आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर पारित

काठमाडौँ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ वार्षिक साधारण सभा शुक्रबार लैनचौरमा सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयाँ सेवासहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको बताए । उनले सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशत भन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा रहेको जानकारी गराए । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको अवस्था छ । रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानी योग्य पुँजी (तरलता) को अभाव चरम रहेको जानकारी गराए ।

सभामा अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको छ । कम्पनीले समीक्षा वर्षमा काठमाडौँ महानगरपालिका ३ ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो ।

चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको व्यहोरा सहर्ष जानकारी गराए ।

कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पुँजी २.५० अर्ब पुर्याउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशन बमोजिम पुँजी योजना बीमा समिति समक्ष पेश गरिसकिएको जानकारी दिँदै हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४औँ साधारण सभाबाट पारित भएको बताए । उक्त बोनस शेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजी १ अरब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने व्यहोरा जानकारी गराए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले टिमका सबै सदस्यको सहयोगले आईएमई जनरल इन्स्योरेन्स कम्पनी बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भइरहेको जानकारी गराए ।

यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =