछि गठबन्धनको बैठक निष्कर्षमा पुगेको हो।

जिल्ला समन्वय समितिको प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेकपा एकीकृत समाजवादीले पाउने सहमति भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *