गोरखामा गठबन्धनको सम्भावना टर्यो, मित्रवत प्रतिस्पर्धाको तयारी

पोखरा । गोरखामा दलहरू टसको मस नहुँदा गठबन्धन करिब टुंगिएको छ।

आज शनिबार बिहान अन्तिम निष्कर्षका लागि बसेको बैठक पनि भागबण्डामा कुरा नमिल्दा बिना निष्कर्ष नै टुंगिएको हो। अब सत्ता गठबन्धनको बैठक पुनः नबस्ने गरी टुंगिएको कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताएका छन्। उनले भने, ‘गठबन्धन दलहरूबीच कुरा मिलेन। अब गठबन्धनभित्र जो–जसलाई आवश्यक्ता छ, सोही अनुसार गठबन्धन गर्न पाउने बाटो खुल्यो। ४ दलको बैठक अब बस्दैन।’

श्रोतका अनुसार अधिकांश पालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ। त्यसैले, जनता समाजवादी भने गठबन्धनबाट बाहिरिएको हो। शनिबार बिहान बसेको अन्तिम बैठकसम्म नेपाली कांग्रेसले सात, माओवादीले पाँच, जनता समाजवादी पार्टीले दुई पालिका दाबी गरेका थिए। ‘कुनै बैठकमा नराम्रो भएन। तर, कुनै बैठकले पनि निष्कर्ष निकाल्न सकेन,’ माओवादी जिल्ला अध्यक्ष लेखबहादुर थापाले भने, ‘यसरी निर्णय नहुने भएपछि अवस्था अनुसार दुई वा दुईभन्दा बढी दलहरू मिलेर जान सक्छन्। जिल्लाबाट दबाब हुँदैन।’

गोरखामा कांग्रेसले १ नगरपालिका सहित ७ पालिका र ४५ वडामा दाबी गरेको छ। यस्तै, माओवादीले १ नगरपालिकासहित ५ पालिका र ४५ वडामै दाबी गरेको छ भने जनता समाजवादीले १ नगरपालिकासहित २ पालिकामा दाबी गरेको छ। सहमति ननिस्किएपछि आ–आफ्नो दलबाट उम्मेदवार चयन गरी मनोनयनमा पठाउने सहमति भएको थापाले जानकारी गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *