चुनावको घोषणापत्र बेचेर लाख कमाई !

पोखरा । राजनीतिक पार्टीको चुनावी घोषणापत्र किन्नुभएको छ ? सित्तैमा पाएपनि पढ्दैनन् अचेल नागरिकहरू । किनकि घोषणापत्रमा लेखिएका कामहरू पार्टीले चुनाव जितेपनि कार्यान्वयन हुँदैन । उनीहरू घोषणापत्र पढ्दापढ्दै आजित भइसके । तर स्वतन्त्र उम्मेदवारले बनाएका घोषणापत्र पढ्ने मात्रै होइन, किनेका छन् पोखरेलीले ।

अटेरी अभियान अन्तर्गत उम्मेदवारी दिन लागेकाहरूले घोषणापत्र बेचेरै चुनावी खर्चको जोहो गर्न लागेका हुन् । कार्य योजना पत्र बेचेर अहिलेसम्म ९६ हजार ७ सय ७० रुपैयाँ रकम उठेको अटेरी अभियानले जनाएको छ ।

अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्य योजनापत्र चोकचोकमा बसेर बेच्न थालिएको हो । ‘पैसा नहुनेहरू पनि चुनाव लड्न सक्छन् भन्ने सन्देश दिन चाहन्छौँ हामी । करोडौँ खर्च गरेर चुनाव जित्नेहरूले जनताका लागि काम गर्दैनन्,’ उनले भने, ‘खर्च बढी गर्नेहरू निर्वाचित भएपछि आफ्नै खर्च उठाउन लाग्छन् । अटेरी अभियानका उम्मेदवारहरू विना पैसा चुनाव लड्नुहुन्छ ।’

अटेरीले पोखरा लक्ष्य कार्य योजनापत्र २०७९ सार्वजनिक गरेपछि वडा वडामा पनि वडालक्ष्य सार्वजनिक गरी रहेको छ । स्थानीय तहलाई दलीय हुनबाट रोक्न अटेरीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । अहिले यो अभियान देशव्यापी बनेको छ ।

हालसम्म देशभर ४२ सय ८७ जनाले उम्मेदवारी घोषणा गरी सकेका पोखराको मेयरका दाबेदार गनेश पौडेलले बताए । पोखरामा मेयरसहित १८ जनाले अटेरी उम्मेदवारी घोषणा गरिसकेका छन् । अटेरीले कार्य योजनापत्र प्रतिगोटा २५ रुपैयाँका दरले बेचेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *