काठमाडौँ महानगर : गठबन्धन भर्सेस एमाले, बलियो को ?

स्थानीय निर्वाचन २०७९

काठमाडौँ । स्थानीय तहको निर्वाचन हुन २२ दिन मात्रै बाँकी छ । वैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन हुँदैछ । निर्वाचन आयोग त्यसको तयारीमा जुटिरहेको छ भने दलहरू उम्मेदवार खोज्न र मिलाउनमा व्यस्त छन् ।

यो निर्वाचनमा गठबन्धन र गठबन्धनइतर दलहरूबीच प्रतिस्पर्धा हुने भएकाे छ । अझ त्यसमा पनि गठबन्धनलाई टक्कर दिने तयारीमा एमाले छ । नेताहरूले त्यसैगरी नै दाबी गर्दै आएका छन् । यसाे हुँदा मुख्यतः दुई ध्रुवबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । एकापट्टी पाँच दलीय गठबन्धन छ, जसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा) हुँदा अर्काेपट्टी एमाले सिङ्गाे रूपमा देखिएकाे छ । साथमा अन्य दलहरू समेत छन् ।

सबैजसो दलका नेताहरूले आफू वा आफ्नै दल पहिलो शक्ति बन्ने घोषणा दाेहाेर्‍याइरहेका छन् । जे होस्— वैशाख ३० मा यसको छिनोफानो हुनेछ । त्यत्तिबेलै हेरौँला । अहिले भने सबैको ध्यान उम्मेदवार को बन्छ वा कसलाई बनाउने र को बलियो भन्नेमै छ ।

०००

पाँचदलीय गठबन्धनमा काठमाडौँ महानगरको प्रमुख (मेयर) नेपाली कांग्रेसलाई दिने सहमति बनेको छ । उपमेयर भने माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पाउने भएको छ । गठबन्धनका शीर्ष नेताहरूबीच लगातार चार दिनसम्म चलेको बैठकपछि जुटेको सहमतिअनुसार अब यहाँ नेपाली कांग्रेसले मेयरका लागि र एकीकृत समाजवादीले उपमेयरका लागि उम्मेदवारको सिफारिस गर्नेछन् ।

वडाहरूमा भने मिलेर जान सकिने नेताहरूले बताएका छन् । कागमाडौँ महानगरपालिकामा ३२ वटा वडा छन् । जसमा मिलेर जाने गठबन्धनका नेताहरूले बताएका छन् । ‘मेयर र उपमेयरबारे तपाईंहरु जानकार भइहाल्नुहुन्छ,’ एक कांग्रेस नेताले भनेका छन्, ‘वडाहरूमा भने मिलेर जानेगरी दामासाहीमा भागबन्डा हुन्छ होला ।’

नेपाली कांग्रेसले मेयरका लागि पाँच नेताको नाम सिफारिस गरिसकेको छ । बुधबार गठबन्धनमा सहमति बनेपछि बिहीबार बसेको महानगर कार्यसमितिको बैठकले ती पाँच नेताको नाम सिफारिस गरेको हो । नाम सिफारिस हुनेहरूमा नगरसभापति नीलकाजी शाक्य, नगरसचिव सुशन वैद्य, बहालवाला उपमेयर हरिप्रभा खड्गी, नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंह र प्रगतिमान रञ्जित रहेका छन् ।

मेयरमा सिफारिस भएकामध्ये नीलकाजी शाक्य कामपा वडा नं. २५ का वडाध्यक्षसमेत हुन् । २०७८ असोज १७ गते नेपाली कांग्रेस काठमाडौँ नगरसभापतिमा निर्वाचित भएका उनी नेता प्रकाशमान सिंहनिकट हुन् ।

प्रकाशमान पत्नी सिर्जना सिंहसमेत मेयरको उम्मेदवारमा सिफरिस भएकी छन् । प्रकाशमानले केन्द्रीय सभापति बनाउन शेरबहादुर देउवालाई सघाएका थिए । सिंह र शाक्यलाई उम्मेदवारमा सिफारिस गरेर देउवाले त्यसकै गुण तिरेको बताइन्छ । गत मंसिर २४ गते शुरू भएको पार्टीको १४औँ महाधिवेशनमा प्रकाशमानले सभापतिमा देउवालाई सघाएका थिए । पाँच जना सभापतिका प्रत्यासीमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि दोस्रो चरणको मतदान भएको थियो । त्यसमा प्रकाशमानले देउवालाई सघाएका थिए । प्रकाशमानकै आँटमा देउवाले आफ्नो निकटस्थ प्रतिस्पर्धी नेता डा. शेखर कोइरालालाई पराजित गरेका थिए । त्यसकै गुणस्वरुप देउवाले प्रकाशमानपत्नी सिर्जना र उनीनिकट नीलकाजीलाई उम्मेदवारमा सिफारिस गरेको बताइन्छ ।

त्यसो त सिर्जना र नीलकाजीको उत्तिकै सम्भावना रहेको नेताहरू बताउँछन् । कांग्रेस नगर समितिका एक नेताले भनेका छन्, ‘यसपटक सिफारिस हुनुभएका नेताहरू सबै नै अब्बल दाबेदारी लाग्छ मलाई । यसर्थ यही नै नै हो भन्ने त भएन । तर, उहाँहरु (सिर्जना र नीलकाजी) को सम्भावना धेरै छ ।’

त्यसो त सिर्जना अगाडिबाटै नै राजनीतिमा भने थिइन् । बरु विवाहपछि आफू राजनीतिमा निष्क्रिय रहेको उनी सुनाउँछिन् । उनले भनिन्— ‘म विद्यार्थी राजनीति पनि गरेकी मान्छे हुँ, बरु विवाह गरेपछि म निष्क्रिय रहेँ ।’ सिर्जना २०३७ सालमा हालकी ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई हराएर शंकरदेव क्याम्पसको कोषाध्यक्ष बनेकी थिइन् । ०३७ सालमै नेपाल महिला संघ, गोरखाको सभापति भएर काम गरिसकेकी उनी त्यसअघि महाबौद्ध क्याम्पसको नेविसंघ एकाइ सभापति भइसकेकी थिइन् ।

यस्तै बहालवाला उपमेयर हरिप्रभा खड्कीसमेत सिफारिसमा परेकी छन्, उनलाई पनि बलियाे मेयरका दाबेदारका रूपमा हेरिएकाे छ । ‘पोर्टफोलियो’ को हिसाबले हेर्ने हो भने उनी मेयरको बलियो दाबेदार हुँदै हुन् । किन पनि भने उनले एक कार्यकाल उपमेयर बनिसकेकी छन् । २०६३ र ०६८ मा गरी दुई पटक नेपाल महिला संघको केन्द्रीय सदस्य रही काम गरिसकेकी हरिप्रभाले पनि आफूलाई मेयरको दह्रो उम्मेदवार प्रस्तुत गरिरहेकी छन् ।

उनले २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकामा नगर परिषद् सदस्यमा निर्वाचित भएर काम गरिसकेकी छन् । २०४६ साल र २०६२/६३ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएर काम गरेकी उनले भनेकी छन्, ‘मेयर बनेर काठमाडौँलाई हाँक्ने तागत छ ।’

अर्का सिफारिस भएका नेता हुन् शुसन वैद्य । उनी हालकाे निर्वाचित नगरसचिव हुन् । उनले पनि आफूलाई पार्टीले जिम्मेवारी दिए काम गर्न सक्ने बताएका छन् । यस्तै सिफारिसमा परेका अर्का नेता प्रगतिमान रञ्जित नगरसभापतिमा पराजित नेता हुन् । उनी नीलकाजीसँग ४५७ मतले पराजित भएका थिए । उनले पनि आफूलाई मुख्य दाबेदारको रुपमा प्रस्तुत गरिरहेका छन् ।

यसरी समग्रमा हेर्दा यसपटक पाँच जनामध्ये एक जना चुन्न सकस हुने देखिन्छ । तर, प्रकाशमाननिकटका नेताहरूलाई मेयर दिन केन्द्रीय सभापति देउवा मञ्जुर भएको बताइन्छ । त्यसो हुँदा नीलकाजी, सिर्जना र त्यसमा सहमति नजुटे हरिप्रभाको नाम अगाडि आउने नेताहरूले बताएका छन् । यस्तो अवस्थामा नीलकाजी, सिर्जना र हरिप्रभाबीच नै बलियो प्रतिस्पर्धा हुने देखिएको छ ।

०००

एमालेबाट पनि काठमाडाैँकाे मेयरमा ५ नेताकाे नाम सिफारिस भएको छ । मेयरमा सिफारिस हुनेहरूमा बहालवाला मेयर विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धर रहेका छन् । स्थापित काठमाडौँका पूर्वमेयर हुन् भने मानन्धनर काठमाडौँ क्षेत्र नं. ७ बाट प्रतिनिधि सभा सदस्य र पूर्व राज्यमन्त्री समेत हुन् । पन्त भने एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य हुन् ।

मेयरमा सिफारिस हुनेहरूमा विद्यासुन्दर बहालवाला मेयर नै हुन् । उनी २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका प्रतिद्वन्द्वी राजुराज जोशीलाई १९ हजार ६ सय ४४ मतले पराजित गर्दै काठमाडौँको मेयर बनेका थिए । विद्यासुन्दरले ६४ हजार ९ सय १३ मत ल्याउँदा राजुराजले ४५ हजार २ सय ६९ मत ल्याएका थिए । २०४९ र ०५४ सालका स्थानीय निर्वाचनमा उनी वडा नं. २१ का वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यो भएर पनि उनको पक्षमा काठमाडौँमा राम्रो जनमत रहेको एमाले नेताहरू बताउँछन् ।

तर, यसको झन्डै दुई दशकपछि भएको स्थानीय निर्वाचनमा पुरानो र स्थापित पार्टी कांग्रेसका उम्मेदवारलाई बहुमतले पछि पार्दै मेयर बनेका उनले भनेजस्तो काम भने गर्न सकेनन् । यसकारण पनि उनको राजनीतिक साख भने घटेको नेताहरूले बताएका छन् । यस्तो अवस्थामा उनलाई पार्टीले पुनः दोहोर्‍याउला कि नदोहोर्‍याउला भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

मेयरमा सिफारिस केशव स्थापित बागमती प्रदेश सदस्यसमेत हुन् । उनी डोरमणि पौडेल मुख्यमन्त्री भएको बेलामा प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री थिए । उनलाई मुख्यमन्त्री पौडेलले २०७५ कात्तिक १६ गते पदबाट बर्खास्त गरेका थिए । उनको साथमा पनि काठमाडौँमा राम्रो जनमत रहेको बताइन्छ । तर, उनको नैतिकतमाथि समेत पटक-पटक प्रश्न उठ्दै आएको छ । काठमाडाैँका पूर्वमेयरसमेत रहेका उनीमाथि दुईजना महिलाले यौन दुर्व्यवहारकाे आरोप लगाएका थिए ।

निर्मल देउला तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा नेकपा, काठमाडौँका अध्यक्ष बनेका नेता हुन् । उनी पनि यसपटक मेयरका लागि सिफारिस भएका छन् । उनले आफूलाई महानगरको बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेका छन् । अहिले पनि एमाले काठमाडौँ कमिटीका अध्यक्ष निर्मल नै हुन् । उनले भनेका छन्, ‘काम गर्ने हैसियत छ । जनमत नभइ यसाे भनिँदैन ।’

इन्दिरा पन्तको समेत मेयरका लागि नाम सिफारिस भएको छ । उनी उद्यमीसमेत हुन् । विद्यार्थी राजनीति हुँदै पार्टीमा क्रियाशील रहेकी उनी हाल काठमाडौँ जिल्ला सदस्य हुन् । अखिल नेपाल महिला संघमा सक्रिय रहेर काम गरेकी उनलाई सहकारीविज्ञका रूपमासमेत चिनिन्छ । सहकारी विकास बोर्डमा समेत काम गरिसकेकी उनी एमालेको अर्थ तथा योजना विभाग सदस्यसमेत हुन् । उनलाई पनि काठमाडौँ मेयरको बलियो उम्मेदवारको रूपमा हेरिएको छ ।

रामवीर मानन्धर संघीय मन्त्री भइसकेका व्यक्ति हुन् । उनी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शहरी विकासमन्त्री थिए । उनी काठमाडौँको क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनलाई पनि यसपटक बलियो दाबेदारको रुपमा हेरिन्छ ।

यसपटक एमालेबाट रामवीर, इन्दिरा र विद्यासुन्दरलाई प्रमुख दाबेदारीको रूपमा हेरिएको छ । प्रदेश कमिटीले यिनै ३ जनाको नाममा सहमति खोज्ने एक नेताले बताएका छन् । बागमती प्रदेश सभा सदस्यसमेत रहेका एक नेताले मकालुखबरसँग भनेका छन्, ‘उहाँहरुबाटै एकजनाले टिकट पाउने सम्भावना बढी छ । त्यसमा गठबन्धनविरुद्ध जानसक्ने को हो भन्ने कुराले पनि भर पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *